तीन सय ६ मेगावाटको माथिल्लो मुगु कर्णाली अघि बढाउने तयारी

ओम शाही
सुर्खेत, २५ असार ।
कर्णाली प्रदेशको मुगु जिल्लामा निर्माण हुने तीन सय ६ मेगावाट क्षमताको माथिल्लो मुगु कर्णाली जलविद्युत आयोजना अघि बढाइने भएको छ । प्रवद्र्धक कम्पनी एलिमेन्ट इनर्जी प्रालिले विद्युत ऐन, २०४९ अनुसार विद्युत विकास विभागसँग उत्पादन अनुमतिपत्र माग गरेपछि विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै प्रस्तावित आयोजनाबाट वातावरणमा उल्लेखनीय असर पर्ने दाबी वा सुझाव भए ३५ दिनभित्र पेश गर्न सरोकारवालालाई आग्रह गरेको छ ।
निर्धारित अवधिमा कुनै दाबी–विरोध नआए उत्पादन अनुमति दिने प्रक्रिया अघि बढाइने विभागले जनाएको छ । २०७६ सालमा स्थापना भएको एलिमेन्ट इनर्जी गोल्यान समूहको स्वामित्वमा रहेको कम्पनी हो । कम्पनीले २०७७ सालमा अध्ययन अनुमति प्राप्त गरी आयोजना तयारी सुरु गरेको थियो । करिब ५५ अर्ब ३३ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाबाट सन् २०३३ सम्म विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
मुगुम कार्मारोङ गाउँपालिका–५, ६, ७, ८ र ९ तथा छायाँनाथ रारा नगरपालिका–९ र १२ मा फैलिएको अर्धजलाशययुक्त (पिकिङ रन अफ रिभर) यस आयोजनाको जडित क्षमता ३०६ मेगावाट हुनेछ । आयोजनाको डिजाइन बहाव ९०.२ घनमिटर प्रतिक्षण तथा ग्रस हेड चार सय २०.३५ मिटर रहनेछ । आयोजनाबाट वार्षिक औसत १६ सय २९.२५ गिगावाट–घण्टा विद्युत उत्पादन हुने अनुमान गरिएको छ ।
मुगुमा जलविद्युत जलमार्ग र पर्यटन क्षेत्रको विकासका लागि पनि नवीनतम परियोजनाका रूपमा रहेको प्रस्तावित आयोजना मुगुमकार्मारोङ गाउँपालिका र छायानाथ रारा नगरपालिकाको लुम्समा अवस्थित छ । यस आयोजनाका मुख्य भौतिक संरचनाहरू कर्मारोङ गाउँपालिकाका तथा छायाँनाथ रारा नगरपालिकाको मुगु कर्णाली नदीको बायाँ किनारमा निर्माण हुनेछन् ।
आयोजनाको लागि आवश्यक पानी लिनको लागि ६२ मिटर लम्बाइ र २७ मिटर उचाइ भएको ब्यारेज निर्माण गरिनेछ । उक्त ब्यारेजको अधिकतम सञ्चालन स्तर समुद्री सतहबाट दुई हजार दुई सय ८९ मिटर उचाइमा रहनेछ । यस्तै, ब्यारेजमा तल्लो जलनिकासद्वार ६० मिटरको हुनेगरी आयोजनाको डिजाइन गरिएको छ । ब्यारेजमा ६ वटा खुला आकारका साइड इन्टेक रहनेछन् ।
जसको आकार १५.५ मिटरका रहने जनाइएको छ । साइड इन्टेकबाट ३६ मिटरका दुई वटा एप्रोच सुरुङमार्फत चार खण्ड भएको भूमिगत अवसादन पोखरीमा पुर्याइने छ । सो पश्चात १६ हजार दुई सय ८७ मिटर लम्बाइ, सात मिटर चौडाइ र सात मिटर उचाइ भएको हेडरेस टनेल निर्माण हुनेछ । हेडरेस टनेल पश्चात २० मिटर व्यास र ६६.१४ मिटर उचाइ भएको दुई सय ६० मिटर उचाइको दबाब सन्तुलन शाफ्ट (सर्ज शाफ्ट) निर्माण गरिनेछ ।
सर्ज शाफ्ट पश्चात पाँच मिटर व्यास र एक हजार दुई सय ६० मिटर लम्बाइ भएको पेनस्टक पाइप रहनेछ । आयोजनाका अनुसार तत्पश्चात विद्युत गृहमा रहेको टर्बाइनमा पानी खसालिनेछ । विद्युत गृहमा जडित चार वटा भर्टिकल एक्सिस पेल्ट टर्वाइन र तिनसँग प्रत्यक्ष रूपमा जडित चार वटा जेनेरेटर रहनेछन् ।
उत्पादनमा प्रयोग गरिएको पानी टेलरेस नहरमार्फत पुनः मुगु कर्णाली नदीमा मिसाइनेछ भने उत्पादित विद्युत ५५ किलोमिटर लामो चार सय केभी डबल सर्किट प्रसारण लाइनमार्फत फुकोट हब सबस्टेसन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार बाँधभन्दा तलको नदी क्षेत्रमा आवश्यक न्यूनतम वातावरणीय बहाव निरन्तर छाडिने व्यवस्था गरिने कम्पनीले जनाएको छ ।
साथै, निर्माण तथा सञ्चालनका क्रममा वातावरणीय प्रभाव न्यूनीकरणका सबै मापदण्ड पालना गरिने उल्लेख गरिएको छ । आयोजनाको बाँधभन्दा तल तथा विद्युतगृहभन्दा माथिको खण्डमा पाइने जीवजन्तु, जलचर तथा बोटबिरुवाको लागि आवश्यक पर्ने न्यूनतम पानी नेपाल सरकारको कृषि, वन तथा वातावरण मन्त्रालय (तत्कालीन वन तथा वातावरण मन्त्रालय) बाट स्वीकृत हुने वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख गरिए बमोजिम अविच्छिन्न रूपमा तल्लो तटीय क्षेत्रमा छाडिने कम्पनीले प्रस्ताव गरेको छ ।
यो आयोजनाबाट २०३३ को अगष्ट सम्ममा विद्युत उत्पादन हुने प्रस्ताव गरिएको छ । त्यस्तै, आयोजनाको निर्माण तथा सञ्चालन गर्दा विद्युत ऐन, २०४९ को दफा २४ बमोजिम भूक्षय, वायु प्रदूषण आदिद्वारा वातावरणमा प्रतिकूल असर नपर्ने गरी स्वीकृत हुने वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अनुसार गरिने जनाइएको छ ।






