सम्पादकीय : यस्तो हुनुपर्छ वीरेन्द्रनगरको भावि दिशा

कुनै समय औलोको त्रासले बसाई नहुने वीरेन्द्रनगर उपत्यका आज कर्णाली प्रदेशको राजनीतिक, प्रशासनिक र आर्थिक केन्द्रका रूपमा उभिएको छ । यही ऐतिहासिक यात्राको प्रतीक बनेर वीरेन्द्रनगर नगरपालिकाले आफ्नो स्थापनाको ५० औँ वार्षिकोत्सव मनाएको छ । पाँच दशकको यो यात्रा एउटा नगरको विकासको सामान्य यात्रा होइन, कर्णालीको सामाजिक रूपान्तरण, शहरी विस्तार र राजनीतिक परिवर्तनको पनि इतिहास हो । २०३३ सालमा नगरपालिका स्थापना हुँदा वीरेन्द्रनगर एउटा सानो बसोबास क्षेत्र थियो । औलो उन्मूलनपछि विस्तारै बस्ती बस्न थालेको यो क्षेत्र २०२८ सालमा सदरमुकाम बनेपछि विकासको गति समात्न थालेको हो । चौहानचौरबाट वीरेन्द्रनगर बनेको यो सहरले पञ्चायतकालिन क्षेत्रीय सदरमुकामदेखि संघीय लोकतान्त्रिक गणतन्त्रपछिको कर्णाली प्रदेशको राजधानीसम्मको यात्रा तय गरेको छ । आज वीरेन्द्रनगर कर्णालीको प्रशासनिक केन्द्र मात्र होइन, पश्चिम नेपालको उदाउँदो सहरका रूपमा पनि स्थापित हुँदै गएको छ । नगरपालिकाले बार्षिकोत्सवका अवसरमा सार्वजनिक गरेको चार वर्षे कार्यप्रगतिले केही सकारात्मक संकेत अवश्य दिएको छ । सडक कालोपत्रे, नाला निर्माण, विद्यालय तथा स्वास्थ्य भवन निर्माण, उज्यालो नगर अभियान, सिसिटिभी जडान, पार्क तथा सार्वजनिक संरचना निर्माणजस्ता कामले नगरको आधारभूत पूर्वाधार विस्तार भएको देखिन्छ । भेरी लिफ्ट खानेपानी आयोजना जस्ता दीर्घकालीन योजनाले भविष्यको बढ्दो जनसंख्यालाई मध्यनजर गरेको देखिन्छ ।

आधुनिक बसपार्क, चक्रपथ, आकाशे पुल, सडक बत्ती र ट्राफिक व्यवस्थापनजस्ता योजना राजधानी सहरको स्वरूप निर्माण गर्ने आधार हुन् । प्रदेश राजधानी भएपछि वीरेन्द्रनगरमा जनसंख्या, सेवा माग र आर्थिक गतिविधि तीव्र रूपमा बढेका छन् । त्यसअनुसार नगरले पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्नु सकारात्मक पक्ष हो । तर विकासका दाबी मात्र पर्याप्त हुँदैनन् । ती विकासले नागरिकको दैनिक जीवन कति सहज बनायो भन्ने प्रश्न अझै महत्वपूर्ण छ । वीरेन्द्रनगर अझै पनि अव्यवस्थित शहरीकरण, फोहोर व्यवस्थापन, सवारी चाप, नदी तथा सार्वजनिक जग्गा अतिक्रमण, बेरोजगारी र खानेपानी समस्याजस्ता चुनौतीसँग जुधिरहेको छ । राजधानी बनेपछि अवसर बढे पनि योजनाविहीन बसोबास र तीव्र जनसंख्या बृद्धिले सहरमाथी थप दबाब सिर्जना गरेको छ । नगरपालिकाले समावेशी, व्यवस्थित र स्वच्छ सहर निर्माणको प्रतिबद्धता दोहोर्‍याएको छ । यो प्रतिबद्धता व्यवहारमा देखिनु जरुरी छ । विकास केवल सडक र भवन निर्माणमा सीमित हुनुहुँदैन । सार्वजनिक सेवा पारदर्शी, जवाफदेही र प्रभावकारी बन्नुपर्छ । नागरिकले सहज रूपमा स्वास्थ्य, शिक्षा, यातायात र प्रशासनिक सेवा पाउन सक्नुपर्छ । कर्णाली प्रदेशको राजधानी भएकाले वीरेन्द्रनगरको भूमिका अझ ठूलो छ । यो नगरले कर्णालीका अन्य स्थानीय तहका लागि विकासको नमुना प्रस्तुत गर्न सक्नुपर्छ । त्यसका लागि योजनाबद्ध शहरीकरण, वातावरण संरक्षण, हरियाली प्रवद्र्धन, सार्वजनिक यातायात व्यवस्थापन र रोजगारी सिर्जनामा विशेष ध्यान दिन आवश्यक छ ।

राजधानी सहरको विकास केवल संरचना निर्माणले मापन हुँदैन, त्यसले नागरिकलाई कति सुरक्षित, सहज र सम्मानजनक जीवन दिन सक्छ भन्ने आधारमा मूल्यांकन गरिन्छ । वीरेन्द्रनगर उपमहानगरपालिकामा रूपान्तरणको चरणमा पुगेको छ । जनसंख्या, पूर्वाधार र आर्थिक गतिविधिका आधारमा यसले आवश्यक मापदण्ड पूरा गरेको दाबी गरिएको छ । तर, उपमहानगर बन्नु मात्रै प्रशासनिक पदोन्नति होइन, अझ ठूलो जिम्मेवारी पनि हो । यदि व्यवस्थापन कमजोर रह्यो भने तीव्र शहरीकरणले भविष्यमा थप समस्या निम्त्याउन सक्छ । पाँच दशकको यात्राले वीरेन्द्रनगरलाई यहाँसम्म ल्याएको छ । अबको चुनौती भनेको योजनाबद्ध, दिगो र नागरिकमैत्री सहर निर्माण गर्नु हो । औलोको गुल्जारबाट उठेको यो सहर अब अव्यवस्थित विस्तारको भीडमा हराउने नभई, सुशासन, पूर्वाधार र समावेशी विकासको उदाहरण बन्न सक्नुपर्छ । यही नै ५० औँ बार्षिकोत्सवको सबैभन्दा ठूलो सन्देश हुनुपर्छ ।

सम्पादकीय : यस्तो हुनुपर्छ वीरेन्द्रनगरको भावि दिशा

जानकीको कन्या विद्यालयले बदल्दै समाजको सोच

सम्पादकीय : यस्तो हुनुपर्छ वीरेन्द्रनगरको भावि दिशा

हावाहुरीले ढाल्यो  १३२ केभी प्रसारण आयोजनाका पोल

Leave a comment

Your email address will not be published. Required fields are marked *