कालीकोटमा तीन जनामा देखियो कोरोना
तुलराज पाण्डे
कालीकोट, ९ भदौं ।
कालीकोट जिल्लामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटका अनुसार जिल्लाको तिलागुफा नगरपालिका १ स्थानीय नाग्म बजारका थप तीन जना पुरुषमा कोरोना पुष्टि भएको हो । स्वाब नमूना संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप तीन जनामा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी कटकबहादुर महतले बताए ।
सूचना अधिकारी कटकबहादुर महतका अनुसार जिल्लामा हालसम्म जम्मा ७८ जनामा कोरोना पुष्टि भएको छ । जसमा ६६ जनाले कोरोना जितेर घर फर्किएका छन् । बाँकी १२ जनामा ११ जना जिल्लाका विभिन्न स्थानमा रहेका आइसोलेसनमा रहेका छन् भने एक जना एम्बुलेन्स चालक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका छन् ।
जिल्लामा हालसम्म ५ हजार ९ सय ४८ जनालाई क्वारेन्टाइनमा राखेर पीसीआर जाँच गरी घर पठाइएको छ । अहिले पनि यहाँका क्वारेन्टाइनमा भारतबाट फर्किएका ६० जना छन् । हालसम्म स्वाब संकलन गरिएका ५ हजार ४ सय १० जनाको स्वाब परीक्षणमा पठाइएको छ । जसमध्ये ७७ जनाको रिपोर्ट आउन बाँकी छ । नाग्म बजारको संक्रमितको सम्पर्कमा गएका व्यक्तिहरुको खोजी गरी परीक्षण गर्ने कार्य भइरहेको बताए ।






