चौकुने गाउँपालिकाको १९औँ गाउँसभा सम्पन्न, विकास र सेवा सुधारका विभिन्न निर्णय सर्वसम्मत पारित

सुर्खेत, २८ फाल्गुन ।
सुर्खेत जिल्लाको चौकुने गाउँपालिकाको १९औँ गाउँसभा (हिउँदे अधिवेशन) बिहीवार गाउँपालिका अध्यक्ष खड्क वि.क.को अध्यक्षतामा सम्पन्न भएको छ। सभामा गाउँपालिका उपाध्यक्ष नरबहादुर बान्तोला, प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर वि.क., वडा नम्बर १ देखि १० सम्मका वडा अध्यक्ष तथा सदस्यहरू, कार्यपालिका सदस्य, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सभाका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।

गाउँसभामा चौकुने गाउँपालिकाको चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा प्रस्तुत गरिएको थियो। साथै संगठन तथा व्यवस्थापन सर्वेक्षण, अति विपन्न नागरिकको जीवनरक्षा सम्बन्धी व्यवस्था, वेवारिसे शव ओसारपसार व्यवस्थापन तथा एम्बुलेन्स प्रयोगका क्रममा बाटोमै वा अस्पतालमा मृत्यु भएको अवस्थामा सेवा शुल्कमा शतप्रतिशत छुट दिने व्यवस्था सम्बन्धी प्रस्तावहरूमा छलफल गरिएको थियो। आर्थिक कार्यविधि तथा उत्तरदायित्व सम्बन्धी विधेयक, रकमान्तरण गर्नुपर्ने रकम तथा विभिन्न विकास आयोजनासम्बन्धी विषयहरू पनि सभामा प्रस्तुत भई सर्वसम्मत रूपमा स्वीकृत भएका छन्।
सभाको शून्य समयमा सदस्यहरूले विभिन्न विषयमा धारणा र सुझाव राखेका थिए। सदस्य तपेन्द्र वि.सि.ले रेक्चा खानेपानी योजनामा गरिएको डिप सफल नभएकोप्रति दुःख व्यक्त गर्दै वैकल्पिक व्यवस्था गरी नागरिकलाई स्वच्छ पिउने पानी उपलब्ध गराउन पालिकासँग आग्रह गर्नुभयो। सदस्य कल्पना कामीले गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने व्यवस्था गर्न माग गर्नुभयो।
त्यसैगरी सदस्य रतन टमट्टाले विकास क्रमिक प्रक्रिया भएको उल्लेख गर्दै सडक, स्वास्थ्य, शिक्षा र खानेपानी क्षेत्रमा भइरहेको प्रगतिप्रति धन्यवाद व्यक्त गर्नुभयो। तर सम्पन्न आयोजनाको भुक्तानीमा हुने ढिलाइका कारण उपभोक्ता समितिका पदाधिकारीले समस्या भोग्नुपरेको भन्दै यसतर्फ सुधार गर्न आवश्यक रहेको बताउनुभयो।

अन्य सदस्यहरूले पनि अपूरा रहेका खानेपानी आयोजना तथा पाइप वितरणलाई निरन्तरता दिनुपर्ने, कार्यकाल सकिन लाग्दा विकास निर्माणका कामको गति तीव्र बनाउनुपर्ने तथा बासपानी–जंगलाघाट सडक असार मसान्तभित्रै सम्पन्न गर्नुपर्ने विषय उठाएका थिए।
सदस्य अर्जुन विकले नयाँ आयोजना सुरु गर्नु भन्दा हाल सञ्चालनमा रहेका योजनालाई प्राथमिकताका साथ सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो। सदस्य धनिराम धमलाले हालै बलात्कारपछि हत्या भएको आशंका गरिएको किशोरी इनिशा विकको घटनामा गहिरो दुःख व्यक्त गर्दै दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग राख्नुभयो। साथै उहाँले साना योजनाभन्दा पालिका स्तरका रणनीतिक योजनामा बजेट व्यवस्थापन गर्नुपर्ने, विद्युत विस्तार, अधुरा वडा कार्यालय तथा अन्य अधुरा आयोजना छिटो सम्पन्न गर्नुपर्ने र काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्नुपर्ने सुझाव दिनुभयो।
त्यसैगरी सदस्य गोविन्द थापाले कामदारको ज्याला भुक्तानी, घुतघुते खानेपानी, विद्युत विस्तार तथा झ्यालेकाडा खानेपानी आयोजना व्यवस्थापनमा पालिकाले विशेष ध्यान दिनुपर्ने विषय उठाउनुभयो। सदस्य जिरक बडुवालले पालिका कार्यालयको कम्पाउण्डवाल, घेराबार, कार्यालय सुरक्षा तथा पार्किङ व्यवस्थापन सुधार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै मदन भण्डारी आयोजना अन्तर्गत बिजौरा–सिमलखेत–लगाम सडक खण्डको काम समयमै सम्पन्न हुने सुनिश्चितताका लागि पालिकाले सहजीकरण गर्नुपर्ने सुझाव दिनुभयो।

सभाको अन्त्यमा गाउँपालिका अध्यक्ष खड्क वि.क.ले सभामा उठाइएका प्रश्न तथा सुझावहरूमाथि सम्बोधन गर्दै सबै सदस्यहरूको सक्रिय सहभागिताप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले सभाबाट पारित निर्णयहरू कार्यान्वयन गर्दै गाउँपालिकाको समग्र विकास र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
गाउँसभाले स्थानीय विकास, सेवा प्रवाह र जनहितका कार्यक्रमलाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ विभिन्न निर्णयहरू पारित गर्दै अधिवेशन समापन भएको घोषणा गरिएको थियो।






