प्रतिनिधिसभा सदस्य निर्वाचन आउन तीन दिन बाँकी : घोचपेचमै सम्पन्न भए राजनीतिक दलका शक्ति प्रदर्शन

ओम शाही
सुर्खेत, १८ फागुन ।
प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब तीन दिन बाँकी छ । दलहरुले आउँदो बिहिबार हुने निर्वाचन लक्षित शक्ति प्रदर्शन सम्पन्न गरेका छन् । मौन अवधि सुरु हुनुअघि दलहरुले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा तामझामका साथ चुनावीसभा सम्पन्न गरेका हुन् ।
आइतबार नेकपा एमालेले वीरेन्द्रनगरमा आयोजना गरेको विशाल चुनावीसभा सम्पन्न भएसँगै दलहरुका पूर्वनिर्धारित कार्यक्रम सकिएका हुन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्नो शक्ति प्रदर्शन गरिसकेका छन् ।
दलहरुले यस पटक सुर्खेतलाई केन्द्र बनाएर ठुला प्रकृतिका चुनावीसभा गरेका छन् । प्रदेशको राजधानी भएकाले पनि दलहरुले सुर्खेतलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । मौन अवधि सुरु हुनुअघि दलहरुले कर्णालीका १० वटै जिल्लाका नागरिकको बसोवास रहेको वीरेन्द्रनगरमा आफुलाई बलियो देखाउन प्रचारका विभिन्न माध्यमहरु अपनाएका छन् । सोमबार (आज) राती १२ बजेबाट निर्वाचनको मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले दलहरुलाई ४ फागुनबाट चुनावीसभा गर्न समय दिएको थियो ।
यस अवधिमा दलहरुले विगतका चुनावमा जस्तै घरदैलो, चुनावीसभामार्फत भोट मागेका छन् । २३–२४ भदौको जेन–जी आन्दोलनपछि नियमित समयभन्दा दुई वर्ष अगावै हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दलहरुले पुरानै एजेण्डमा मतदाता फकाउने प्रयास गरेका छन् । दलका उम्मेदवारहरुले मतदाता समक्ष पुरानै विकासी एजेण्डा प्रस्तुत गरेर मत मागेका छन् ।
यस पटक पनि विगत झै दलहरुले एकअर्कालाई सराप्नमै समय खर्चेका छन् । विशेष गरी यसपटकको निर्वाचनमा आफुलाई वैकल्पिक नयाँ राजनीतिक शक्ति ठान्ने रास्वपा र पुराना दलबीच निकै घोचपेच चलेको छ । रास्वापले देशमा भ्रष्टाचारले जडो गाडेको, सुशासन कायम हुन नसकेको, बेरोजगारी बढेको, अपेक्षाकृत विकासले गति लिन नसक्नुको प्रमुख कारण पुराना दलको थाप्लोमा हालेर मत प्रभावित पार्ने प्रयास गरेको छ ।
काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावी मैदानमा होमिएको रास्वपाले पुराना दललाई निषेधको नजरले हेरेको देखिन्छ । पुराना दलकै कारण २३ भदौको आन्दोलन जन्मिएको रास्वपाको आरोप छ । त्यस्तै, परम्परागत दलहरुले रास्वपालाई अतिवादको संज्ञा दिदै भोट मागेका छन् । उनीहरुले रास्वपाकै डिजाइनमा जेन–जी आन्दोलन भएको दावी गर्दै आगामी चुनाव देश बनाउने र जलाउने शक्तिहरुका बीच भएको दावी गर्दै आएका छन् ।
पुराना दलहरुले रास्वपाका कारण संविधान र व्यवस्था नै खतरामा पर्ने आशंका गरेका छन् । चुनावीसभामा सम्बोधन गर्ने सबैजसो पुराना दलका नेताहरुले रास्वपाद्वारा नयाँ र पुराना भन्दै फैलाइएको भ्रम चिर्न पुरै शक्ति लगाएका छन् । उनीहरु रास्वपाप्रतिको पपुलर लहरका बीच आफ्ना सांगठनिक भोट जोगाउन रक्षात्मक देखिएका छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनबाट अस्तित्वमा आएको रास्वपाका पक्षमा देशभर देखिएको जनलहरले कर्णालीमा पनि पुराना दलहरुलाई चुनौती थपेको छ ।
एमालेको विजय यात्रा कसैले रोक्न सक्दैन : कँडेल
नेकपा (एमाले)का सचिव यामलाल कँडेलले देशकै सर्वाधिक लोकप्रिय पार्टी भएको दाबी गर्दै आगामी निर्वाचनमा बहुमतसहितको सरकार बनाउने उद्घोष गरेका छन् । आइतबार एमाले सुर्खेतले आयोजना गरेको विशाल चुनावीसभालाई सम्बोधन गर्दै उनले एमालेप्रति जनता सचेत र संगठित रहेकाले २१ फागुनको निर्वाचनको विजय यात्रा कसैले रोक्न नसक्ने दावी गरे ।
पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र जेन–जी आन्दोलनप्रति टिप्पणी गर्दै उनले भने, ‘यो चुनाव आजै गर्नुपर्छ भन्ने पक्षमा एमाले थिएन । आफूलाई नयाँ भन्नेहरूले अनेक हत्कण्डा अपनाएर अहिलेको परिस्थिति सिर्जना गरे ।’
उनले भदौमा भएको आन्दोलनमा ध्वंस मच्चाउनेहरूलाई समयले दण्ड दिने बताए । उनले नेपाली समाजलाई विखण्डन गर्न जात, धर्म, क्षेत्र, सम्प्रदाय र पुस्ताको कार्ड खेलिएको आरोपसमेत लगाए । ‘राजनीति भेल होइन, देश बदल्न नीति, विचार र विश्वसनीयता चाहिन्छ । अर्कालाई सरापेर मात्र देश विकास हुँदैन,’ उनले भने । एमालेप्रति चौतर्फी हमला हुँदा पनि देशको राष्ट्रिय हितमा एक्लै उभिने पार्टी एमाले रहेको उनको तर्क थियो ।
एमाले सरकारमा रहँदा गरिएका कामहरूको फेहरिस्त प्रस्तुत गर्दै उनले एमालेकै अडानका कारण देशले अब कहिल्यै नाकाबन्दी भोग्नु नपर्ने दावी गरे । नयाँका नाममा व्यवस्था र संविधानमाथि भइरहेको प्रहारलाई एमालेले डटेर सामना गरिरहेको उनको भनाई छ । एमाले एक्लै चुनाव लड्न सक्षम रहेको स्मरण गराउँदै उनले आगामी निर्वाचनमा सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे । ‘हामी कमजोर भएर सहकार्यको हात अगाडि बढाएका होइनौँ । तर संविधान र गणतन्त्र विरोधी शक्तिहरू सलबलाइरहेको बेला लोकतन्त्रवादीहरू एकजुट हुन आवश्यक छ,’ उनले थपे ।
देश अहिले कठिन मोडमा रहेको उल्लेख गर्दै उनले लोकतन्त्र र गणतन्त्र जोगाउन सबै परिवर्तनकारी शक्तिहरूलाई एकताबद्ध हुन आह्वानसमेत गरे । ‘प्रतिस्पर्धा आफ्नै ठाउँमा छ, तर संविधान र व्यवस्थामाथि औँला ठड्याउने शक्तिका विरुद्ध एक हुन चुकियो भने भोलि पछुताउनुको विकल्प रहने छैन,’ उनले भने । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै उनले जिम्मेवारी पूरा नगरी प्रधानमन्त्रीको सपना देख्नेहरूलाई जनताले यस पटक सबक सिकाउने दावी गरे ।






