वरिष्ठ लोकगायक कमल विके निर्मोहीको निधन

बाँके,१३ फाल्गुन ।
लामो समयदेखि दुवै मिर्गौलाको समस्याबाट पीडित वरिष्ठ लोकगायक तथा कलाकार कमल विके निर्मोहीको मंगलबार साँझ निधन भएको छ। दुवै मिर्गौला फेल भएपछि नियमित डायलासिस गराइरहनुभएका निर्मोहीको उपचारका क्रममा ज्यान गएको परिवारले जनाएको छ।
दाङ जिल्लाको तत्कालीन फूलबारी गाविसमा जन्मिनुभएका निर्मोही पछिल्लो समय नेपालगन्जमा बसोवास गर्दै आउनुभएको थियो। लोकसंगीत क्षेत्रमा लामो समयदेखि सक्रिय उहाँले थुप्रै लोकगीतमार्फत दर्शक–श्रोताको मन जित्न सफल हुनुभएको थियो। मौलिक भाकामा आधारित गीत–संगीतमार्फत समाजका विविध विषयलाई उठान गर्ने उहाँको शैली विशेष रूपमा प्रशंसित थियो।
परिवारका अनुसार गत शनिबार एक्कासि बेहोस भएपछि निर्मोहीलाई उपचारका लागि भेरी अस्पतालको आइसियूमा भर्ना गरिएको थियो। उपचारका क्रममा स्वास्थ्य अवस्था सुधार नदेखिएपछि सोमबार उहाँलाई भेन्टिलेटरमा राखेर सघन उपचार थालिएको थियो। तर चिकित्सकहरूको प्रयासका बाबजुद मंगलबार साँझ करिब ५ बजे उहाँको निधन भएको हो।
अस्पतालबाट मंगलबार नै निवासमा ल्याइएका निर्मोहीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न आफन्त, कलाकार तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। उहाँको निधनले नेपाली लोकसंगीत क्षेत्रलाई अपूरणीय क्षति पुगेको कला क्षेत्रका व्यक्तिहरूले बताएका छन्।
यसअघि मिर्गौला रोगकै कारण उहाँकी पत्नी हेरमदेवी विकको गत माघ २३ गते निधन भएको थियो। छोटो समयमै दुवै दम्पतीलाई गुमाउनुपर्दा परिवार शोकमा डुबेको छ।
वरिष्ठ गायक निर्मोहीको अन्त्येष्टि बुधबार दिउँसो दाङस्थित सिधनियाघाट, राप्ती नदी किनारमा गरिने परिवारले जनाएको छ। उहाँको निधनप्रति विभिन्न कलाकार, संघ–संस्था तथा शुभेच्छुकहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।






