अब बोल्नेभन्दा काम गर्ने योजनामा छौं

देवी ओली
प्रदेश सभा सांसद कर्णाली

मुसिकोट नगरपालिका–५ रुकुमपश्चिम स्थायी घर भएकी कर्णाली प्रदेशसभा सदस्य देवी ओली महिला अधिकारकर्मी पनि हुन् । सामाजिक अभियान्ताको रुपमा जिल्लाको विकासका लागि भुमिका खेल्दै आएकी सांसद ओली आफुले सँधै जनभावना अनुसार काम गर्ने गरेको बताउँछिन् । जनताका माग र आवश्यकता नै आफ्नो माग र आवश्यकता ठानेर काम गर्दा सफलतासँगै सन्तुष्टी मिलेको उनको भनाइ छ । प्रस्तुत छ, सांसद ओलीसँग गरिएको कुराकानीको सारांश :- 

तपाइँको छनोटमा सञ्चालित योजनाबारे बताइउनुस् न ?
म यतिखेर रुकुमपश्चिमै छु । योजनाको अनुगमन पनि सकियो । उपभोक्तामार्फत भएका योजना निर्माणका काममा कोरोनाका कारण प्राविधिकसहितको टोली गएर अनुगमन गर्न नसकिएपछि योजनाको गुणस्तर कस्तो भयो भन्ने बिषयमा ठ्याक्कै भन्न सकिने अवस्था छैन । तर समग्रमा योजनाको काम सन्तोषजनक नै भएको पाइन्छ । विशेषगरी केही सडक, विद्यालय, खानेपानी, सिचाइँ, कृषि, भेटेनरी लगायतका लक्षितवर्ग कार्यक्रमको अनुगमन गरिएको हो । नयाँ कार्यक्रम कार्यान्वयनबारे जिल्लावासीसँग छलफल गर्ने र गत वर्षका सम्पन्न कार्यक्रमहरुको पनि वार्षिक समिक्षा गर्ने तयारीमा छु । निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम

कार्यकर्ता रिझाउनका लागि बाँड्नुभयो भन्ने छ नी ?
हामी सांसदले मात्रै योजना छान्दैनांै । प्राविधिकसहित स्थानीय तहका जनप्रतिनिधिको सहभागीतामा योजना छनोटका लागि परामर्श समिति नै बनेको छ । उक्त समितिले योजना छान्छ । समितिले सिफारीस गरेका योजना नै सर्वसम्मत पारित हुन्छन् । हाम्रो निर्वाचन क्षेत्रको हकमा २० लाख तलका योजना छनोट गरेका छैनौं । छनोट भएका योजनालाई कार्यकर्ता रिझाउनका लागि भए भन्ने होइन । तर निर्वाचन क्षेत्रमा केही नयाँ योजना राख्न पाईयो भने सजिलो हुन्छ भन्ने हो । जहाँ सरकारी निकायको पनि आँखा पुग्न सकेको हुँदैन । त्यहाँ हामीले ध्यान दिन सक्नुपर्छ भन्ने सोचाइका साथ काम गर्नुपर्ने अवस्था छ । तर सांसद विकास कोषको बजेट गतवर्ष स्थानीय तहले कार्यान्वयन गर्ने गर्दा यसमा केही समस्या देखियो होला । तर यो वर्ष सांसद विकास कोषको रकम पनि महामारी, भोकमारी हटाउने र रोजगार बृद्धि गर्ने जस्ता कार्यक्रममा खर्च गर्ने तयारी छ ।

योजना निर्माणको काम किन समयमै हुँदैन ?
खासमा यो वर्ष कोरोनाका कारण काम गर्न नसकिएको हो । तपाइँले भने जस्तो हरेक वर्ष योजनाको काम समयमै नहुने र कतिपय योजनाको बजेट नै फ्रिज जाने गरेको छ । तर हाम्रा छनोटमा परेका योजना भने समयमै सम्पन्न हुने गरेका छन् । विशेषगरी प्राविधिक जनशक्तिको कमि, भौगोलिक विकटता र निर्माण सामाग्रि समयमै ढुवानी गर्न नसक्नुले कतिपय योजनाको काम अलपत्र परेको पाइन्छ । यस बिषयमा प्रदेश तथा स्थानीय सरकारले पनि समिक्षा गरेका होलान् । आगामी दिनमा थप सुधार गर्दै जानुपर्ने देखिन्छ ।

सांसद भइसकेपछि महिलाका क्षेत्रमा के–के काम गर्नुभयो ?
कसरी महिलाई सक्षम बनाउने भन्ने बिषयमा कानुनी साक्षरता जस्ता कार्यक्रम सञ्चालन भएका छन् । महिला अधिकारका विषयमा राज्यका नीति नियम र कानुन पनि परिवतन हुँदै गएका छन् । रुकुमका महिलाको क्षमता विकास र शसक्तिकरणका लागि मेरो भुमिका सँधै रहनेछ । विशेषगरी म सांसद भइसकेपछि यहाँका महिलालाई आर्थिक उपार्जनको क्रियाकलापमा जोड्ने प्रयत्न भइरहेको छ । सोहीअनुसार महिला लक्षित योजना बनाँदैछौ । महिलाले पनि केही गर्न सक्छन् । व्यवसायिक काम गरेर सजिलै परिवार पाल्न सक्छन् । सँधै पैंसाका लागि पुरुषकै भरमा पर्नुपर्दैन भन्ने हो । यसका लागि आवश्यक नीति नियम बनाउँदै महिलालाई आत्मनिभर बनाउने बाटोमा लागेका छांै ।

आगामी दिनमा सामाजिक विकास समितिले कसरी काम गर्छ ?
विशेषगरी म संसदको सामाजिक विकास समितिको अध्यक्ष भइसकेपछि एउटा पनि बैठक बस्न सकिराखेको अवस्था छैन । प्रदेश संसद बैठक पनि कोरोनाकै कारण स्थगीत छ । त्यसैले पनि समितिको बैठक बस्न नसकेको हो । तर अब ठोस प्रतिफल निकाल्ने गरी निर्णय गरी कार्यान्वयन गरिनेछ । जनभावना सम्बोधन हुनेगरी नयाँ ढंगले काम गर्ने प्रयासमा छु । हामी नयाँ व्यवस्थामा पहिलोपटक गएकै कारण मुख्यकुरा नीतिगत चुनौती भए । प्रदेशको योजना कार्यान्वयन गर्ने जनशक्ति पनि आवश्यक अनुसार भएन । यी विविध कारणले काममा चुनौती भए । अब प्रदेशको विकासका लागि सबै निकाय गम्भिर भएर अघि बढ्न पर्छ । म नेतृत्व समितिले पनि सोही अनुसार काम गर्नेछ ।

कोरोना महामारी नियन्त्रणमा प्रदेश सरकारले खेलेको भुमिकाप्रति यहाँको धारण के छ ?
कोरोनाका नाममा जे जती रकम खच भए पर्नि वास्तविक रुपमा जनताले पाउने सेवा पाएका छैनन् जस्तो लाग्छ । पछिल्लो समय फेरि कर्णालीमा संक्रमितको संख्या पनि बढिरहेको छ । यसले फेरि भयाभह अवस्था आउन सक्छ । सरकार जसरी कोरोना नियन्त्रणमा लाग्नुपर्ने हो, त्यसरी ठोस कार्यक्रम गर्न नसकेको जस्तो महसुश भएको छ । यस क्षेत्रमा प्रदेश सरकारबाट प्रयाप्त बजेट पनि व्यवस्था गरिएको छ । तर कार्यान्वयनका लागि मापदण्ड नै बनाइएको छैन । अब गम्भिर रुपमा छलफल गरी बजेट कार्यान्वयन गर्दै कोरोना महामारी नियन्त्रणमा लाग्नुपर्ने देखिन्छ । एउटा जिल्लामा न्यूनतम कति क्वारेन्टाइन, कति आइसोलेसन, के कति औषधि लगाएत सामाग्री व्यवस्थापन गर्ने भन्ने बिषय निक्र्यौल गरेर बजेट खर्च गर्न सकियो भने सजिलो होला । नत्र हचुवाका भरमा खर्च गरेर कोरोना नियन्त्रण हँुदैन ।

अन्त्यमा, तपाइँ निर्वाचित भइसकेपछि जिल्लाको विकासको लागि गरेका काम र अबको योजना के हुन् ?
म निर्वाचित भइसकेपछि जिल्लाको विकासका लागि पहल गर्ने काम जारी नै छ । तर यहाँको विकासका लागि खानेपानी, सडक, सिचाइँ, विद्यालय भवन जस्ता योजना निर्माणमा मेरो भुमिका रहेको छ । धेरैजसो योजनाको सम्पन्न पनि भयो । पूर्वाधारसँगै पशुपालन र कृषिको माध्ययमबाट यहाँको बेरोजगारी संख्या हटाउने उदेश्यले उत्पादनमुलक कार्यक्रम पनि सञ्चालन भएका छन् । तर पहाडको ठाउँ प्रयाप्त जमिन नभएकाले व्यवसायिक खेतीका लागि समस्या छ । निर्वाहमुखि खेती प्रर्णालीलाई अब कसरी व्यवसायीक बनाउने भन्नेमा लागेका छौं । अहिले कृषि र पूर्वाधार निर्माणबाहेक अन्य कुनै पनि विकल्पबाट बेरोजगारी अन्य गर्न सकिने सम्भावना छैन । कृषिमा आधारित साना उद्योग सञ्चालन गर्दै सबैलाई स्वरोजगा बनाएर आत्मनिर्भर गराउनेमा मेरो पहल रहने छ । यसैलाई मध्यनजर गर्दै प्रदेश सरकारले पनि बजेट केन्द्रित गरेको छ । हामी पनि अब बोल्ने भन्दा काम गर्ने योजनामा छौं । (२०७७ भदौं ३ गते बुधबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)

अब बोल्नेभन्दा काम गर्ने योजनामा छौं

क्षतिको एकिन गर्न संसद शाह पुगे बाढीपिडित

अब बोल्नेभन्दा काम गर्ने योजनामा छौं

मास्कको प्रयोग अनिवार्य गराउन सिडिओलाई निर्देशन

Leave a comment

Your email address will not be published. Required fields are marked *