बाँके–३ मा कडा त्रिपक्षीय प्रतिस्पर्धा :  विकास, रोजगारी र सुशासनको खोजीमा मतदाता

बाँके, ३ फागुन ।

बाँके क्षेत्र नम्बर ३ मा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर चुनावी सरगर्मी तीव्र बनेको छ । यस क्षेत्रमा मुख्यतः  नेकपा एमाले, नेपाली काँग्रेस, नेपाली कम्यूनिस्ट पाटी र रास्वपाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

निर्वाचन क्षेत्रमा कुल २२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिए पनि मुख्य प्रतिस्पर्धा काँग्रेसका अमर सिंह पुन, एमालेका सुमन मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार र नेपाली कम्युनिस्ट पार्टीका दिपक जिएमबीच हुने देखिएको छ ।

२०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट काँग्रेसका तत्कालीन सहमहामन्त्री किशोर सिंह राठौर विजयी भएका थिए भने एमाले उपविजेतामा सीमित भएको थियो । यस पटक काँग्रेसले आफ्नो जित जोगाउने रणनीतिसहित मैदानमा उत्रिएको छ भने एमाले पुरानो विरासत फर्काउने दाउमा देखिन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ शक्तिका रूपमा मतदाताको विश्वास जित्ने अभियानमा छ । नेपाली कम्युनिस्ट पार्टीले पनि २०६४ सालमा तत्कालीन माओवादीका रूपमा हासिल गरेको जित दोहोर्याउने लक्ष्य राखेको छ । समग्रमा हेर्दा यहाँ त्रिपक्षीय भिडन्तको सम्भावना बलियो देखिएको छ ।

काँग्रेस उम्मेदवार पुन लुम्बिनी प्रदेश सभापति हुन । रोल्पाका स्थायी बासिन्दा भए पनि उनी बाँके–३ बाट चुनाव लडिरहेका छन् । एमाले उम्मेदवार मल्ल गत स्थानीय तह निर्वाचनमा खजुरा गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार भई पराजित भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सुनार दैलेखका हुन र नयाँ पुस्ताका मतदातालाई लक्षित गर्दै चुनावी अभियान चलाइरहेका छन् ।

२०७९ को समानुपातिक मतपरिणामअनुसार काँग्रेसले १९ हजार ८६७ मत, एमालेले १८ हजार ३४९ मत, नागरिक उन्मुक्ति पार्टीले ६ हजार ७६५ मत र रास्वपाले ६ हजार ४७३ मत प्राप्त गरेका थिए । यस तथ्यांकले यहाँ काँग्रेस र एमालेबीच प्रतिस्पर्धा कति कडा छ भन्ने देखाउँछ भने रास्वपाको मतले समीकरण परिवर्तन गर्न सक्ने संकेत पनि गर्छ ।

जिल्ला निर्वाचन अधिकारी टेक बहादुर शाहीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१६ र १७, जानकी गाउँपालिकाका सबै ६ वडा, खजुरा गाउँपालिकाका सबै ८ वडा तथा बैजनाथ गाउँपालिकाका सबै ८ वडा गरी २४ वडा समेटिएको यस क्षेत्रमा ५८ हजार ६६४ पुरुष र ५८ हजार ६८९ महिला गरी कुल १ लाख १७ हजार ३५४ मतदाता रहेका छन् ।

मतदाताको आवाजः “काम गर्ने प्रतिनिधि चाहियो”

बैजनाथ १ का एक युवा मतदाता भन्छन, “हामीलाई भाषणभन्दा काम चाहिएको छ । रोजगारीको अवसर सृजना गर्ने र यहाँकै युवालाई विदेश जान नपर्ने अवस्था बनाउने प्रतिनिधि चाहिन्छ ।” बैजनाथ  गाउँपालिकाकी एक महिला मतदाता भन्छन, “महिलाको स्वर संसद्मा बलियो रूपमा उठाउने उम्मेदवारलाई मत दिन चाहन्छु । स्वास्थ्य, शिक्षा र महिला उद्यमशीलता प्रवद्र्धनमा ठोस कार्यक्रम ल्याउनुपर्छ ।”

खजुराका एक किसानको अपेक्षा कृषि क्षेत्रमा केन्द्रित छ । “मल, बीउ र सिँचाइको समस्या समाधान गर्न नसक्ने नेता हामीलाई चाहिँदैन । उत्पादनको उचित मूल्य र बजार सुनिश्चित गर्ने योजना चाहिन्छ,” उनले भने । बैजनाथका एक ज्येष्ठ नागरिक भन्छन, “हामी स्थायित्व र सुशासन चाहन्छौँ। पटक–पटक सरकार फेरिने र विकासका योजना अधुरै रहने अवस्था अन्त्य हुनुपर्छ ।”

अपेक्षाः विकासको अनुभूति र पारदर्शिता

यस क्षेत्रका मतदाताले विशेष गरी सडक पूर्वाधार सुधार, स्वास्थ्य सेवा विस्तार, शिक्षाको गुणस्तर अभिवृद्धि, बेरोजगारी न्यूनीकरण र भ्रष्टाचार नियन्त्रणलाई मुख्य मुद्दाका रूपमा उठाएका छन् । युवा पुस्ता परिवर्तन र पारदर्शिताको पक्षमा देखिन्छ भने परम्परागत मतदाता स्थायित्व र अनुभवलाई प्राथमिकता दिइरहेका छन् । समग्रमा बाँके–३ मा यसपटकको निर्वाचन रोचक र प्रतिस्पर्धात्मक बन्ने निश्चितजस्तै देखिन्छ। अन्तिम निर्णय भने मतदाताको अपेक्षा, विश्वास र चुनावी अभियानको प्रभावले तय गर्नेछ ।

बाँके–३ मा कडा त्रिपक्षीय प्रतिस्पर्धा :   विकास, रोजगारी र सुशासनको खोजीमा मतदाता

निर्वाचन : ६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रका

बाँके–३ मा कडा त्रिपक्षीय प्रतिस्पर्धा :   विकास, रोजगारी र सुशासनको खोजीमा मतदाता

लक्ष्यअनुसार राजस्व सङ्कलन नभएपछि प्रदेश र स्थानीय

Leave a comment

Your email address will not be published. Required fields are marked *