हर्क साम्पाङको आरोप: ‘रास्वपा भारतको प्रयोजनमा बनेको पार्टी हो’, पुराना दल र नयाँ दल दुवैमाथि प्रश्न

सुर्खेत ,१० माघ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भारतको प्रयोजनमा बनेको पार्टी भएको आरोप लगाएका छन् । शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेश स्तरीय संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
साम्पाङले पुराना राजनीतिक दलहरूबाट देशको निकास सम्भव नरहेको दाबी गर्दै ती दललाई भोट नदिन आग्रह गरे । उनका अनुसार अब देशको राजनीतिको मूल्यांकन पुराना र नयाँ दलबीच तुलना गरेर गर्न आवश्यक छ । ‘नयाँ दलहरू पनि परीक्षणको घेरामा छन्, त्यसैले उनीहरू र हाम्रो श्रम संस्कृति पार्टीबीच तुलना हुनुपर्छ,’ उनले भने ।
रास्वपाप्रति आक्रामक टिप्पणी गर्दै साम्पाङले भने, ‘रास्वपाले राष्ट्रिय स्वाधीनताको पक्षमा कहीँ पनि स्पष्ट रूपमा बोलेको छैन, त्यसैले यो पार्टी भारतको प्रयोजनमा बनेको हो ।’ उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह, रास्वपाका सभापति रवि लामिछाने र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई विभिन्न प्रश्न सोध्दा उनीहरूले जवाफ नदिएको दाबी पनि गरे ।
उनले ‘जेनजी आन्दोलन’ का बेला तीन करोड नेपालीमध्ये आफूले मात्रै देश सम्हाल्ने आँट देखाएको दाबी गर्दै देशलाई इमानदार र दृढ नेतृत्वको खाँचो रहेको बताए । साम्पाङका अनुसार देश बनाउने स्पष्ट दृष्टिकोण श्रम संस्कृति पार्टीसँग मात्रै छ, अन्य कुनै पनि नेतासँग त्यो भिजन नभएको उनको ठोकुवा थियो ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने कार्यकर्ताहरूको समेत सहभागिता रहेको थियो ।





