जुम्लामा ६ दलका उम्मेदवार तय, चुनावी सरगर्मी चुलिँदै

गाेल्डेन बुढा
जुम्ला,५ माघ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा जुम्लाको राजनीति सतहमा मात्र होइन, भित्री तहमा पनि तातिँदै गएको छ । छ वटा राजनीतिक दलले उम्मेदवारको टुंगो लगाएसँगै चुनावी प्रतिस्पर्धा उम्मेदवारबीच मात्र सीमित नभई पार्टीभित्रको शक्ति संघर्ष, वैचारिक ध्रुवीकरण र केन्द्र–जिल्ला सम्बन्धको परीक्षाका रूपमा रूपान्तरण हुँदै गएको छ ।नेपाली कांग्रेस जुम्लाले दीपबहादुर शाहीलाई उम्मेदवार बनाउनु सामान्य टिकट वितरण मात्र होइन । यो निर्णय कांग्रेसभित्र चलिरहेको देउवा–गगन शक्ति सन्तुलनको प्रत्यक्ष प्रतिविम्ब हो । जुम्लामा देउवा निकट कर्णबहादुर शाही र कान्तिका सेजुवालको नाम चर्चामा रहे पनि अन्ततः गगन थापा निकट मानिने दीपबहादुर शाहीको चयनले कांग्रेसभित्रको आन्तरिक किचलो सतहमा ल्याएको छ ।
विशेष महाधिवेशनपछिको विवादमा निर्वाचन आयोगबाट गगन पक्षलाई आधिकारिक मान्यता दिनु र त्यसको असर जुम्लासम्म आइपुग्नुले केन्द्रको राजनीति कसरी जिल्लामा प्रत्यक्ष प्रभाव पार्छ भन्ने देखाएको छ । शाहीको उम्मेदवारीले कांग्रेस एकताबद्ध हुने कि थप विभाजित हुने भन्ने प्रश्न खुला नै छ ।नेकपा एमालेले अध्यक्ष शान्तिलाल महतलाई टिकट दिनु भने ओली नेतृत्वको केन्द्रीय हस्तक्षेप र संगठनात्मक अनुशासनको संकेतका रूपमा हेरिएको छ । जिल्ला तहबाट एकल सिफारिस भएको नामलाई केन्द्रीय नेतृत्वले जस्ताको तस्तै स्वीकार गर्नु एमालेको निर्णय प्रक्रियामा रहेको स्पष्टता र सन्देश अनुशासनलाई देखाउँछ । महतको उम्मेदवारीले एमालेले जुम्लामा संगठन बलियो छ भन्ने दाबीलाई चुनावी मैदानमा प्रमाणित गर्नुपर्ने दबाब पनि सँगसँगै ल्याएको छ ।नेपाल कम्युनिष्ट पार्टीबाट नरेश भण्डारीको पुनरागमन जुम्लाको राजनीतिक इतिहाससँग जोडिएको विषय हो । संविधानसभा सदस्यदेखि प्रदेश मन्त्रीसम्मको यात्रा गरेका भण्डारीलाई अनुभव, नीति निर्माण र प्रशासनिक सुधारको अनुहारका रूपमा प्रस्तुत गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको अवधारणा र स्थापनामा उनको भूमिका स्मरण गरिँदा, यो उम्मेदवारी विकास–एजेन्डामा आधारित राजनीतितर्फ संकेत गर्छ । उनी पनि सोमबार जुम्ला पुगिसकेका छन् । उनलाई नेपाली कम्युनिष्ट पार्टीका नेता-कार्यकर्ता स्वागत गर्न विमानस्थल पुगेका थिए।राष्ट्रिय स्वतन्त्र पार्टीबाट विनिता कठायतको उम्मेदवारीले जुम्लाको निर्वाचनलाई परम्परागत दल–केन्द्रित प्रतिस्पर्धाबाट बाहिर लैजाने प्रयास देखिन्छ । उनी २०७९ सालमा समानुपातिक सांसदका रूपमा संसदमा आवाज उठाइसकेकी कठायतलाई प्रत्यक्ष निर्वाचनमा उतार्नु रास्वपाको आत्मविश्वास र प्रयोगात्मक राजनीतिको संकेत हो ।
यो उम्मेदवारीले पुराना दलहरूप्रति असन्तुष्ट मतदातालाई आकर्षित गर्ने सम्भावना बोकेको छ ।प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पत्रकार मनऋषि धितालको उम्मेदवारी भने वैचारिक भन्दा पनि केन्द्रीय राजनीतिक पहुँच र व्यक्तित्व–आधारित राजनीतिसँग जोडिएको देखिन्छ । बाबुराम भट्टराई निकट मानिने धिताल जुम्लाका रैथाने नेताका रूपमा परिचित नभए पनि जनयुद्धकालीन पत्रकारको पहिचानले सीमित मतसमूहमा प्रभाव पार्न सक्छ ।नेकपा माओवादीबाट बिर्खबहादुर शाही र नेमकिपाबाट बिर्खबहादुर रावतको उम्मेदवारीले जुम्लामा वाम धाराको बहुलता झल्काउँछ । एउटै राजनीतिक स्पेक्ट्रमभित्र धेरै उम्मेदवार हुँदा मत विभाजन हुने सम्भावना पनि उत्तिकै छ ।यसरी उम्मेदवारको टुंगो लागेसँगै जुम्लाको चुनाव अब नाम र दलको प्रतिस्पर्धामा सीमित छैन । यो निर्वाचन केन्द्रको शक्ति सन्तुलन, जिल्लाको संगठनात्मक क्षमता, र मतदाताको बदलिँदो चेतनाको परीक्षा बनेको छ । आगामी दिनमा जुम्लाको राजनीतिक सरगर्मी अझ तीव्र हुँदै जाने स्पष्ट संकेत देखिन थालेको छ ।





