सडकले हरायो ”खच्चड”

गाेल्डेन बुढा

जुम्ला ,२७ पुस।
कर्णाली राजमार्ग खुल्नुअघि जुम्लामा खच्चड व्यवसाय नै ढुवानीको जीवनरेखा थियो। गाउँदेखि बजारसम्म सामान पुर्‍याउने सानो, भरपर्दो, र मेहनती साथी खच्चड। कतै यसलाई हिमाली ट्रक भनिन्थ्यो, कतै कच्चीसडकको ट्याक्टर। तर अहिले, गाउँमा सडक पुगेसँगै ती ट्र्याक्टर, जीप र ट्याक्टरले खच्चडको स्थान ओगटिसके। जुम्लाको पातारासी गाउँपालिका -१ गडिगाँउका खच्चड व्यवसायी सुकबहादुर बोहोराले भन्छन्, ‘पहिले खच्चड व्यवसाय निकै राम्रो थियो। गाउँ-गाउँमा सामान पुर्‍याउने हाम्रो काममा सम्मान थियो। अहिले सडक बनेपछि खच्चड व्यवसाय लोभ हुने अवस्थामा पुगिसकेको छ।’उनले अझै पनि सात वटा घरमै खच्चड पालन गर्छन्। कहिलेकाहीँ त जुम्लाको सदरमुकाम खलंगामा पनि बजारदेखि सामान लैजान्छन्। तर यो केवल आवश्यकीय कामको लागि मात्र हो, रोजगारीका लागि होइन। सुकबहादुरका लागि खच्चड केवल पशु मात्र होइन; उनी आफ्नो विगतको मेहनत, कमाई र आत्मसम्मानसँग जोडिएका साथी हुन्।

यस्तै जुम्लाको दुर्गम कनकासुन्दरी गाउँपालिका -२ का सन्तबिर रावतले २०५२ देखि २०६३ सम्म खच्चड व्यवसाय थालेका थिए। उनका खच्चडले न केवल सामान पुर्‍याए, तर गाउँका मानिसहरूलाई सेवा पुर्‍याउने माध्यम बने। सडक सञ्जाल विस्तार भएपछि उनी व्यवसायबाट अलग्गिए। ‘अहिले जब म खच्चड देख्छु, विगतको याद आउँछ। व्यवसायमा लाग्न प्रेरित गर्ने साधन नै खच्चड थिए,’ उनी सम्झन्छन्।

यता अर्का सिंजा गाउँपालिका -६ रुघा गाउँका सर्पजित बुढा भन्छन्, ‘खच्चड व्यवसाय संकटमा छ। अहिले गाउँमा खच्चडलाई केवल घाँस, दाउरा, बालुवा, सिमेन्ट बोकाउने, मोटरबाटो नपुगेको सामान पुर्‍याउने र घर निर्माणमा ढुंगा बोकाउने काममा मात्रै प्रयोग गरिन्छ।’सडकको पहुँचले खच्चड व्यवसायलाई विस्थापित बनायो। अब गाउँका व्यवसायीहरू सस्तो र छिटो गाडी प्रयोगतर्फ आकर्षित भएका छन्। खच्चड बिक्री गर्न खोज्दा पनि बिक्री हुँदैन। लामो समय पालेर राखेको खच्चडप्रति माया लाग्छ। उतिबेला एक खच्चड लाखौंसम्म बिक्री हुन्थ्यो।अहिले मुल्य ह्वात्तै घट्यो।’ढुवानीका लागि उत्कृष्ट र भरपर्दो माध्यम भए खच्चड नै थिए। सवारी साधनहरुको प्रयोग र गाडी गुड्ने सडक बनेपछि खच्चडमा ढुवानी गर्दा निकै महंगो पर्न गयो। जसकारण किसानले खच्चड पाल्न छाडे।उनले भने, पातरासी -५,का धनविर बुढा भन्छन्, ‘सडक पुगेका क्षेत्रमा खच्चड प्रयोगको अवस्था छैन। अहिले खच्चड व्यवसायबाट जीविकोपार्जन गर्नेहरू विस्थापीत हुनुपर्ने अवस्था आइपुगेको छ। पुरानो समयको महत्वपूर्ण ढुवानी साधन खच्चड अहिले दन्ते कथाजस्तो बनेको छ।’कर्णालीका गाउँमा खच्चड केवल व्यवसाय मात्र थिएन; ती गाउँको जीवनशैली र संस्कृतिसँग जोडिएका थिए। दर्जन बढी खच्चड पाल्ने किसान र व्यवसायीहरू गाउँका ‘समृद्धि धनी’ मानिन्थे। सडक सञ्जाल विस्तारपछि, ती खच्चडहरु बिरलै मात्र देखिन्छन्।’संघीय व्यवस्था कार्यन्वयन संगै गाउँमा पुगेका सिंहदरबारले पाँच बर्ष सडकलाई नै प्राथमिकतामा पर्याे,जुम्लाको एक मात्र चन्दननाथ नगरपालिका सात वटा गाउँपालिका र ६० वडामा सडक जोडिएको छ।२०६३ साल चैत ३० गते जुम्लामा पहिलो पटक गाडी पुगेको थियो। त्यतिबेला हवाईजहाज मात्रै यातायातको साधन थियो। चामल,तेल, नुन सबै खच्चडले बोक्थे। आज ती खच्चड केवल स्मृतिमा बाँच्छन्।

सडकले ल्याएको सुविधा र आधुनिकताको छायाँमा, खच्चड व्यवसायले एउटा युग छोड्यो। तर तिनीहरूले बोकेको माटो, बोक्ने बोरा, र हरेक घण्टीको आवाज अझै गाउँको गल्लीमा गुञ्जिन्छ। सुकबहादुर, रावत र बुढा जस्ता किसानका सम्झनामा खच्चड केवल व्यापार होइन, जीवनको कथा हुन्।सडकको नयाँ दुनियाँमा खच्चडले आफ्नो स्थान गुमाएको छ, तर ती अँगालेर हिँड्ने साथीहरूको कथा जुम्लाका दुर्गम गाउँमा अझै जीवित छ।

सडकले हरायो ”खच्चड”

रोल्पामा १ लाख ४९ हजार ५ पाँच

Leave a comment

Your email address will not be published. Required fields are marked *