टोप्ला, ईमिच्छा र जाजरकोट जाेड्ने सडक निर्माण कार्य अघि बढ्दै

काली बहादुर परियार
जुम्ला ,२२ पुस।

जुम्ला । कर्णाली प्रदेशका दुई हिमाली जिल्ला जुम्ला र जाजरकोट लाई प्रत्यक्ष जोड्ने बहुप्रतीक्षित टोप्ला ईमिच्छा र जाजरकोट सडक खण्ड अन्ततः निर्माण प्रक्रियामा प्रवेश गरेको छ । वर्षौंदे खि दुर्गम भूगोल, कमजोर पूर्वाधार र कठिन यात्रा झेल्दै आएका स्थानीयवासीका लागि यो सडक विकासको नयाँ ढोका खुल्ने संकेतका रूपमा हेरिएको छ ।

जुम्लाको त्रिवेणी हुँदै ईमिच्छा पार गर्दै जाजरकोट जोड्ने यो सडक सुर्खेतको छिन्चु सम्म पुग्ने छोटो र वैकल्पिक मार्गका रूपमा समेत महत्वपूर्ण मानिन्छ । पूर्वाधार विकास कार्यालय जुम्लाको नेतृत्वमा निर्माण हुन लागेको यो सडकले जुम्लाको तातोपानी क्षेत्रलाई मात्र होइन, सिंगो कर्णालीको आन्तरिक आवागमन र आर्थिक गतिविधिमा उल्लेखनीय परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षमा यस सडकका लागि १५ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यसलाई बहुवर्षीय योजनाका रूपमा अघि बढाउँदै स्रोत सुनिश्चित गरिएको हो ।

सोही बजेट अन्तर्गत पूर्वाधार विकास कार्यालय जुम्लाले ठेक्का आह्वान गरिसकेको छ भने निर्माण व्यवसायी सँग सम्झौता प्रक्रिया अघि बढाइएको छ । हाल त्रिवेणी हुँदै टोप्ला सम्मको सडक खण्ड निर्माण भइसकेको छ ।

त्रिवेणी देखि टोप्ला सम्मको केही खण्ड सडक डिभिजन कार्यालयले निर्माण गरेको हो । अब टोप्लाबाट ईमिच्छा हुँदै जाजरकोटको सीमा सम्म सडक विस्तार गर्ने जिम्मा पूर्वाधार विकास कार्यालय जुम्लाले लिएको छ ।

यो सडक निर्माण सँगै जुम्लाको तातोपानी क्षेत्रको आर्थिक तथा सामाजिक रूपान्तरणमा नयाँ सम्भावना देखिएको छ । सडक विस्तारले स्थानीय कृषि उत्पादनको बजार पहुँच बढाउने, स्वास्थ्य र शिक्षा सेवामा सहजता ल्याउने मात्र होइन, नदैडाँब जस्ता पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

स्थानीय व्यवसायी र नागरिकका अनुसार सडक सहज बनेपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्नेछ, जसले होटल, यातायात, कृषि तथा साना उद्योगमा रोजगारी सिर्जना गर्नेछ । पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुपक रावलका अनुसार कर्णालीको कठिन भूगोल र सीमित बजेटबीच काम गर्नु ठूलो चुनौती रहेकाे बताए ।

उनका अनुसार, टोप्ला, ईमिच्छा र जाजरकोट सडकका लागि ठेक्का प्रक्रिया पूरा भइसकेको छ । सुरुमा करिब १५ करोड भन्दा बढी बजेट विनियोजन भएको छ, तर यो रकम पर्याप्त होइन । यद्यपि सीमित स्रोतकै बीच काम अघि बढाइरहेकाे बताए ।

उनका उनले भने, नागरिकको चाहना र भूगोलको बाध्यताले कतिपय स्थानमा मापदण्ड अनुसार सडक निर्माण गर्न कठिनाइ हुने गरेको छ । त्यसका बाबजुद पनि दीर्घकालीन सोचका साथ काम अघि बढाइएको छ ।

चिसो बढेसँगै हाल जुम्ला र आसपासका क्षेत्रमा अधिकांश निर्माण कार्य रोकिएका छन् । ठेक्का सम्झौता सम्पन्न गरी निर्माण व्यवसायीलाई साइट हस्तान्तरण गर्ने तयारी भइरहेको छ । हिउँद सकिए पछि सडक निर्माणले गति लिने कार्यालयले जनाएको छ ।

यो सडकलाई बहुवर्षीय योजनाका रूपमा अघि बढाउन जुम्लाबाट निर्वाचित प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाही र टेकराज पछाईको महत्वपूर्ण भूमिका रहेको छ । उनीहरूको पहलमै कर्णाली प्रदेश सभाबाट योजनाको स्रोत सुनिश्चितता सम्भव भएको हो ।

प्रदेश सभा सदस्य टेकराज पछाईले हिमाको जोगिबाडामा पक्की पुल निर्माण र टोप्ला, ईमिच्छा र जाजरकोट सडक विस्तारका लागि लामो समय देखि निरन्तर प्रयास गर्दै आएका थिए । अन्ततः दुबै योजनाको ठेक्का आह्वान भइसकेको छ ।

डिजाइन स्टिमेट अनुसार समयमै काम सम्पन्न गर्न स्थानीय नागरिकको सहयोग अपरिहार्य रहेको कार्यालयले जनाएको छ । जग्गा व्यवस्थापन, सामाजिक सहजीकरण र निर्माण प्रक्रियामा अवरोध नआओस् भन्ने अपेक्षा गरिएको छ ।

यद्यपि कर्णाली प्रदेशका १० जिल्ला मध्ये जुम्लामा बहुवर्षीय योजना कम हुनु र भएका योजनामा पनि सबै भन्दा न्यून बजेट विनियोजन हुनु दीर्घकालीन समस्या बनेको छ । यही कारण जुम्लाको पूर्वाधार विकास अपेक्षित गतिमा अघि बढ्न नसकेको स्थानीय जनप्रतिनिधिको गुनासो छ ।

टोप्ला, ईमिच्छा र जाजरकोट सडक केवल एक भौतिक संरचना मात्र होइन, यो कर्णालीको विकास, समृद्धि र आपसी जोडिएको भविष्यको प्रतीकका रूपमा हेरिएको छ । समयमै गुणस्तरीय निर्माण सम्पन्न भएमा यो सडकले जुम्ला र जाजरकोटको जनजीवनमा ऐतिहासिक परिवर्तन ल्याउने विश्वास गरिएको छ ।

टोप्ला, ईमिच्छा र जाजरकोट जाेड्ने सडक निर्माण कार्य अघि बढ्दै

नेप्से परिसूचक २८ अङ्ककले बढ्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds