लोकतन्त्र जोगाउन फागुन २१ मै निर्वाचन आवश्यक : काँग्रेस सहमहामन्त्री राठौर

बाँके ,९ पुस।
नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गते नै हुनुपर्ने स्पष्ट गर्नुभएको छ । मुलुक र लोकतन्त्र जटिल मोडमा पुगेकाले आपसी मतभेद बिर्सेर सम्पूर्ण नेपाली काँग्रेस निर्वाचन केन्द्रित भएर अघि बढ्नुपर्ने उहाँको धारणा छ ।
मंगलबार नेपाली काँग्रेस बाँकेद्वारा निर्माण गरिएको सुशील कोइराला स्मृति भवनको उद्घाटन तथा नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री सन्त नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै सहमहामन्त्री राठौरले लोकतन्त्र र जनअधिकार अप्ठ्यारो अवस्थामा पुगेको उल्लेख गर्नुभयो । यस्तो अवस्थामा मुलुकलाई सही ट्र्याकमा ल्याउने सबैभन्दा उत्तम विकल्प निर्वाचन नै भएको उहाँको भनाइ थियो ।

सहमहामन्त्री राठौरले नेपाली काँग्रेसले करिब ८० वर्ष लामो संघर्षपछि लोकतन्त्र र जनताको अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै अहिले ती उपलब्धिहरू जोखिममा परेको बताउनुभयो । “लोकतन्त्र जोगाउन, संविधानको रक्षा गर्न र जनताको अधिकार पुनः स्थापित गर्न काँग्रेस एकजुट भएर निर्वाचनमा होमिनुपर्छ,” उहाँले भन्नुभयो ।
उहाँले हाल जारी क्रियाशील सदस्यता वितरण र पार्टीको महाधिवेशन प्रक्रियालाई समेत फागुन २१ को निर्वाचनलाई लक्षित अभियानका रूपमा अघि बढाउन आग्रह गर्नुभयो । निर्वाचनमार्फत देश र पार्टीलाई विजयी बनाउने लक्ष्यसहित संगठन सुदृढीकरणमा लाग्नुपर्ने उहाँको जोड थियो ।
काँग्रेसको नेतृत्वमा विगतमा जनअधिकारको बहाली, शान्ति स्थापना र विकासका महत्वपूर्ण कामहरू भए पनि भ्रष्टाचार नियन्त्रण, सुशासन र जनताका लागि खोलिएका कार्यालयहरूलाई जनमैत्री बनाउन नसकिएको कारण जनअसन्तुष्टि बढेको सहमहामन्त्री राठौरले स्वीकार गर्नुभयो । “जनताको असन्तुष्टि र आकांक्षा सम्बोधन गर्न काँग्रेसले नै अग्रसरता लिनुपर्छ,” उहाँले भन्नुभयो ।
सहमहामन्त्री राठौरले भ्रष्टाचार नियन्त्रण र सुशासनको सवाल आज नेपालमा मात्र नभई विश्वव्यापी रूपमा पेचिलो बनेको उल्लेख गर्दै एकैचोटि सबै समस्या समाधान हुने भ्रममा नपर्न पनि आग्रह गर्नुभयो । उहाँले कानूनको प्रभावकारी कार्यान्वयन र राजनीतिक नेतृत्वको जीवनशैलीमा परिवर्तनलाई प्रमुख मुद्दाका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उहाँले स्वर्गीय नेताहरू कृष्णप्रसाद भट्टराई र सुशील कोइरालाले अंगालेको सादगीपूर्ण जीवनशैली र उच्च विचार नै मुलुकलाई सुशासन, सामाजिक न्याय र राष्ट्रहितको मार्गतर्फ डोर्‍याउने सही बाटो भएको बताउनुभयो ।
जिल्ला पार्टी सभापति नारायण गौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरू दीपक गिरी, सञ्जय गौतम, गोपाल दहित र मानबहादुर विकलगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा काँग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले करिब १ करोड २० लाख रुपैयाँको लागतमा लिफ्टसहितको तीनतले पार्टी कार्यालय निर्माण गरिएको जानकारी दिनुभयो ।

लोकतन्त्र जोगाउन फागुन २१ मै निर्वाचन आवश्यक : काँग्रेस सहमहामन्त्री राठौर

दिगो विकासको उत्सव’ नारासहित कोहलपुर महोत्सवको भव्य

Leave a comment

Your email address will not be published. Required fields are marked *