“जुम्लामा महिनावारी विभेदविरुद्ध सचेतना”

गाेल्डेन बुढा
जुम्ला २२ मंसिर ।
सातौँ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा महिनावारी सम्बन्धी हिंसा, कानुनी व्यवस्था र सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रम जुम्लामा सम्पन्न भयो। ‘मर्यादा, समानता र मानव अधिकारका लागि मर्यादित महिनावारी’ मूल नारासहित गरिएको कार्यक्रम सामाजिक विकास कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा, चन्दननाथ नगरपालिका र विभिन्न संस्थाहरूको संयुक्त आयोजनामा भएको हो।
चन्दननाथ नगरपालिका महिला तथा बालबालिका शाखाका कमला कठायतका अनुसार १६ दिने लैंगिक हिंसा विरुद्धको अभियानसँगै डिसेम्बर ८ मा पर्ने मर्यादित महिनावारी दिवसलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरिएको हो।कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लाका प्रमुख कल्पना आचार्य (नेपाल)ले महिनावारीका कारण कायम हानिकारक र विभेदपूर्ण अभ्यासले महिलालाई निरन्तर जोखिममा पुर्याइरहेको बताइन्। महिनावारी मानवअधिकारको सवालसँग गहिरो रूपमा जोडिएको उल्लेख गर्दै उनले विद्यमान कानुनी व्यवस्था, अपराध मानिने अभ्यास तथा कारबाही प्रक्रियाबारे विस्तृत प्रशिक्षण दिइन्। उनका अनुसार २०७५ सालदेखि मन्त्रीस्तरीय निर्णयले मर्यादित महिनावारी दिवस औपचारिक रूपमा मनाउन थालिएको हो।चन्दननाथ नगरपालिका जनस्वास्थ्य अधिकृत क्षेत्रबहादुर महतले महिनावारीलाई ‘छुई’ वा अशुद्धताको रुपमा हेर्ने सोच पूर्ण रूपमा वैज्ञानिक आधारविहीन भएको स्पष्ट पार्दै महिनावारीका चरण, स्वास्थ्य पक्ष तथा स्थानीय तहमा सञ्चालन भइरहेका प्याड व्यवस्थापन, आयरन चक्की वितरण र किशोरीमैत्री सेवाबारे जानकारी दिए। महिनावारीकै कारण महिलालाई अलग्याउने परम्परा तत्काल अन्त्य गर्नुपर्ने उनको भनाइ थियो।
त्यसैगरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढाथापाले सचेतनाका कार्यक्रम भए पनि आवश्यक सूचना सबैमा पुग्न नसकेकोमा चिंता व्यक्त गरे। पुराना सामाजिक धारणाले परिवर्तन रोक्ने भएकाले सकारात्मक अभ्यास आत्मसात् गर्न सबै तहको सक्रियता आवश्यक रहेको उनले उल्लेख गरे।यस्तै सामाजिक विकास कार्यालय जुम्लाका अधिकृत शिवशंकर चौलागाईंले १६ दिने अभियानअन्तर्गत डिसेम्बर ८ को दिवस मनाउन कार्यालयले मुख्य भूमिका निर्वाह गरेको जनाउँदै कार्यक्रम सफल बनाउन साथ दिने सरोकारवालाप्रति आभार व्यक्त गरे। उनले सिकाइलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरे।कार्यक्रममा स्थानीय निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला समूह, पत्रकार, विद्यार्थी तथा विभिन्न सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थिति थियो।






