निजी क्षेत्रसँग निर्मम नबन्न कर्णाली सरकारको ध्यानाकर्षण

सुर्खेत ,२२ मंसिर ।
कर्णाली प्रदेशको निजी क्षेत्रलाई उकास्नका लागि उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश, चेम्बर अफ कमर्स कर्णाली प्रदेश, होटल व्यवसायी संघ लगायतका निजी क्षेत्रका साझा संस्थाहरुले ११ वटा मागसहित कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको ध्यानाकर्षण गराएका छन् । उनीहरुले आइतबार मुख्यमन्त्री कँडेललाई भेटेर ध्यानाकर्षण पत्र नै बुझाएका थिए ।
सोमबार जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले भने, ‘कर्णाली राजमार्ग सुधार गरी २४सैं घण्टा सञ्चालन गर्नुपर्ने, निजी क्षेत्रको सहभागितामा इन्क्युवेसन सेन्टर सञ्चालन गर्नुपर्ने, निजी क्षेत्रको सहकार्यमा स्टार्टअप उद्यमी कार्यक्रम सञ्चालन गर्नुपर्ने, कर्णालीको आन्तरिक हवाई उडान नियमित गर्नुपर्ने, कर्णाली प्रदेश सरकारको होटलमा कार्यक्रम नगर्ने निर्णय पुनरावलोकन गर्नुपर्ने, कोशेली गृह निशुल्क रुपमा सञ्चालन गर्नुपर्ने माग मुख्यमन्त्रीसक्ष राखिएको छ ।’
यस्तै, मेला तथा महोत्सव सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने, कर्णाली प्रदेशस्तरीय औद्योगिक, पर्यटन, उद्योग तथा व्यापार प्रदर्शनी स्थल निर्माण गर्नुपर्ने, स्थानीय कृषि तथा उद्यामी प्रवद्र्धनका लागि साप्ताहिक हाटबजार सञ्चालन गर्नुपर्ने, लघुऔद्योगिक ग्रामका उद्यामी प्रवद्र्धनका लागि हालको भाडादर घटाउनुपर्ने र सम्झौता अवधि वृद्धि गर्नुपर्ने, कर्णाली राजमार्ग क्षेत्रका मुख्य बजारहरुमा होटल व्यवसाय २४सैं घण्टा सञ्चालन गर्न दिनुपर्ने माग मुख्यमन्त्रीसमक्ष राखिएको अध्यक्ष शाहीले बताए ।
देशमा रोजगारी सिर्जना र अर्थतन्त्रमा निजी क्षेत्रले पु¥याएको योगदानको कदर भएमात्रै समृद्धि सम्भव रहेको शाहीको दावी छ । उनले सरकारका नीति तथा कार्यक्रम एकातिर, निजी क्षेत्र अर्कोतिर हुँदा धरासायी हुनुपर्ने अवस्था आएको उनले बताए ।






