पूर्वाधार विकासले बदलिँदैछ नरैनापुरको मुहार

बाँके, १९ मंसिर ।

लामो समयसम्म बाँकेको दुर्गम क्षेत्रका रूपमा चिनिँदै आएको नरैनापुर गाउँपालिका पछिल्ला वर्षहरूमा तीव्र गतिमा सुगमतातर्फ उन्मुख भएको छ । संघीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा शिक्षा, स्वास्थ्य, सडक तथा सामाजिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै गाउँपालिका ऐतिहाँसिक परिवर्तनको यात्रामा अघि बढिरहेको छ ।

संघीय सरकारको शर्तअनुदानबाट ५५ लाख रुपैयाँमा विद्यालयका भौतिक पूर्वाधार निर्माण कार्य अघि बढाइएका छन् । आदर्श माध्यमिक विद्यालयमा शौचालयसहित पूरक शैक्षिक पूर्वाधार निर्माणका लागि नेपाल सरकारको विशेष अनुदान र आन्तरिक स्रोतबाट ६९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

सहायक प्रशासकीय अधिकृत तथा योजना शाखा प्रमुख भरत महतोका अनुसार सार्वजनिक सूचना प्रकाशन गरी उपभोक्ता समितिमार्फत निर्माण प्रक्रिया सुरु गरिएको हो । स्वास्थ्य क्षेत्रमा पनि महत्वपूर्ण प्रगति भइरहेको छ । निर्माणाधीन १५ शय्या अस्पतालको मोबिलाइजेसनका लागि संघीय सरकारबाट ५० लाख रुपैयाँ प्राप्त भएको छ ।

त्यस्तै, वडा नं. ६ मा ल्याब सेवा सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारद्वारा १५ लाख रुपैयाँमा दुई कोठे भवन निर्माण थालिएको छ । प्रदेश सरकारले मदरसा अलिकादरिया नसरुल उलुमका लागि ७ लाख, मदरसा फतिजतुल उबरा लागि २० लाख र शंकरनगर–कोटियामा शौचालय निर्माणका लागि ७ लाख रुपैयाँ उपलब्ध गराएको महतोले बताए ।

२०७१ सालको बाढीपीडितलाई लक्षित सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत संघीय सरकारको ९९ लाख ९९ हजार रुपैयाँको शर्तअनुदानमा आवास निर्माण सुरु हुन लागेको प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले बताए । उनका अनुसार सम्झौताअनुसार भुक्तानी तथा प्राविधिक जिम्मेवारी तोकिएको छ ।

 

सडक क्षेत्रमा पनि महत्वपूर्ण काम अघि बढेका छन् । संघीय सरकारको बजेटमा गंगापुर स्वास्थ्य चौकी पुग्ने सडक ८६ लाख रुपैयाँमा निर्माण गरिने भएको छ । गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहका अनुसार नरैनापुरलाई दुर्गमको छविबाट मुक्त गरी सुगम, समृद्ध र मोडेल गाउँपालिका निर्माण गर्ने लक्ष्यसहित योजनाहरू कार्यान्वयनमा छन् । उनले तोकिएको समयमा योजना सम्पन्न गर्न उपभोक्ता समिति तथा ठेकेदारलाई स्पष्ट निर्देशन दिएको बताए ।

स्थानीयवासी मोहम्मद मुबारक अलीले संघीय सरकारको गुरुयोजना कार्यान्वयन हुनु नरैनापुरका लागि खुसीको विषय भएको भन्दै विकसित हुँदै गरेको शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारले क्षेत्रको सम्पूर्ण मुहार परिवर्तन गर्ने विश्वास व्यक्त गरे । एक दशकअघि अझै पछाडि मानिएको नरैनापुर आज एकपछि अर्को पूर्वाधार विकाससँगै तीव्र गति लिएर अघि बढिरहेको छ । शिक्षा, स्वास्थ्य, आवास, सडक तथा सामाजिक संरचनामा भएको निरन्तर प्रगतिले नरैनापुर अब सुगम र समृद्ध भविष्यतर्फ पाइला टेकेको स्पष्ट देखिएको छ ।

 

पूर्वाधार विकासले बदलिँदैछ नरैनापुरको मुहार

सुरु भए भूकम्प पीडितका कष्टकर रात

पूर्वाधार विकासले बदलिँदैछ नरैनापुरको मुहार

तिला जलविद्युत् निर्माणका लागि सात अर्ब लाग्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds