खजुरा गाउँपालिकामा टिनमुक्त विद्यालय अभियान

बाँके, १२ मंसिर ।
बाँकेको खजुरा गाउँपालिकाले ‘टिनको छानारहित विद्यालय’ अभियानलाई तीव्रता दिँदै नयाँ पक्की पूर्वाधार निर्माणका कामलाई निरन्तरता दिएको छ । गाउँपालिकाले आफ्नो वार्षिक बजेट र विभिन्न दातृ निकायको सहयोगमा क्रमिक रूपमा टिनका छानाहरू विस्थापन गर्दै स्थायी भवन निर्माणको योजना अघि बढाएको हो ।
खजुरा–२ गुराँसपुरस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा तीन कोठे पक्की भवन र दुई कोठे शौचालय निर्माणको शिलान्यास बुधबार गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष मन्जु मल्लका अनुसार गत वर्ष मात्र ६ वटा विद्यालयमा पक्की भवन निर्माण सम्पन्न भएको थियो भने यस वर्ष थप ३ विद्यालयमा भवन निर्माण कार्य भइरहेको छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले शिक्षाको गुणस्तर वृद्धि विद्यालयका भौतिक संरचनासँग जोडिएको बताउँदै स्थानीय तहले यसलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गरे । त्यस्तै, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्रबहादुर मल्लले गाउँसभाले पारित गरेको टिनमुक्त विद्यालय नीतिअनुसार १०६ दिनभित्र पक्की भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए ।
गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष धनराम ओलीले अभिभावकले “कक्षाकोठा अभाव” भन्ने गुनासो नसुन्ने गरी काम अघि बढाएको बताए । उनले २०२४ सालमै स्थापना भएको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पर्याप्त जग्गा हुँदाहुँदै पनि भवनको अभाव रहेकाले गाउँपालिकाले तीन कोठे भवन र दुई कोठे शौचालय निर्माणको पहल गरेको बताए । साथै, उनले अभिभावकलाई तरकारी बाली जस्तै आफ्नो बालबालिकाको शिक्षामा पनि नियमित हेरचाह गर्न आग्रह गरे ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष हस्तबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहयोगी संस्था ‘बिल्ड अन नेपाल’का फील्ड संयोजक महेश रानाले निर्माण हुन लागेको पूर्वाधारबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए । यो परियोजना खजुरा गाउँपालिकाको १० लाख रुपैयाँ र बिल्ड अन नेपालको ३५ लाख रुपैयाँ बराबरको सहयोगमा निर्माण हुँदैछ । बिल्ड अन नेपालले नगदभन्दा पनि आवश्यक सबै निर्माण सामग्री उपलब्ध गराउँदै आएको छ । यस अभियानले स्थानीय स्तरमा सुरक्षित, गुणस्तरीय र बालमैत्री सिकाइ वातावरण निर्माणमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।






