बहिरा युवालाई आत्मनिर्भर बनाउन हस्तकला तालिम सुरु

बाँके, ३० कार्तिक ।
बाँकेको खजुरा गाउँपालिकामा बहिरा युवालाई उद्यमशील तथा आत्मनिर्भर बनाउन १५ दिने ‘छ्वाली आर्ट’ (हस्तकला) तालिम सुरु गरिएको छ । बाँके र बर्दियाका बहिरा युवाहरु सहभागी रहेको तालिम कृषि व्यवसाय प्रवद्र्धन तथा तालिम केन्द्र, खजुरामा सुरु भएको हो । तालिमको उद्घाटन खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले गरे ।
राष्ट्रिय बहिरा महासंघ नेपालले नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (ग्ल्म्ए) को सहकार्यमा सञ्चालन गरेको तालिमले कृषिमा खेर गइरहेका सामग्रीको सदुपयोग गर्दै बहिरा युवाको सिप विकास र आयआर्जनमा टेवा पुर्‍याउने लक्ष्य राखिएको छ ।
गहुँबाली भित्र्याएपछि गाईबस्तुका लागि जोहो गरी राखिने ‘छ्वाली’ बाट बनेका कलात्मक वस्तुहरूलाई ‘छ्वाली आर्ट’ भनिन्छ । तालिम उद्घाटन समारोहमा बोल्दै अध्यक्ष विकले बहिरा युवाले सिकेका सीपले भोलिका दिनमा उत्पादित सामग्री प्रयोग गर्न गाउँपालिका प्रतिबद्ध रहने बताए । “सिप सिकेर आत्मनिर्भर बन्न यस तालिमले महत्वपूर्ण भूमिका खेल्नेछ,” उनले भने ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले जीवनोपयोगी सीपमूलक तालिमले फरक क्षमता भएका व्यक्तिहरूलाई आत्मनिर्भरतामा अघि बढ्न सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले तालिमबाट बनेका सामग्रीको बजार विस्तारमा मिडियाको साथ रहने प्रतिबद्धता जनाए ।
राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष सन्तोष केसीका अनुसार कृषिमा बर्बाद भइरहेका वस्तुहरूको सदुपयोग गर्दै बहिरा युवालाई सिपयुक्त बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो । “छ्वाली आर्टको विदेशमै पनि राम्रो माग छ । यसलाई पेशागत विकास र आयआर्जनसँग जोड्ने हाम्रो लक्ष्य छ,” केसीले बताए ।
बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत छ्वाली आर्टले योगदान पुर्‍याउने आशा महासंघले व्यक्त गरेको छ । आगामी दिनमा सातै प्रदेशमा यस्ता तालिम विस्तार गर्ने योजना रहेको अध्यक्ष केसीले जानकारी दिए ।
केसीका अनुसार महासंघले काठमाडौंमा ट्रेकिङ गाइड र ‘बारिष्टा’ (कफी बनाउने) तालिम समेत सञ्चालन गरिरहेको छ, जसले बहिरा युवा तथा व्यक्तिहरूलाई रोजगारी र आत्मनिर्भरतातर्फ अघि बढ्न मद्दत गरिरहेको छ ।
बहिरा युवालाई आत्मनिर्भर बनाउन हस्तकला तालिम सुरु

निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता

बहिरा युवालाई आत्मनिर्भर बनाउन हस्तकला तालिम सुरु

वन उपभोक्ता समूहको आन्दोलन स्थगित समस्या समाधानका

Leave a comment

Your email address will not be published. Required fields are marked *