केवल १० दिनमा एनसेलको फोरजी विस्तारमा फड्को, देशभर थप २० नयाँ टावर सञ्चालनमा

काठमाडौं,१४ कार्तिक ।
देशभर डिजिटल कनेक्टिभिटी विस्तारका लागि एनसेलले तीव्र अभियान सुरु गरेको छ। गएको १० दिनमै कम्पनीले देशका विभिन्न स्थानमा २० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको जनाएको छ। यससँगै ती क्षेत्रमा रहेका ग्राहकहरूले अब एनसेलको फोरजी नेटवर्कमार्फत गुणस्तरीय भ्वाइस तथा उच्च गतिको डेटा सेवाको सहज पहुँच पाउने भएका छन्।
एनसेलले मधेस, बागमती र कोशी प्रदेशका विभिन्न जिल्लामा फोरजी सेवा थप सुदृढ बनाएको जनाएको छ। लामो समयदेखि रोकिएको सहजीकरण नेपाल दूरसञ्चार प्राधिकरणले सहज बनाएपछि चाडपर्वको बीचमै पनि कम्पनीले कामलाई तीव्रता दिँदै छोटो अवधिमा २० नयाँ टावर सञ्चालनमा ल्याएको हो।
मधेस प्रदेशमा मात्रै १३ नयाँ टावर जडान भएका छन्। ती बाराको परवानीपुर, पर्साको पकहाँ मैनपुर, पोखरिया र वीरगञ्ज, सप्तरीको बलान बिहुल, धनुषाको जनकपुर, कटैया, कमला र विदेह, सर्लाहीको कौडेना र मोतीपुर, तथा रौतहटको यमुनामाई र माधव नारायण रहेका छन्।
कोशी प्रदेशमा सुनसरीका इनरुवा, बर्जु, हरिनगर र गढीमा चार टावर र मोरङका ववियाविर्ता तथा मजारेमा दुई टावर सञ्चालनमा आएका छन्। त्यस्तै, बागमती प्रदेशमा मकवानपुरको हेटौडामा एक नयाँ टावर स्थापना गरिएको छ।
एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने,
“हामी नेपालको डिजिटल कनेक्टिभिटी विस्तार गर्ने हाम्रो प्रतिबद्धताको अनुरूप फोरजी नेटवर्कलाई विस्तार र सुदृढ बनाइरहेका छौं। १० दिनभित्रै २० नयाँ टावर सञ्चालनमा ल्याउँदै हामीले आधुनिक मोबाइल ब्रडब्यान्ड र गुणस्तरीय भ्वाइस सेवामा अझ व्यापक पहुँच सुनिश्चित गरेका छौं। आगामी दुई दिनभित्र थप १० टावर सञ्चालनमा ल्याउने योजना छ।”
कम्पनीले गत वर्ष उपकरण आयातमा बन्देजका समयमा पनि आफ्ना पुराना उपकरण प्रयोग गर्दै ४० भन्दा बढी नयाँ टावर स्थापना गरेको जनाएको छ।
फोरजी सेवा विस्तार र सुधार योजनाअनुसार, एनसेलले अबको दुई महिनाभित्र देशभरका सबै प्रदेशमा १७० भन्दा बढी नयाँ टावर थप जडान गर्ने तयारी गरेको छ। कम्पनीले यसले सेवा पहुँच र गुणस्तरलाई अझ सुदृढ बनाउने विश्वास लिएको छ।
एनसेलले जेठ २०७४ देखि फोरजी सेवा सुरु गरेको हो, जुन अहिले ७७ वटै जिल्लामा विस्तार भइसकेको छ। कम्पनीका अनुसार, फोरजी सेवा अहिले देशको कुल जनसंख्याको ९५ प्रतिशतभन्दा बढीमा पुगेको छ।






