जगदुल्ला–ए जलविद्युत आयोजना वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारीको चरणमा प्रवेश

ओम शाही
सुर्खेत, १० असार ।
कर्णाली प्रदेशका तीन जिल्लामा निर्माण हुन लागेको जगदुल्ला–ए जलविद्युत आयोजना वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन तयारीको चरणमा प्रवेश गरेको छ । जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रस्तावित यो आयोजना अर्धजलाशयमा आधारित छ भने यसको जडित क्षमता १२४.३५ मेगावाट रहेन जनाइएको छ ।
शनिबार र आइतबार (६ र ७ जेठ) मा प्रभावित क्षेत्रका नागरिकसँग आयोजना कार्यान्वय गर्दा पर्न सक्ने सम्भावित प्रभावका बारेमा जानकारी दिन सार्वजनिक सुनुवाई सम्पन्न गरिएको हो । प्रस्तावित आयोजना कर्णाली प्रदेशको डोल्पा, जाजरकोट र रुकुम पश्चिम जिल्लाका तिन स्थानीय तहका ६ वडामा फैलिएको छ ।
आयोजनाको इआईए प्रतिवेदन तयारीको सिलसिलामा प्रभावित क्षेत्रका नागरिकलाई आयोजनाका बारेमा जानकारी दिई आयोजना कार्यान्वयनबाट त्यस क्षेत्रमा भौतिक, रासायनिक, जैविक, आर्थिक–सामाजिक तथा सांस्कृतिक वातावरणमा पर्न सक्ने सम्भावित प्रभावको बारेमा राय सुझाव संकलन गरिएको हो ।
आयोजनाबाट डोल्पाको मुड्केचुला गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४, जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १३ र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ६ पत्यक्षरुपमा प्रभावित हुनेछन् । यस आयोजनाले जगदुल्ला नदीको पानी, जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत आयोजनाबाट निस्किएको पानी र फेदी खोलाको पानी प्रयोग गर्नेछ ।
आयोजनाको बाँध स्थल डोल्पा मुड्केचुला गाउँपालिका वडा नम्बर ४ को इल गाउँ नजिक रहने छ भने विद्युतगृह जाजरकोट नलगाड नगरपालिका वडा नम्बर १३ को सल्लेबगरमा प्रस्ताव गरिएको छ । बाँधदेखि विद्युतगृहमा पानी करिव ७.५७६ किलोमिटर लामो हेडरेस सुरुङ मार्फत लगिने छ । यो हेडरेस सुरुङ मुड्केचुला गाउँपालिका वडा नम्बर ४, ३, २ र १ हुँदै नलगाड नगरपालिका वडा नम्बर १३ मा प्रस्ताव गरिएको विद्युतगृह सम्म पुग्नेछ ।
प्रस्तावित सुरुङका मुख्य तिनवटा अडिट हुनेछन् । पहिलो बाँध स्थल नजिकको मुख्य पोखरी नजिक, दोस्रो मुड्केचुला वडा नं. २ र ३ को सिमानामा पर्ने खोला नजिक र तेस्रो विद्युतगृह क्षेत्रमा पर्ने छन् । यी तिनैवटा अडिट नजिक सुरुङ खन्दा निस्केको ढुङ्गा माटो विसर्जन स्थल, कामदार शिविर, भण्डारण क्षेत्र, निर्माण सामग्री उत्खनन क्षेत्र जस्ता आवश्यक स्थायी तथा अस्थायी आयोजनाका अवयवहरु प्रस्ताव गरिएको छ ।
त्यस्तै, आयोजनाको मुख्य क्याम क्षेत्र भने बाँध र विद्युतगृह प्रस्तावित क्षेत्रमा प्रस्ताव गरिएको जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले जनाएको छ । आयोजनाको मुख्य बाँध जलदुल्ला नदीमा बन्ने र त्यसको उचाइ १९ मिटरको हुने जनाइएको छ । यस्तै, फेदी खोलाको पानी डाइभर्सन वायर मार्फत् मुख्य पोखरीमा लगिनेछ ।
नदीमा बाँध बनाएपछि करिव दुई किलोमिटर माथिसम्म डुवान क्षेत्र फैलिनेछ भने यसको क्षमता आठ लाख २० हजार घनमिटर हुने प्रारम्भिक अनुमान गरिएको छ । बाँधस्थलदेखि विद्युतगृहसम्म पानी ७.५८ किलोमिटर लामो सुरुङद्वारा ल्याइने जनाइएको छ । यस आयोजनाको नेट हेड ४६४.५२ मिटर, डिजाइन डिस्चार्ज १०.२० घन मिटर प्रतिसेकेन्ड छ ।
जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड विद्युत उत्पादन कम्पनी लिमिटेडको सहायक कम्पनी हो । यो कम्पनी सन् २०१७ मा स्थापना भएको थियो । यस कम्पनीले जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाट र यसैको सिलसिलेवार (क्यास्केड) आयोजनाको रुपमा जगदुल्ला–ए निर्माण तथा सञ्चालन गर्न लागेको हो ।
आयोजना कार्यन्वयनको क्रममा रोजगारीको अवसर, स्थानीयको सिप तथा दक्षतामा वृद्धि, स्थानीय व्यापार व्यवसायमा वृद्धि, स्थानीय स्रोत र साधनको उपयोग, पहुँच सडकको स्तरोन्नति तथा सुधार, सामुदायिक विकासका गतिविधिहरुमा सहयोग लगायतका सकारात्मक प्रभाव पर्ने दावी गरिएको छ ।
त्यस्तै, भू–क्षय, पहिरो र भू–अस्थिरताको जोखिम कम हुने, सुख्खा मौसममा विद्युतको आपूर्ति, रोयल्टी वितरण, राष्ट्रिय विद्युत प्रसारण प्रणालीमा विद्युत थप हुने, स्थानीय क्षेत्रको विकास र शेयरको प्रावधान राखिने आयोजनाले जनाएको छ ।
प्रस्तावित आयोजना उचाइको हिसाबले माथिल्लो पहाडी क्षेत्रमा पर्दछ । जगदुल्ला नदी कान्जिरोवा हिमालबाट उत्पन्न भएको नदी हो । यस नदीको जलाधार क्षेत्रको अधिकांस भाग तीन हजार मिटरभन्दा माथिको क्षेत्रमा पर्दछ । यस नदीको न्यूनतम मासिक जल प्रवाह ७.३ घनमिटर प्रति सेकेन्ड छ भने अधिकतम मासिक प्रवाह ९६.८ घनमिटर प्रतिसेकेन्ड रहेको जनाइएको छ । आयोजना क्षेत्रमा वायुको गुणस्तर र ध्वनिको स्तर राष्िट्रय मापदण्ड अनुरुप पाइएको जनाइएको छ । आयोजनाले स्थायी तथा अस्थायी गरी झण्डै ४७ हेक्टर जग्गा प्रयोग गर्नेछ ।
कसरी गरिँदैछ आयोजनाबाट पर्ने असरको न्यूनिकरण ?
आयोजना कार्यान्वयन गर्दा प्रभावित क्षेत्रमा भौतिक, जैविक, सामाजिक, आर्थिक तथा सांस्कृतिक वातावरणमा असर पर्ने जनाइएको छ । आयोजना कार्यान्वयनका क्रममा भौगोलिक भुबनोट, भू उपयोग परिवर्तन, पहुँच मार्ग निर्माण, निर्माण सामग्रीको भण्डार तथा कामदारको शिविरका कारण स्थानीयस्तरमा नकरात्मक असर पर्न सक्ने इआईए प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, निजी जग्गा तथा निजी सम्पत्तिमा पर्ने प्रभाव, आयोजनाको निर्माणले बालीनालीमा क्षति, व्यावसायीक स्वास्थ्य तथा सुरक्षा सम्बन्धि जोखिम रहन सक्ने जनाइएको छ । यस्ता प्रभावलाई कम गर्न आयोजना प्रभावित क्षेत्रमा विभिन्न कार्यक्रमहरु अघि सारिएका छन् ।
जसमा अस्थायी लिजमा लिएका जग्गाहरु जग्गाधनीसँगको सहमति अनुसार पुनर्स्थापना गर्ने, उत्सिर्जित ढुङ्गा–माटोहरु तोकिएको क्षेत्रमा व्यवस्थापन गरी सो स्थानलाई हरितकरण गर्ने, आयोजनाका इक्वीप्मेन्ट सञ्चालन हुने स्थानमा निर्माण पूर्व भौगर्भिक अध्ययन गरेर पहिरो रोकथामका उपायहरु जस्तै नेलिङ, कङक्रिटिङ्ग, वायो इन्जिनियरिङ्ग अपनाइने जनाइएको छ ।
त्यस्तै, ध्वनि कम उत्पन्न गर्ने सामग्रीहरु प्राथमिकताका साथ प्रयोग गर्ने, आयोजनाले प्रयोग गर्ने सडकको बस्ति नजिक पर्ने वा बस्ति क्षेत्रको सडक खण्डमा आयोजनाले सुक्खा मौसममा दैनिक कम्तिमा दुईपटक पानी छर्कने व्यवस्था मिलाउने जनाइएको छ ।
ब्लास्टिङ गरिने समय तालिका प्रभावित क्षेत्रमा अग्रिम सूचना मार्फत् जानकारी दिने, आयोजनाले न्युनतम मासिक बहाबको १० प्रतिशत पानी अनिवार्य नियमित छाड्ने व्यवस्थापन मिलाइने जनाइएको छ । आयोजनाका कारण स्थानीय पूर्वाधारमा प्रभाव पर्न गएमा आयोजनाले आफ्नो सम्पूर्ण लागतमा पुनर्स्थापना गर्ने तथा सामुदायिक सहयोग कार्यक्रममा आयोजनाले कूल लागतको ०.५ प्रतिशत रकम विनियोजन गर्ने जनाएको छ ।






