उषालाई विद्यालय क्रिकेटको उपाधी

सुर्खेत, १० असार ।
वीरेन्द्रनगरमा भएको विद्यालयस्तरीय टी २० क्रिकेट प्रतियोगिताको उपाधि उषा बालबाटिमा आवासीय माविले उचालेको छ । मंगलबार भएको फाइनल खेलमा माउण्ट एभरेष्टमाथि १२ रनको जित निकाल्दै उषाले नगद ५१ हजारसहित उपाधि आप्mनो पोल्टामा पारेको हो ।
कालुंगचोक मैदानमा टस जितेर पहिला ब्याटिंग रोजेको उषाले निर्धारित २० ओभरमा अलआउट हुनुअघि ११८ रनको स्कोर खडा गर्यो । उषाका लागि मोहम्मद अफराज आलमले आक्रामक ब्याटिङ गर्दै २१ बलमा ६ चौका र १ छक्काको मद्दतले सर्वाधिक ३१ रन बनाए । त्यस्तै विकेटकिपर जेनिसराज भण्डारीले २० रन, कप्तान सुवास शाहीले १२ रन तथा शिव सुनारले १२ रनको योगदान दिए ।
माउन्ट एभरेष्टका बलर रमबेश शाहीले घातक बलिङ गर्दै महत्वपूर्ण ४ विकेट लिए भने उदियमान खेलाडीको उपाधि पाएका मिथुन बुढाले ३ विकेट लिए । ११९ रनको मध्यम चुनौति पछ्याउँदै मैदान उत्रिएको माउन्ट एभरेष्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०६ रन मात्र बनाउन सक्यो ।
एभरेष्टका कप्तान मनिष ओलीले ६४ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६२ रनको उत्कृष्ट इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । प्रतियोगिताभर २४३ रन बनाएका उनी सर्वोत्कृष्ट खेलाडी बने ।
एभरेष्टका लागि आयुष कोइरालाले २४ रन र यजुर्वेद गिरीले १० रन बनाएपनि अरु ब्याट्सम्यानहरू सस्तैमा समेटिएपछि उपविजेतामै चित्त बुझाउनुपर्यो । माउण्ट एभरेष्टका ब्याटरहरुलाई रोक्न बाल वाटिकाको जितमा कसिलो बलिङको मुख्य भूमिका रह्यो । बलर अस्मित बी.सी. ले ४ ओभरमा २ मेडन राख्दै मात्र ११ रन खर्चेर २ महत्वपूर्ण विकेट लिए ।
त्यस्तै, किरण चन्द र कप्तान सुवास शाहीले समान १–१ विकेट हात पारे । डेथ ओभरमा मिराज खड्का र मोहम्मद अफराज आलमले विकेट लिन नसके पनि किफायती बलिङ गरेर माउन्ट एभरेष्टका ब्याट्सम्यानहरूलाई दबाबमा राखे ।
कूल १३ विकेट लिने प्रज्ञा पाठशालाका रोनिश रावलले उत्कृष्ट बलरको उपाधि पाउँदा अनुशासित टिमको उपाधि पनि प्रज्ञाले नै पायो ।असार २ गतेबाट शुरु भएको प्रतियोगितामा २३ टोली सम्मिलित थिए ।





