श्रम ऐनको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकलाई श्रम मन्त्रालयको निर्देशन

काठमाडौँ, १० जेठ ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई श्रम ऐनको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको थियो । वैशाख ३१ गते दिएको मन्त्रालयको उक्त निर्देशनलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकले जेठ ८ गते देशभरका ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशन, २०८२ मा संशोधन गरी अतिरिक्त कार्यालय समय (ओभर टाइम) सम्बन्धी स्पष्ट व्यवस्था गरेको छ ।
संशोधित व्यवस्थाअनुसार अतिरिक्त समयमा काम गराउँदा प्रचलित कानुनबमोजिम अतिरिक्त पारिश्रमिक (ओटी अलाउन्स) दिनुपर्ने, कर्मचारीलाई अतिरिक्त समय काम गर्न बाध्य पार्न नपाइने, श्रम ऐन तथा श्रमिक अधिकारको पूर्ण पालना गर्नुपर्ने व्यवस्था छ ।
यसअघि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपाल राष्ट्र बैंकलाई पत्राचार गर्दै बैंक तथा वित्तीय संस्थामा कार्यरत श्रमिक तथा सुरक्षा गार्डलगायत आउटसोर्सिङमार्फत कार्यरत जनशक्तिको न्यूनतम पारिश्रमिक, सेवासुविधा र श्रम कानुनको कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरेको थियो ।
नेपाल राष्ट्र बैंकले गरेको यो संशोधन श्रम ऐन कार्यान्वयनको दृष्टिले ऐतिहासिक कदमका रूपमा हेरिएको छ । लामो समयदेखि अतिरिक्त समय काम गरे पनि उचित पारिश्रमिक नपाउने समस्याबाट बैंक तथा वित्तीय क्षेत्रका हजारौँ कर्मचारी लाभान्वित हुने अपेक्षा गरिएको छ ।






