डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

बाँके, ४ जेठ ।
बाँकेको डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । आइतबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरीले औपचारिक रूपमा पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन् ।
गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि खोप अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सबै पक्षको सक्रियता आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख चौधरीले समुदायमा अझै पनि खोपप्रतिको चेतनाको कमी देखिएकाले जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका थप प्रभावकारी हुनुपर्ने बताए । उनले कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहोस् भन्ने विषयमा पालिका सधैं सजग र प्रतिबद्ध रहनुपर्नेमा जोड दिए ।
गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले स्वास्थ्य क्षेत्रलाई पालिकाले उच्च प्राथमिकतामा राखेर काम गर्दै आएको उल्लेख गर्दै स्वस्थ बालबालिका नै देशको भविष्य भएकाले समयमै खोप लगाउनु अत्यावश्यक रहेको बताए ।
स्वास्थ्य शाखा प्रमुख सिताराम चौधरी का अनुसार पालिकाभित्र १५ महिनामुनिका एक हजार ५२ जना तथा १६ देखि २३ महिनाभित्रका ८ सय ३१ जना बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सबै आवश्यक खोप प्राप्त गरेपछि डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्की, वडा नं. ३ का अध्यक्ष आमोद तिवारी, प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार पाण्डे, वडा सदस्य सुष्मा यादव, स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत देवनारायण उपाध्याय तथा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा सेवा निवृत्त पाँच जना कर्मचारीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा सिनियर अनमी संगिता वर्मा, पवन कुमारी बाहुनी, सुमनलता सिंह, खड्क नाथ सापकोटा तथा महिला स्वास्थ्य स्वयंसेविका प्रेम कुमारी अधिकारी रहेका छन् । साथै पालिकाका स्वास्थ्य केन्द्र प्रमुख तथा सबै महिला स्वास्थ्य स्वयंसेविकालाई समेत सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख चौधरीले जानकारी दिए ।






