कर्णालीमा राँको बाल्दै मनाइयो साउने संक्रान्ति

गाेल्डेन बुढा
जुम्ला,१ साउन।
साउन १ गते अर्थात् साउने संक्रान्तिका दिन कर्णाली, विशेषगरी जुम्लाका गाउँघरमा साँझ पर्दासँगै प्रत्येक घरको छतमाथि राँको बल्छ। आगोको उज्यालोसँगै गाउँभरि गुञ्जिने गालीका आवाज बाहिरबाट सुन्दा अस्वाभाविक लागे पनि यो यहाँको शताब्दीयौँ पुरानो सांस्कृतिक परम्परा हो। प्रत्येक घरको छतमा राँको बालेर एक–अर्कालाई गाली गर्दै लुतो फाल्ने चलन आजसम्म पनि कायमै छ।लुतो फाल्ने दिनका रूपमा चिनिने साउने संक्रान्तिमा बिहानै नुवाइधुवाइ गरी शरीरमा तेल लगाएर सरसफाइ गर्ने गरिन्छ। धान रोपाइँको काम सकिएको अवसरमा यहाँका किसानहरूले साउने संक्रान्ति मनाउने गर्छन्। महिना भरि हिलोमा बसेर खेतिपाती गर्दा शरीर चिलाउने, खटिरा तथा लुतोजस्ता छालासम्बन्धी समस्या आउन सक्ने भएकाले जीउलाई सफा–सुग्घर गरी लुतो फाल्ने परम्परा बसेको हो।यस दिन स्थानीय सल्लाको झर्रो वा दियालो बालिन्छ।

गाउँघरमा अगेनामा कुरीलो र तितेपाती सल्काएर अगेनाबाट एउटा अगुल्टो झिकेर चारै दिशा घुमाइन्छ र ‘लुतो लैजाउ’ भन्दै अगुल्टो फ्याँकिन्छ। साँझ लुतो फालिसकेपछि शरीरमा घाउ–खटिरा आएको भए कुकुरडाइनो जलाएर त्यसको मलम बनाई लगाउने चलन पनि अझै जीवित छ।साउन १ गतेदेखि सूर्यको गति दक्षिणतर्फ हुने भएकाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ। यही दिन पोइली घरमा रहेका छोरीचेली माइती फर्किन्छन्। परिवारसँग बसेर मिठामिठा परिकार पकाउने र खाने चलन रहेको संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्य बताउँछन्।परम्परागत रूपमा साउनमा मासु नखाने मान्यता रहे पनि पछिल्लो समय त्यो चलन बदलिँदै गएको छ। अहिले साउने संक्रान्तिका अवसरमा मासुको प्रयोग बढेको पाइन्छ। यद्यपि दूध र दही खानुपर्छ भन्ने जनविश्वास अझै कायम छ। साउन महिनामा बढी वर्षा हुने, शुद्ध पानीको अभाव हुन सक्ने र रोगव्याधिले नछोओस् भन्ने कामनासहित दूध–दही सेवन गर्ने प्रचलन रहेको विश्वास गरिन्छ।घरको ओटालो तथा छत लिपपोत गरी राँको हालिन्छ। गाउँमा रहेका रोगव्याधि सबै हटून् भन्ने कामनासहित नजिकैको छिमेकी गाउँलाई सामूहिक रूपमा गाली गर्ने चलन पनि रहिआएको छ। राँको लिएर दोबाटो र चौबाटोमा फ्याँकिन्छ। दिदीबहिनीहरू एकै थलोमा भेला भएर स्थानीय देउडा गीत गाउँछन्, रमाइलो गर्छन्। खेल्ने ठाउँबाटै फूलपाती ल्याएर राँको तयार गरिन्छ। शंख र घण्टा बजाउँदै लुतो फाल्ने संस्कृतिले आज पनि निरन्तरता पाइरहेको आचार्यको भनाइ छ।उनका अनुसार कर्णालीमा राँको बाल्ने चलन विशेष रूपमा प्रचलित छ। रमाइलोका साथ साउने संक्रान्ति मनाइन्छ। आजकै दिन हनुमानले लंका जलाएको स्मरणमा राँको बाल्ने चलन रहेको एकथरी विद्वानको मत छ। अर्काथरीले भने राँको फाल्ने परम्परालाई खस संस्कृतिको उपज मानेका छन्। खसान क्षेत्रका मानिसहरूले कालो साउनमा कुनै अनिष्ट नहोस् भन्ने कामनासहित यो संस्कार विकास गरेको तर्क उनीहरूको छ।खानपानमा केही परिवर्तन आए पनि साउने संक्रान्तिको मूल सांस्कृतिक स्वरूपमा खासै परिवर्तन आएको छैन। साउन महिनाभरि पार्वतीले व्रत बसी महादेवलाई पति प्राप्त गरेको धार्मिक विश्वासका कारण हिन्दु महिलाका लागि यो महिना विशेष पवित्र मानिन्छ। त्यसैले विवाहिता महिलाहरू परिवारको सुस्वास्थ्य, दीर्घायु र सुख–समृद्धिको कामना गर्दै महादेवको व्रत, उपासना र आराधना गर्छन्। यस अवसरमा उनीहरू हरियो पोते, हरियो चुरा र रातो पहिरनमा सजिने चलन छ।

नेपाली भाषाको उद्गमस्थल मानिने सिंजामा यो संस्कृतिले छुट्टै सभ्यता र पहिचान स्थापित गरेको छ। यही सांस्कृतिक महत्वलाई सम्मान गर्दै कर्णाली प्रदेश सरकारले राजपत्रअनुसार साउन १ गते सार्वजनिक बिदा दिने गरेको थियो। यद्यपि पछिल्लो समय बढ्दो सहरीकरण र बजारीकरणका कारण घरका छतमा पर्याप्त स्थान नहुँदा धेरै ठाउँमा राँको सडकमै बाल्न थालिएको छ।साउने संक्रान्ति किसानको जीवनसँग प्रत्यक्ष जोडिएको पर्व हो। सामान्यतया जेठ र असारभरि किसानहरू निरन्तर हिलोमा काम गर्छन्। त्यसक्रममा लुतो, ततानेलगायतका छालासम्बन्धी रोग लाग्ने भएकाले असारको खेतीपाती सकिएपछि साउनको पहिलो दिनलाई लुतो फाल्ने दिनका रूपमा मनाउने परम्परा बसेको मानिन्छ।राँको हालेर गाली गर्ने परम्परापछि तीन प्रमुख जनविश्वास जोडिएका छन्। पहिलो, हनुमानले लंका जलाएको दिनको स्मरण। दोस्रो, लुतो, चिलाउनेलगायत प्रदूषणजन्य तथा चर्मरोग निवारणका लागि कण्डारक देवताको पूजा गर्ने धार्मिक विधान। यसले चर्मरोग निको हुन्छ भन्ने विश्वासका कारण राँको हाल्ने गरिन्छ। तेस्रो, जुम्ला राज्यका संस्थापक राजा बलिराज दिल्लीमा हिन्दुविरोधी मुसलमानहरूको विद्रोह पराजित गरी फर्किएपछि त्यसको खुसीयालीमा दीपावलीस्वरूप राँको हालिएको जनश्रुति पनि पाइन्छ।राँको घरको छतमा हालिसकेपछि खोलापारिका गाउँलेलाई गाली गर्दै लुतो फालिन्छ। तर, यी गाली व्यक्ति लक्षित, अपाच्य वा वैमनस्य फैलाउने उद्देश्यका हुँदैनन्। ती समग्र गाउँलाई लक्षित सांस्कृतिक अभिव्यक्ति हुन्। जस्तै— ‘लुतो, पाब्डो, खाइने खड्काउने लैजाउ ऐ पारिफाल्या ढाग्र्यौ, फाटो फेरुवा लैजाउ, नौँलो फेरुवा दिजाउ ऐ पारिपट्टीका ढाग्र्यौ, दुहुनी गाई दिइजाउ, बाँठ्या गाई लैजाउ’ जस्ता गालीहरू प्रचलित छन्।

यस्ता गालीमा नराम्रो लिएर जाऊ र राम्रो छोडेर जाऊ भन्ने सांस्कृतिक भाव लुकेको हुन्छ। यहाँ ‘फेरुवा’ भनेको भुइँमा ओछ्याउने कार्पेटजस्तै कपडा हो।जेठ–असारभरि निरन्तर खेतमा खटिएका छोरीचेलीलाई साउने संक्रान्तिमा माइती बोलाएर आराम गराउने, मिठो–मसिनो खुवाउने परम्परा पनि यो पर्वको अर्को महत्त्वपूर्ण पक्ष हो। एक दशकअघिसम्म महिलाहरू मार्सी धानका जिउलानजिकको थलोमा भेला भएर देउडा खेल्थे। आफ्ना दुःख, पीर र थकान बिसाउने माध्यम बनेको त्यो देउडा अहिले विस्तारै हराउँदै गएको छ। देउडा खेलेपछि त्यही जिउलाबाट फूल टिपेर ल्याइन्थ्यो र त्यसै फूलपातीले घरमा राँको हाल्ने परम्परा पूरा गरिन्थ्यो।






