१२ वर्षमा कर्णालीका सडकमा गुम्यो १३ सय नागरिकको ज्यान

सुर्खेत, २ साउन ।
१८ असार २०८३ को बिहान करिब ११ः३० बजे सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साँगेतडाबाट कर्णाली नदीमा खस्यो ।
उक्त गाडीमा सवार पाँच जना मध्ये चार जनाको शव फेला परेको छ । अत्याधिक धमिलो र तीव्र बहावयुक्त कर्णालीको भंगालोमा खसेको उक्त गाडी र सहचालक सुर्खेतको पञ्चपुरी नगरपालिका–५ माझिगाउँका रामप्रसाद सुवेदीको शव अझै अज्ञात छ ।
घटना लगत्तै दुर्घटनाग्रस्त गाडी र यात्रुको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्धार टोलीले हेलिकोप्टर, ड्रोन, म्याग्नेट, सोनार क्यामेरा तथा गोताखोरको सहायताले कर्णाली नदी बेसिनमा झण्डै दुई साता सघन खोजी गरे । सुरक्षा निकायले खोज तथा उद्धारमा उच्च प्रविधि प्रयोग गरिरहेको दावी गरेपनि कर्णालीको धमिलो र उच्च बहावको भंगालोमा ति उपकरण कामयावी बन्न सकेनन ।
अन्ततः खोजी कार्यमा खटिएको सुरक्षा निकायको टोली रामप्रसाद र दुर्घटनाग्रस्त गाडीलाई कर्णाली नदीको धमिलो पानीमै छाडेर फर्केको छ । यो दुर्घटनामा डण्डपाणी सुवेदीले दुई छोरा गुमाएका छन् । सहचालक डण्डपाणीका जेठा छोरा हुन् भने चालक तुलाराम कान्छा छोरा हुन् ।
रोजगारीको गन्तव्य भारत बनाएका तुलाराम र रामप्रसाद गत वर्षको दशैंमा घर फर्केका थिए । दुई भाई मिलेर गाडी चलाउने इच्छा गरेपछि दुर्घटनाग्रस्त गाडी बैंकबाट ऋण लिएर खरिद गरिएको थियो । एक छोराको शव भेटिएपछि अन्तिम संस्कार गरेर सुवेदी किरियामै बसेका छन् । कान्छो छोरा तुलारामको सास नभएपनि लास आउने आशा सुवेदीमा अझै मरेको छैन ।
कमाउने छोराहरु सडक दुर्घटनामा परेपछि सुवेदीको परिवार जबरजस्त उजाडिएको छ । बुढौली हुँदै गएका सुवेदीको काँधमा दुई बुहारी, चार नातिनतिना र श्रीमतीको भार थपिएको छ । त्योभन्दा अझै बढी उनको अघि गाडी किन्दा बैंकबाट लिइएको ऋणको थुप्रो पहाड बनेर उभिएको छ । सहचालकलाई दिइने पारिश्रमिक बचत हुने आशाले रामप्रसाद पनि भाईसँगै गाडीमा हिँड्थे । प्रायजसो दैलेख, कालीकोट, जुम्ला रुटमा उनीहरु परिवारको भविष्य सुनौलो बनाउन हिँडिरहन्थे ।
उनीहरुले गाडी र परिवारको खर्च कटाएर भएको आम्दानी बैंकको कर्जा तिर्थे, बाँकी केही रकम बचत गर्थे । छोराहरुलाई सुरक्षित तबरबाट गाडी चलाउन डण्डपाणीले भनिरहन्थे । बिडम्बना अहिले डण्डपाणीका सामु न कमाउने छोरा छन्, न त ऋणमा किनेको गाडी नै । अब उनका अघि गाडी किन्न लिइएको ऋणको थुप्रोसँगै जीवनभर छोरा गुमाउनुको पीडाको पहाड उभिएको छ ।
‘मेरो सम्पूर्ण सम्पत्ति बैंकमा धितो राखेर ऋण लिएको थिएँ । अहिले गाडी पनि गयो, दुई छोरा पनि रहेनन् । घरमा साना नातिनातिना छन् । अब परिवार कसरी पाल्ने र बैंकको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताएको छ,’ उनले भने ।
डण्डपाणी उनै पात्र हुन, जो वर्षेनी कर्णाली राजमार्गमा सडक दुर्घटनाबाट परिवारका सदस्य गुमानुको असह्य पीडा बोकेर बाच्न बाध्य छन् । कर्णालीमा सडकका नाममा खनिएका असुरक्षित धर्साहरुमा यस्ता हृदय विदारक सडक दुर्घटना भइरहेका छन्, जसले सयौ नागरिक वर्षेनी सधैंका लागि सडकमै छुटिरहेका छन् । राज्यको चरम उपेक्षाका कारण कर्णालीका नागरिक बिहान गाडी चढे बेलुका घर पुगिन्छ वा पुगिदैन भनेर यात्रा गर्न बाध्य छन् ।
कर्णाली प्रदेशमा समृद्धिको मेरुदण्ड मानिनुपर्ने सडक सञ्जालहरू नागरिकका लागि कालान्तरमा ‘डेथ ट्र्याप’ (मृत्युको पासो) प्रमाणित भइरहेका छन् । पछिल्लो साढे ११ वर्षको सरकारी तथ्याङ्कलाई केलाउँने हो भने सडक दुर्घटनाको दर र यसबाट हुने मानवीय क्षतिको ग्राफ अकल्पनीय रूपमा डरलाग्दो देखिन्छ ।
यस अवधिमा मात्रै एक हजार तीन सय ७४ जना नागरिकले सडक दुर्घटनामा ज्यान गुमाइसकेका छन् भने सात हजार आठ सय ९३ जना गम्भीर घाइते भई कष्टकर जीवन बिताउन बाध्य छन् । भौगोलिक रूपमा विकट र सडक सञ्जालको पहुँच ढिलो पुगेको कर्णालीमा सडक यातायात जीवनरेखा हुनुपर्ने हो । तर, कमजोर इन्जिनियरिङ, सडकको अवस्था जीर्ण, पुराना सवारी साधन, क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्ति, तीव्र गति, चालकको लापरवाही र फितलो ट्राफिक नियमनका कारण कर्णालीका मुख्य राजमार्गहरू (कर्णाली राजमार्ग, कर्णाली कोरिडोर, भेरी कोरिडोर, मध्यपहाडी लोकमार्ग र सहायक ग्रामीण सडकहरू) मृत्युमार्गमा परिणत भइरहेका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांक अनुसार आर्थिक वर्ष २०७१/०७२ देखि गत आर्थिक वर्ष २०८२/०८३ को २२ असारसम्मको अवधिमा कुल ६ हजार ६२ वटा सवारी दुर्घटना दर्ता भएका छन् । जसमा औसतमा हरेक वर्ष एक सय २० भन्दा बढी नागरिकले कर्णालीका सडकमा ज्यान गुमाउने गरेको सरकारी तथ्यांकले देखाउँछ ।
प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७१/०७२ मा कर्णालीका विभिन्न सडकमा एक सय ३९ सवारी दुर्घटना भए । यी दुर्घटनामा परी एक सय ३९ जनाले ज्यान गुमाउँदा एक सय ७२ जना गम्भीर घाइते भएका छन् ।
घाइतेलाई अस्पताल पुर्याए पश्चात उसको अवस्थाका बारेमा पुनः जानकारी नलिइने हुँदा वास्तविक मृत्युको ग्राफ भने एकिन गर्न सकिने अवस्था रहदैन । आर्थिक २०७२/०७३ मा ७६ सडक दुर्घटना भएका छन् । जसमा ५६ जनाको मृत्यु हुँदा ६५ जना गम्भीर घाइते भएको प्रहरीको तथ्यांकले देखाउँछ । यस्तै, आर्थिक वर्ष २०७३/०७४ मा एक सय एक सडक दुर्घटनामा परी एक सय १७ जनाले ज्यान गुमाएका छन् भने एक सय ५३ जना घाइते भएको तथ्यांक प्रहरीसँग छ ।
प्रहरीको तथ्यांकलाई केलाउने हो भने, पछिल्ला वर्षहरुमा सडकको अवस्था सुध्रदै गएपनि दुर्घटनाको ग्राफ भने घटेको छैन । आर्थिक वर्ष २०७४/०७५ मा ८८ वटा सडक दुर्घटना हुँदा ९१ को मृत्यु र एक सय २० गम्भीर घाइते भएका छन् । त्यस्तै, आर्थिक वर्ष २०७५/०७६ मा एक सय ४६ सडक दुर्घटना भएका छन् । जसमा एक सय १५ को मृत्यु हुँदा एक सय ५० नागरिक घाइते भएका छन् । आर्थिक वर्ष २०७६/०७७ मा दुई सय ३६ सडक दुर्घटनामा परी ९७ जनाले ज्यान गुमाएका छन् । यस वर्ष एक सय ३१ जना गम्भीर घाइते भएको प्रहरीको तथ्यांक छ ।
आर्थिक २०७७/०७८ मा दुई सय ९१ सडक दुर्घटनामा परी ९८ जनाले सडकमै ज्यान गुमाएका छन् । यस वर्ष एक सय ६९ जना गम्भीर घाइते भएका छन् । त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा चार सय तीन सडक दुर्घटनामा एक सय ८० जनाले ज्यान गुमाउँदा तीन सय ६२ जना गम्भीर घाइते भएका छन् । आर्थिक वर्ष २०७९/०८० मा तीन सय ४२ वटा सडक दुर्घटना भएका छन् ।
जसमा परी ९४ को मृत्यु र दुई सय पाँच जना गम्भीर घाइते भएको प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा एक हजार चार सय ४५ सडक दुर्घटना हुँदा एक सय १२ जनाले ज्यान गुमाएका छन् । यस वर्ष सडक दुर्घटनामा परी दुई हजार ७७ जना घाइते भएका छन् । यो वर्ष यता कर्णालीका सडकमा सवारी दुर्घटनाको ग्राफ तीव्र गतीले बढेको प्रहरीको तथ्यांकले देखाउँछ । पछिल्ला वर्षहरुमा मुख्य राजमार्गसँगै ग्रामिण सडकमा अत्याधिक सडक दुर्घटना भइरहेको देखिन्छ ।
आर्थिक वर्ष २०८१/०८२ मा एक हजार दुई सय ४० सडक दुर्घटना भएका छन् । जसमा एक सय ३९ को मृत्यु हुँदा दुई हजार आठ जना गम्भीर घाइते भएका छन् । प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८२/०८३ को २२ असारसम्म प्रदेश भर एक हजार पाँच सय ५६ सडक दुर्घटना भइसकेका छन् । यी दुर्घटनामा परी एक सय ३२ जनाले ज्यान गुमाउँदा दुई हजार दुई सय ८१ जना सामान्यदेखि गम्भीर घाइते भएको प्रहरीले तथ्यांकले देखाउँछ ।
कर्णालीको यो भयावह तथ्याङ्कले तत्कालै ठोस कदम चाल्न राज्यका तीनै तहका सरकार र सरोकारवालाहरूलाई झक्झक्याइ रहेको छ । आमनागरिकको जीवन रक्षासँग जोडिएको सडक जस्तो संवेदनशील क्षेत्रमा नजर अन्दाज गर्ने परिपाटीको अन्त्य नहुनु दुखद् रहेको बताउँछन्, मानवअधिकारका क्षेत्रमा काम गर्ने संस्था अनौपचारिक सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश संयोजक नारायणप्रसाद सुवेदी ।
कतिपय राजमार्गहरु गाडी गुड्यो कि नागरिकले ज्यान गुमाइहाल्ने बन्न थालेपछि इन्सेकले उच्च अदालत सुर्खेतमा रिटसमेत हालेको थियो । सडक दुर्घटना रोक्न तत्काल न्यूनतम संरचना र प्रयासहरु नगरिएको भन्दै इन्सेक लगायत मानवअधिकारका क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले अदालतमा रिट दायर गरेका थिए ।
अदालतले पनि सडकको अवस्थ सुधार गरेर कम्तिमा दुर्घटना भइहाले मानवीय हाताहाती नहुने खालका संरचना तत्काल निर्माण गर्न सरकारका नाममा आदेशसमेत जारी गरेको थियो । तर, कार्यान्वयनमा भने सरकारले चरम उपेक्षा गरिरहेको सुवेदी बताउँछन ।
उनी भन्छन्, ‘सर्वप्रथम, प्राविधिक रूपमा त्रुटिपूर्ण सडक खण्डहरूमा ‘ब्ल्याक स्पट’ पहिचान गरेर तत्काल सुधार गरिनुपर्छ । कर्णालीका सडकहरूमा चल्ने सार्वजनिक सवारीको नियमित ‘फिटनेस टेस्ट’ अनिवार्य गरिनुपर्छ । लामो दूरीका सवारी साधनमा अनिवार्य रूपमा दुई जना चालकको व्यवस्था र प्रविधिको प्रयोगमार्फत सवारीको गति ट्र्याकिङ गर्ने व्यवस्था मिलाउन ढिला भइसकेको छ ।’
दुर्घटनाको कारण तीव्र गति
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तथ्यांक अनुसार कर्णालीमा सडक दुर्घटनाको कारण तीव्र गति देखिन्छ । ट्राफिक प्रहरीले कर्णालीमा हालसम्म घटेका सडक दुर्घटनाको विश्लेषण गरेर त्यसको कारण निकालेको छ । जसमा सबैभन्दा बढी ६९ प्रतिशत तीव्र गतिका कारण सडक दुर्घटना भएको देखिन्छ ।
तथ्यांक अनुसार पाँच प्रतिशत ब्रेक फेल, दुई प्रतिशत यान्त्रिक गढबढी, चार प्रतिशत माद्यक पदार्थ सेवन र पैदल यात्रीका कारण सात प्रतिशत दुर्घटना हुने गरेको छ । यस्तै, सवारी चालक अनुमती प्राप्त नगरी सवारी चलाउँदा तीन प्रतिशत, मौसमका कारण एक प्रतिशत, ओभर ट्याकका कारण दुई प्रतिशत र अन्य कारणले सात प्रतिशत सडक दुर्घटना हुने गरेको कार्यालय प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजाल बताउँछन् ।
उनी भन्छन्, ‘कर्णालीमा सडक दुर्घटनाका मुख्य कारण चालकको लापरवाही, तीव्र गति, सडकको अवस्था र सवारी साधनको यान्त्रिक अवस्था हुन् । सडकमा समयमै मर्मत, सूचना तथा चेतनामूलक बोर्डको व्यवस्था र आवश्यक पूर्वाधारमा सुधार गर्न सके दुर्घटना न्यूनीकरण गर्न सकिन्छ । ट्राफिक जनशक्ति केही कम भए पनि त्यो नै मुख्य समस्या होइन । अहिलेको जनशक्तिलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि र आवश्यक पूर्वाधार उपलब्ध गराउन सके ट्राफिक व्यवस्थापन र दुर्घटना नियन्त्रणमा अझ राम्रो नतिजा हासिल गर्न सकिन्छ ।’
सडक अनुगमनमा निस्किए पूर्वाधार मन्त्री लम्साल
संघीय सरकारका पूर्वाधार विकास मन्त्री सुनिल लम्साल कर्णाली प्रदेशका प्रमुख सडकको अनुगमनमा निस्किएका छन् । कर्णाली राजमार्ग लगायतका राजमार्गको अनुगमन गर्न शुक्रबार सुर्खेत आएका मन्त्री लम्साल शुक्रबार नै कर्णाली राजमार्गको अनुगमनमा निस्किएका छन् ।
उनले पहिलो दिन कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–दैलेख–कालीकोट खण्डको अनुगमन गरेका छन् । प्रतिनिधि सभा सदस्य रमेशकुमार सापकोटाका अनुसार मन्त्री लम्सालले सुर्खेत, दैलेख, कालीकोट हुँदै जुम्ला–कालीकोट सिमाना नाग्मसम्म कर्णाली राजमार्गको अनुमगन गर्नेछन् । यस्तै, नाग्मबाट मुगु जोड्ने सडकको पनि अनुगमन गर्ने कार्यतालिका छ ।
उनी मुगुबाट बाजुरासम्म स्थलमार्गबाट पुग्ने जनाइएको छ । बाजुरादेखि हुम्लासम्म भने हवाई मार्गबाट जान लागेका मन्त्री लम्सालले हुम्लाका पनि सडकहरुको अनुगमन गर्नेछन् । मन्त्री लम्सालले ४ असारको प्रतिनिधिसभा बैठकमा अबको तीन वर्षपछि कर्णालीका जिल्ला र पालिका जोड्ने सडकलाई डबल लेनमा विस्तार गर्ने घोषणा गरेका थिए । उनले अब खाल्डाखुल्डी मर्मत गर्ने काम पटके नभई नियमित तालिका अनुसार हुने भएकाले लक्ष्य अनुसार काम हुने दावी मन्त्री लम्सालको छ । साथै, कर्णालीका सडकको स्थलगत अनुगमनसमेत गर्ने घोषणा गरेका थिए ।
मृत्युमार्गको पहिचान बनाएको साविक कर्णालीका केही जिल्ला जोड्ने कर्णाली राजमार्गको अवस्था हालसम्म दयनीय छ । कर्णाली राजमार्ग सुर्खेतको वीरेन्द्रनगरबाट सुरु भई जुम्ला गएर टुङ्ग्िन्छ । यसको कुल लम्बाई दुई सय ३२ किलोमिटर छ । जसमा सडक डिभिजन सुर्खेतले एक सय ३२ र जुम्लाले एक सय किलोमिटर सडक हेर्ने गर्छ ।
त्यस्तै, जुम्लाको नाग्मदेखि मुगु सदुरमुकामसम्म ९३ किलोमिटर छ । यो सडकमा नियमित गाडी सञ्चालन भइरहेका छन् । मुगु सदरमुकाम गमगढीदेखि उत्तरी चिनियाँ नाका नाक्चेनाग्लासम्म ९३ किलोमिटर सडक प्रस्ताव गरिएको छ । जसमा १८ किलोमिटर ट्याक खुलेको छ भने बाँकी खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी इञ्जिनियर प्रदिप नारायण चौधरीले बताए । उनका अनुसार यो सडकलाई विभिन्न खण्डमा विभाजन गरेर निर्माण कार्य जारी रहेको उनले बताए ।






