कोदोको पिठो बेचेर महिलाको घरखर्च!

गाेल्डेन बुढा
जुम्ला,३० असार ।
कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा घुम्न आउने अधिकांश आन्तरिक पर्यटक फर्किने बेला जुम्लाको रैथाने कोदोको पिठो बोकेर घर फर्किन थालेका छन्। स्वास्थ्यका लागि लाभदायी, अर्गानिक र स्वादिलो मानिने जुम्लाको कोदो अहिले पर्यटकको रोजाइसँगै किसानको नगद आम्दानीको भरपर्दो स्रोत बन्दै गएको छ।गतअसार २१ गते रामेछापकी मेलिना कोइराला रारा भ्रमणपछि जुम्ला सदरमुकाम खलंगा पुगेर ३५ किलो कोदोको पिठो किनेर घर फर्किइन्। उनका अनुसार अघिल्ला वर्ष दिदीबहिनी र बुबाआमाले जुम्लाबाट ल्याएको कोदोको पिठोबाट रोटी, सेलरोटी, हलुवा र अन्य परिकार बनाएर खाएका थिए। त्यसपछि आफैं पनि जुम्ला आएर कोदोको पिठो लैजाने योजना बनाएकी हुन्।”जुम्लाको कोदो अर्गानिक, स्वादिलो र स्वास्थ्यका लागि राम्रो रहेछ। त्यसैले यसपालि धेरै नै लिएर जाँदै छु,” उनले भनिन्।उनीसँगै आएकी मालिका महर्जनले भने यो तेस्रो पटक जुम्लाबाट कोदोको पिठो किनेर लगेको बताइन्। “हरेक वर्ष १५–२० किलो लैजान्छु। गुणस्तरीय भएकाले परिवारका सबैले मन पराउँछन्। यस्तो उत्पादनको खेती अझ विस्तार गर्न सके किसानले राम्रो आम्दानी गर्न सक्छन्,” उनले भनिन्।सदरमुकाम खलंगास्थित चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गरेको अर्ग्यानिक मिनी मार्केटमा दैनिकजसो कोदोको पिठो किन्ने आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गरेको छ।जुम्लाको पातारासी गाउँपालिका–५ लोर्पा गाउँकी काली बुढाले अधिकांश बारीमा कोदो खेती गर्छिन्। केही दिनअघि मात्रै उनले एक क्विन्टल ५० किलो कोदोको पिठो बजारमा ल्याएर प्रतिकिलो १ सय रुपैयाँका दरले बिक्री गरिन्। एकैपटक १५ हजार रुपैयाँ हात पारेकी उनी भन्छिन्, “पहिले कोदोको यति मूल्य हुन्छ भन्ने थाहा थिएन। अहिले यसको महत्त्व र बजार दुवै बढेको छ।”उनका अनुसार हरेक वर्ष करिब साढे दुई क्विन्टलभन्दा बढी कोदो उत्पादन हुन्छ। केही घरायसी प्रयोजनका लागि राखेर बाँकी बिक्री गर्छिन्। गतवर्ष दुई क्विन्टल ५० किलो पिठो बेचेर २५ हजार रुपैयाँ आम्दानी भएको उनले सुनाइन्। यस वर्ष तीन क्विन्टलभन्दा बढी उत्पादन हुने अपेक्षा छ।सोही गाउँकी अनुरुपा बुढाको परिवारको मुख्य आम्दानीको स्रोत पनि कोदो खेती नै हो। कोदोको पिठो बिक्रीबाट छोराछोरीको पढाइ, लत्ताकपडा, खाद्यान्न र दैनिक घरखर्च चलिरहेको छ। गत असारमा एक क्विन्टल ३० किलो पिठो बेचेर १३ हजार रुपैयाँ कमाएको उनले बताइन्।अघिल्लो वर्ष ३० हजार रुपैयाँकोकाे काेदाेकाे पिठो बेचेको सुनाइन्।सात रोपनी जग्गामा नियमित कोदो खेती गर्दै आएकी अनुरुपाले यस वर्ष पाँच क्विन्टलसम्म उत्पादन हुने अनुमान गरेकी छन्। अर्की लाेर्पा गाउँकै काली बुढाका अनुसार घरमा आर्थिक अभाव पर्दा कोदोको पिठो पिसेर बजार पुर्याउने बानी नै परेको छ। “सानोतिनो आर्थिक समस्या कोदो बेचेरै टार्छौं। पहिले घरमा खाने बाली मात्रै ठानेका थियौं, अहिले त बजारमा राम्रो माग रहेछ,” उनले भनिन्। कोदो बिक्रीबाट वार्षिक ३० देखि ६० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनको अनुभव छ।यता चन्दननाथ अर्ग्यानिक मिनी मार्केटका राजु बोहोराका अनुसार यो वर्ष तीन लाख ३० हजार रुपैयाँको पिठो बिक्री भएको,भने१ लाख ६० हजार रुपैयाँको दाना बिक्री भइसकेको छ। मार्केटले किसानबाट प्रतिकिलो १ सय रुपैयाँमा खरिद गरेर १ सय ५० रुपैयाँमा बिक्री गर्दै आएको छ। कोदोको दाना भने किसानबाट ८० रुपैयाँमा किनेर १ सय रुपैयाँमा बिक्री गरिन्छ।”कर्णाली घुमेर जुम्ला पुग्ने धेरैजसो पर्यटकले थोरै भए पनि कोदोको पिठो किनेरै जान्छन्। अहिले त नेपालको कुनाकन्दरासम्म जुम्लाको कोदो पुग्न थालेको छ,” बोहोराले भने।कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार जुम्लामा कोदो खेतीको क्षेत्रफल भने वर्षेनी घट्दो क्रममा छ। जुम्लाको कोदोको उत्पादकत्व १.४१ प्रतिशत छ,आर्थिक वर्ष २०७७/७८ मा तीन हजार ८ सय ४० हेक्टरमा खेती भएको कोदो २०७८/७९ र २०७९/८० मा तीन हजार ७ सय हेक्टरमा सीमित भयो। गत वर्ष दुई हजार ७ सय ३५ हेक्टरमा खेती हुँदा तीन हजार ८ सय २१ मेट्रिक टन उत्पादन भएको थियो। चालु आर्थिक वर्षमा खेती क्षेत्र थप घटेर दुई हजार ७ सय ३३ हेक्टरमा झरेको छ।

कर्णाली प्रदेशभर १४ हजार ५ सय ६३ हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदै आएको छ। गत आर्थिक वर्ष १६ हजार ३ सय १० मेट्रिक टन उत्पादन भएको सरकारी तथ्यांक छ। कोदोको उत्पादकत्व १.१२ प्रतिशत छ।नेपालभर भने दुई लाख २४ हजार ९ सय ३५ हेक्टरमा कोदो खेती भई तीन लाख सात हजार ३२ मेट्रिक टन उत्पादन भएको छ।कोदोको उत्पादकत्व १.३४ प्रतिशत छपोषणविद्का अनुसार कोदोमा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्याङ्गानिज र भिटामिन–बी प्रशस्त मात्रामा पाइन्छ। तौल नियन्त्रण, मुटुसम्बन्धी रोगको जोखिम घटाउन र पाचन प्रणाली स्वस्थ राख्न पनि कोदोका परिकार लाभदायी मानिन्छन्।पर्यटकको रोजाइ र बजारको माग बढ्दै गए पनि जुम्लाका आठवटै स्थानीय तहले रैथाने कोदो खेतीको संरक्षण र विस्तारमा पर्याप्त ध्यान नदिएको किसानको गुनासो छ। कुनै समय गाउँबस्तीभर फैलिएको कोदो खेती अहिले घट्दै गए पनि यसको बजार र मूल्य भने निरन्तर बढिरहेको छ।सरकारले धान, मकै र गहुँलाई राष्ट्रिय बाली घोषणा गरेको छ ।सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउन साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि हरेक वर्ष साउन १६ गते दिवस मनाउने निर्णय गरेको छ।





