हरित कर र लगानी बढाउन आग्रह

काठमाडौँ, २६ जेठ ।
राजनीतिकर्मी, विज्ञ र सामाजिक क्षेत्रका प्रतिनिधिले जलवायु सङ्कटको चुनौतीको सामना र मुलुकको समृद्धिका लागि हरितकर लगानी विस्तारमा जोड दिएका छन् । सहारा नेपालद्वारा आज आयोजित जलवायु परिवर्तनसम्बन्धी ‘क्याइमाक्लेभ १.० : शेयर द स्कोप, रेज द होप’ विषयक कार्यक्रममा विभिन्न वक्ताले जलवायु वित्त, लगानी, कार्बन बजार, हरित लगानी, समुदायमा आधारित जलवायु समाधान, दिगो विकास र नवप्रवर्तनलाई बहुपक्षीय सहकार्य गर्नुपर्नेमा जोड दिएका हुन् ।
प्रतिनिधिसभा सदस्य सुशील खड्काले आर्थिक वर्ष २०८३/०८४ को बजेटले ‘बिग डिपार्चर’ गरेको र अबको पाँचदेखि सात वर्षमा वार्षिक सात प्रतिशत आर्थिक वृद्धिदर हाँसिल गर्ने लक्ष्य लिइएको बताए ।
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले जलवायु सङ्कट समाधानका नीतिगत र कानुनका पक्षमा सहकार्यको दायरा बढाउन आग्रह गरे । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले अन्तरराष्ट्रिय जलवायु कोषको लगानीलाई नेपालमा बढाउनुपर्ने माग गरे ।
ऊर्जा विज्ञ डा रामप्रसाद धितालले स्वच्छ एवं वैकल्पिक ऊर्जामा लगानी र प्रयोग बढाउनुपर्नेमा जोड दिए । सहारा नेपालका महासचिव महेन्द्र गिरी र निर्देशक युवराज शिवाकोटीले जलवायु परिवर्तनको चुनौतीको सामनाका लागि सरकार, निजी क्षेत्र, विकास साझेदार र समुदायसमेतको बहुपक्षीय सहकार्य हुनुपर्नेमा जोड दिए ।






