दुई वर्षपछि भेरी अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालन

बाँके, २० साउन ।
भेरी अस्पताल नेपालगञ्जमा करिब दुई वर्षदेखि प्राविधिक कारणले अवरुद्ध रहेको सिटी स्क्यान सेवा पुनः सञ्चालनमा आएको छ । सेवा पुनः सञ्चालन भएसँगै अस्पतालमा उपचारका लागि आउने बिरामीले अब विशेषज्ञ चिकित्सकको सिफारिसअनुसार सिटी स्क्यान परीक्षण सहज, सुरक्षित र गुणस्तरीय रूपमा अस्पतालबाटै प्राप्त गर्न सक्ने भएका छन् ।
सिटी स्क्यान सेवा पुनः सञ्चालनको अवसरमा आयोजित कार्यक्रममा अस्पताल विकास समितिका कार्यवाहक अध्यक्ष डा. डक्टप्रसाद धिताल, सिटी स्क्यान विभागका प्रमुख सञ्जीव मिश्रा, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले प्राविधिक समस्याका कारण लामो समयदेखि बन्द रहेको सेवा पुनः नियमित रूपमा सञ्चालनमा ल्याइएको जानकारी दिए । उनका अनुसार अब आवश्यक परेका बिरामीले विशेषज्ञ चिकित्सकको सिफारिसअनुसार अस्पतालबाटै सिटी स्क्यान सेवा लिन सक्नेछन् ।
उनले भेरी अस्पताल जनविश्वासको केन्द्रका रूपमा स्थापित रहेकाले बिरामीलाई सम्मानजनक, सुरक्षित, गुणस्तरीय तथा समयमै स्वास्थ्य सेवा उपलब्ध गराउनु अस्पतालको प्रमुख प्राथमिकता रहेको बताए । सिटी स्क्यान सेवा पुनः सञ्चालनले उपचार प्रक्रियालाई थप प्रभावकारी बनाउने विश्वास पनि उनले व्यक्त गरे ।
अस्पतालका अनुसार सिटी स्क्यान सेवा सञ्चालनमा आएपछि बिरामीले परीक्षणका लागि निजी स्वास्थ्य संस्थामा महँगो शुल्क तिर्नुपर्ने वा नेपालगञ्ज बाहिर जानुपर्ने बाध्यता धेरै हदसम्म अन्त्य हुने अपेक्षा गरिएको छ । यसले समयमै रोग पहिचान, उपचारको प्रभावकारिता वृद्धि तथा बिरामीको आर्थिक भार घटाउन समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास अस्पतालको छ ।
यसअघि करिब दुई वर्षसम्म सिटी स्क्यान सेवा बन्द रहँदा भेरी अस्पतालमा उपचारका लागि आउने अधिकांश बिरामी निजी अस्पताल वा अन्य जिल्लाका स्वास्थ्य संस्थामा परीक्षण गराउन बाध्य थिए । सेवा पुनः सञ्चालन भएसँगै विशेषगरी आर्थिक रूपमा विपन्न तथा टाढादराजबाट आउने बिरामीले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ ।






