लुम्बिनी प्रदेश सभाःथारु समुदायका प्रथाजनित परम्परासम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

दाङ ,२१ असार ।
लुम्बिनी प्रदेश सभामा पेश भएको ‘थारु समुदायका प्रथाजनित परम्परासम्बन्धी विधेयक’ दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको छ । प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत आइतबार बसेको ११ औं बैठकमा सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले उक्त विधेयकलाई विषयगत समितिमा पठाउने प्रस्ताव पेश गर्नुभएको थियो ।
मन्त्री तिमिल्सिनाले प्रस्तुत गर्नुभएको प्रस्तावलाई सभामुख तुलाराम घर्तीमगरले निर्णयार्थ सभामा प्रस्तुत गर्नुभएको थियो । सभाले उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेपछि विधेयक दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको हो । अब सामाजिक विकास समितिले विधेयकका प्रत्येक दफामाथि विस्तृत छलफल गरी प्रतिवेदन तयार गर्नेछ । समितिको प्रतिवेदनपछि विधेयक पुनः प्रदेश सभामा पेश हुने र त्यसउपर थप छलफल तथा पारित प्रक्रियाअघि बढाइनेछ ।






