दृष्टि जोगाउने आकांक्षा

सुर्खेत ,२२ बैशाख ।

सार्वजनिक विदाका दिनबाहेक बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्मै उनको दैनिकी एउटा अस्पताल भित्र वित्छ । कतिपय अवस्थामा सार्वजनिक दिन र व्यक्तिगत समय भन्ने पनि हुँदैन । कार्यालयको हाजिरीमा नभएपनि बिरामीसँग लागि हाजिर भईहाल्नुपर्ने हुन्छ ।

एउटा यस्तो पेशा, जसले आँखाको दृष्टि बचाउन भूमिका खेल्छ । यही पेशामा निरन्तर खटिईरहेकी छन्, डा. आकांक्षा राना । आँखाको समस्या झट्ट हेर्दा सामान्य जस्तो देखिने तर लापरबाहीबाट गम्भीर समस्या पैदा हुनसक्ने संवेदनशीले समस्या हो । बेवास्ता हुँदा थुप्रै व्यक्तिले आँखाको दृष्टि नै गुमाउनुपरेका ज्वलन्त उदाहरणहरु छन् । डा. आकांक्षा यस्तै समस्या बोकिरहेका मानिसका दृष्टि जोगाउने व्यक्ति हुन् ।

उनी उपचार मात्र गर्दिनन्, आँखा स्वास्थ्यका बारेमा जनचेतनामुलक कार्यक्रम पनि चलाउँछिन् । ॅआँखामा समस्या भए खेलाँची नगर्नू’ भनेर सिकाउँछिन् । सुर्खेत वीरेन्द्रनगर–८ कालिञ्चोककी आकांक्षाले यही आफ्‌नो कर्मको योग्दानमार्फत ‘कर्णाली युथ आइकन अवार्ड’ प्राप्त गरेकी छन् । दोस्रो कर्णाली युवा महोत्सवको अवसरमा कर्णालीका विविध क्षेत्रमा समर्पित युवाहरुलाई प्रदान गरिएको अवार्डभित्र उनी पनि समावेश छन् ।

२०४६ सालमा सुर्खेतमा जन्मिएको आकांक्षाले तिलगंगा आँखा प्रतिष्ठानबाट एमडी अप्थमोलोजी (नेत्र विज्ञानमा) तहको पढाई पूरा गरी नेत्र रोग विशेषज्ञको उपाधी प्राप्त गरेकी छन् । नेपालगञ्ज मेडिकल कलेजबाट उनले एमबिबीएस गरेकी छन् । २०७६ सालदेखि आधिकारिक रुपमा सेवा प्रवेश गरेकी उनी अहिले दृष्टि गुमाउने अवस्थामा पुगिसकेका व्यक्तिको खुसी फर्काउन तल्लिन छन् ।

आकांक्षाले माध्यमिक तहसम्मको पढाई सुर्खेतमै पूरा गरेकी हुन् । सुर्खेतको एसओएस हर्मन माइनर विद्यालयबाट कक्षा १ देखि १० सम्मको पढाई पूरा गरिन् । उच्च माध्यमिक तह उनले काठमाडौंबाट विज्ञान विषयमा पूरा गरेकी हुन् । त्यस लगत्तै उनी एमबिबीएस पढ्न थालिन् । त्यसपछि केही बर्ष सेवा गरिसकेर उनी स्नातकोत्तर तहको एमडी पढ्न थालिन् ।

पछिल्लो पटक आकांक्षले तिलगंगा आँखा प्रतिष्ठानबाटै रेटिना तथा युभाइटिस विषयमा फेलोसिप पनि पूरा गरेकी छन् । उनले सुरुमा कर्णाली प्रदेश अस्पतालमा काम गरिन् । कर्णाली प्रदेश अस्पतामा उनी आउनुअघि आँखाको विभाग नै थिएन । उनी आएपछि नै आँखाको विभाग स्थापना भएको हो । प्रदेश अस्पतालमा आँखाको उपचार सुरु गर्ने पहिलो डा. नै आकांक्ष हुन् भन्दा फरक पर्दैन ।

हाल नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको सुर्खेत आँखा अस्पतालमा उनी मेडिकल डाइरेक्टरको रुपमा कार्यरत छन् । नियमित उपचारबाहेक उनी कर्णालीका विभिन्न जिल्लाहरुमा पुगेर आँखा शिविर र सचेतनामुलक कार्यक्रम पछि गर्छिन् । जुम्ला र हुम्लाबाहेक कर्णालीका आठ वटा जिल्लामा पुगेर शिविर गरेको उनले बताईन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *