रसुवाको विनासकारी बाढी अझै खुलेनन् थुनिएका हाइड्रो पावरका सुरुङ

ओम शाही

सुर्खेत, १९ भदौ ।

भोटेकोसी नदीमा १० भदौमा आएको विनाशकारी भीषण बाढीपछि जलविद्युत्‌‌ आयोजनामा फसेका व्यक्तिहरूको उद्धार कार्य जारी राखिएको छ । तर, बाढी आएको आठ दिनसम्म पनि हाइड्रोपावरका सुरुङमा फसेकाहरूको उद्धारमा प्रगति हुन सकेको छैन । ढिलो गरी सुरु भएको उद्धार कार्यमा नेपाली सेनासँगै भारतीय र चिनियाँ सुरुङ उद्धारकर्मीहरुको संयुक्त टोली संलग्न छन् ।

छिमेकी देशका अनुभवी सुरुङ विज्ञहरूले बन्द भएका सुरुङका मुख खोल्ने प्रयास जारी राखेका छन् । तर, समय घर्कंदै जादा सुरुङमार्गमा थुनिएकाहरू जीवित फर्कने सम्भावना टर्दै गएको छ । भोटेकोसीको विनाशकारी बाढीपछि सकारले नदी तटीय क्षेत्रमा उद्धारको कार्यलाई युद्धस्तरमा अघि बढाए पनि हाइड्रोपावर क्षेत्रमा फसेकाको उद्धारमा भने गम्भीरताका साथ चासो लिन सकेन ।

बाढीले जलविद्युत्‌को टनेल थुनेपछि तत्काल विदेशी सहयोग लिएर भए पनि उद्धार कार्य अघि बढाउन सरकारलाई दबाब दिइएको थियो । जलविद्युत्‌का क्षेत्रमा काम गर्ने परामर्शदाता कम्पनीले उद्धारको अनुमति मागेका थिए । भारत, चीन, कोरिया लगायतका देशले पनि सुरुङ उद्धारमा चासो देखाएका थिए । तर, तीन दिनसम्म पनि सरकारले न विदेशी सहयोग लिने विषयमा निर्णय लियो, न त हाइड्रोपावर प्रवद्र्धक तथा परामर्शदाता कम्पनीलाई नै आयोजनास्थलमा जान अनुमति दिन सक्यो ।

हाइड्रोपावर प्रवद्र्धक कम्पनीहरूले सुरुङभित्र थुनिएकाको तत्काल उद्धार गरिए जीवित रहने सम्भावना बढी हुने भन्दै अफुहरुलाई उद्धार अनुमति दिन सरकारसँग सुरुदेखि नै अनुरोध गर्दै आएका थिए । तर, सरकारले सुनुवाइ नगरेको लाङटाङ खोला जलविद्युत्‌‌ आयोजनाका महाप्रबन्धक विजयमोहन भट्टराई बताउँछन् । उनले परामर्शदाता कम्पनीको सहयोग लिएर आफैँ उद्धार गर्छौं भन्दा पनि सरकारले गर्न नदिएको दाबी गरे ।

भट्टराईले भने, ‘लाङटाङको सुरुङ अन्यको जस्तो ठूलो छैन । एक दुई सय मिटर लामो टनेलमा अक्सिजन पर्याप्त हुन्छ । यस्ता खालका सुरुङ बाढी वा अन्य कारणले थुनिएको खण्डमा मान्छे धेरै दिनसम्म पनि बाँच्ने चान्स हुन्छ । हामीले उद्धारका लागि अनुरोध गरेको गर्‍यै गर्‍यौँ, खै किन हो सरकारले गम्भीर रूपमा लिएन । ६ दिनमा आएको रेस्क्यु टिमले पनि केही गर्न सकेन । अहिले आफ्नै म्यानपावर लगाएर सुरुङमा फसेकाहरूको उद्धार गर्न सुरु गरेका छौंं ।’ उनले बुधबारबाट सुरुङमा पसेका आयोजनाका हाइड्रोमेकानिकल इन्जिनियरहरुले सुरुङमा प्वाल पारेपछि नेपाली सेनाले दुई जनाको शव निकाल्न सफल भएको बताए ।

बिहिवार आयोजनाका प्राविधिकहरुले पेनस्टक पाइपबाट एक सय ५० मिटर भित्र छिरेर सुरुङ खोलेका थिए । भट्टराईले सरकारी उद्धार टोलीले सुुरुङमा ढुंगा, लेदोसहितको माटो र पानीका कारण उद्धार गर्न नसक्ने बताएपछि बुधबार आयोजनाका हाइड्रोमेकानिकल इन्जिनियरहरुसहितको ७–८ जनाको टोली पेनस्टकबाट छिरेर सुरुङमा उद्धार कार्य सुरु गरेको थियो ।

यसअघि सरकारी उद्धार टोली लाङटाङको सुरुङमा करिव एक सय मिटर भित्र पुगेको थियो । तर, सुरूङमा ढुंगा, माटो र लेदो भरिएपछि सरकारी उद्धार टोली अगाडि जान नसकिने निष्कर्षसहित बाहिर निस्किएको थियो । सरकारी उद्धार टोलीको डेग नचलेपछि आयोजनाले बुधबार आफ्‌ना प्राविधिकहरुलाई सुरुङमा पसाएको थियो । सरकारले आयोजानका प्रवद्र्धक र परामर्शदाता कम्पनीलाई उद्धारको अनुमति समयमै नदिदा लाङटाङमा मात्र होइन बाढी प्रभावित सुरुङमा फसेकाहरु जिवित फर्कने आशा भने अब साघुरो बन्दै गएको छ ।

उद्धारले गति लिएको खण्डमा परिवारका सदस्यहरूले आफ्ना मान्छे जीवित फर्कन सक्ने झिनो आशा पालेर बसेका छन् । निर्माणाधीन त्रिशूली–३ बी जलविद्युत्‌‌ आयोजनाको सुरुङभित्र थुनिएका बझाङको जयपृथ्वी नगरपालिका–८ स्थायी घर भई हाल चन्द्रागिरी नगरपालिका–१० बस्दै आएका हेमन्तराज जोशीकी श्रीमती हृदयश्वरी जोशीले आठ दिनयता श्रीमान् जीवितै फर्कने आशा मारेकी छैनन् ।

उनका श्रीमान् हेमन्तराज जोशी निर्माणाधीन त्रिशूली– ३ बी जलविद्युत्‌‌ आयोजनामा इन्जिनियरका रूपमा कार्यरत थिए । उनले सरकारसँग सुरुङमा फसेका श्रीमान्‌को चाँडो उद्धार गरिदिन हारगुहार गरिरहेकी छन् । ‘म मात्रै होइन, मजस्ता पीडामा परेका अरु परिवार पनि छन् । सबैका आफन्त छन्, सबैका घरमा मानिसहरू पर्खिरहेका छन् । उनीहरूलाई राज्यले तत्काल सुरुङबाट निकालोस्,’ उनले भनिन् ।

संसदमा सरकारको चर्को आलोचना

बाढीबाट प्रभावित क्षेत्रका हाइड्रो पावरमा उद्धार गर्न असफल भएपछि संघीय संसदमा सरकारको चर्को आलोचना भएको छ । बिहिबारको संसद बैठकमा बोल्ने अधिकांश सांसदले सुरुङ उद्धारमा सरकारले प्रभावकारी भूमिका निभाउन नसकेको भन्दै आलोचना गरे । सरकारको विरोध गर्नेमा सत्ता पक्षकै सांसद पनि छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कासंसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले जलविद्युत आयोजनाबाट जीवित व्यक्तिहरूको उद्धार गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले अहिलेसम्म पनि संवेदनशील भएर सुरुङ खोल्न प्रयास नगरेको उनको आरोप लगाए । सांसद शाहीले बाढीग्रस्त क्षेत्रका सात टनेलमध्ये पाँच वटा टनेलमा कुनै काम नगरेको दाबी गरे ।

‘सबै गरिसक्यो भनेर सामाजिक सञ्जालमा हल्ला गरिएको छ । तर, ७ वटा टनेलमध्ये दुईवटा टनेलमा बल्ल उद्धार टोली पुगेको छ । पाँच वटा टनेलमा अहिलेसम्म केही भएको छैन,’ उनले भने । उनले विज्ञहरूसँग छलफल गर्न प्रधानमन्त्रीले ढिलाइ गरेको बताए । यस्तै, सत्तारुढ दल राष्टिर्‍य स्वतन्त्र पार्टी (रास्वपा) का रास्वपा सांसद दीपक बोहराले बाढीमा हराएका व्यक्तिहरूको खोजीमा सरकारले तदारुकता देखाउनुपर्ने बताए ।

उनले खोजी कार्यमा ढिलाइ भएको हो कि भन्ने प्रश्न उठेको बताए । ‘कञ्चनपुर विनोद प्रसाद पाण्डे त्रिशूली थ्री ए मा हुनुहुन्छ । त्रिशूली थ्री ‘ए’मा खोल्न मिल्ने हो कि नमिल्ने हो ? सरकारले सक्ने हो कि होइन ? त्यो सुरुङमा मान्छे जीवित छन् कि छैनन्, कसले भन्दिने हो खासमा ? विदेशीहरू कोही सहयोग चाहिने हो कि ? कताबाट आउने हो कि ? सरकारले बताइदिनपर्‍यो,’ उनले भने । यस्तै, नेपाली कांग्रेसका सांसद खड्कबहादुर बुढाले पनि सुरुङ उद्धारमा राज्यले गम्भीर भुल गरेको तर्क गरे ।

के छ सुरुङी उद्धारको प्रगति ?

उद्धारको नेतृत्व गरिरहेको नेपाली सेनाका अनुसार बिहिवार लाङटाङ हाइड्रोमा विदेशीसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र करिब एक सय ५० मिटरसम्म प्रवेश गरी दुई स्थानमा सानो–सानो होल बनाई खोजी कार्य गरिरहेको जनाएको छ । त्यस्तै, चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले खोज तथा उद्धारको कार्य गरिरहेको छ ।

त्रिशूली ३ ए मा ९३ जनाको संयुक्त उद्धार टोलीले पाँच वटा डोजरको प्रयोग गरी रातभर टनेलको आउटलेटमा भरिएको लेदो र माटो हटाउने काम गरिएको छ । साथै, आउटलेटको होललाई ठुलो बनाउन सुरुङको माथिल्लो भागमा ब्लाष्टिङ्ग गरी सफा गर्ने कार्य भइरहेको नेपाली सेनाले फेसबुकमार्फत जानकारी दिएको छ ।

त्यस्तै, त्रिशूली–३ बीमा नेपाली सेनाका ८९, गैरसैनिक तीन र आयोजनाका प्रबन्ध निर्देशक सहितको संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरी खोजि कार्य जारी राखेको छ । उर्जा उत्पादनको हव मानिने रसुवा र नुवाकोट जिल्लामा भोटेकोसीको बाढीले सञ्चालनमा रहेका आठ र निर्माणाधीन चार गरी १२ जलविद्युत्‌‌ आयोजना रहेकोमा ११ वटामा ठूलो क्षति पुर्‍याएको छ, जसमा दुई सय ८१ मेगावाटका आयोजना सञ्चालनमा थिए भने तीन सय ८८ मेगावाटका आयोजनाहरू निर्माणाधीन अवस्थामा थिए ।

रसुवा र नुवाकोट जिल्लामा रहेका आयोजनाबाट उत्पादन हुने ६ सय ६९ मेगावाट बिजुली बाढीबाट प्रभावित भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले उपलब्ध गराएको तथ्यांकअनुसार क्षतिग्रस्त ११ वटा सञ्चालित र निर्माणाधीन जलविद्युत्‌‌ गृहका टनेलमा सयौँ कामदार र प्राविधिकहरू फसेका छन् ।

जलविद्युत्‌‌ परियोजनामा फसेका मध्ये हालसम्म ३ सय ६१ जनाको उद्धार गरिएको छ भने नौ सय ४७ जना अझै हराइरहेका छन् । रसुवामा निर्माणाधीन दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली– १ मा पाँच सय ७६, एक सय ११ मेगावाटको रसुवागढी जलविद्युत्‌‌ आयोजनामा ९३, एक सय २० मेगावाटको रसुवा–भोटेकोसीमा कार्यरत चार जना सम्पर्कविहीन छन् । त्यस्तै, परीक्षणको चरणमा रहेको २० मेगावाटको लाङटाङ खोलामा २५, २२ मेगावाटको चिलिमेमा आठ, पाँच मेगावाटको मैलुङ खोलामा सात जना सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ ।

नुवाकोटमा सञ्चालनमा रहेका र निर्माणाधीन गरी ६ आयोजनामा एक सय ६८ जना सम्पर्कविहीन छन्, जसमा २४ मेगावाटको त्रिशूली जलविद्युत्‌मा एक, १४.१ मेगावाटको देवीघाटमा एक, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ए मा ४२, ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी मा एक सय २२, १५.६ मेगावाटको मिडल त्रिशूली गंगा जलविद्युत्‌‌ आयोजनाका दुई जना सम्पर्कविहीन छन् ।

मृतकको संख्या १२ सय नाघ्यो

विनाशकारी बाढीपछि अझै चार हजार दुई सय १६ जना सम्पर्कविहीन छन् । बाढीमा परी हालसम्म मृत्यु हुनेको संख्या एक हजार दुई सय ५२ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार रसुवामा एक सय २७, नुवाकोटमा एक सय ७७, धादिङमा ६०, गोरखामा ६९, नवलपरासी पूर्वमा दुई सय १८, नवलपरासी पश्चिममा दुई सय आठ, तनहुँमा ३८ र चितवनमा तीन सय ५५ जनाको शव फेला परेको छ ।

हवाई उद्धारलाई उच्च प्राथमिकता दुर्गम तथा सडक सम्पर्क विच्छेद भएका क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्‍याउन नेपाली सेनाले हवाई उद्धारलाई उच्च प्राथमिकताका साथ सञ्चालन गरिरहेको छ । सेनाले हालसम्म चार हजार ९१ नेपाली र दुई सय ७३ विदेशी नागरिकको हवाई उद्धार गरेको जनाएको छ ।

खोज तथा उद्धारका क्रममा नेपाली सेनाले हालसम्म सात सय १५ पटक हवाई उडान गरेको छ । सडक सम्पर्कविच्छेद भएका र दुर्गम क्षेत्रमा हवाई माध्यमबाट उद्धारसँगै राहत सामग्री पुर्‍याउने काम जारी रहेको प्राधिकरणले जनाएको छ । भोटेकोसी नदीमा आएको बाढीले एकैपटक ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि राज्यका सुरक्षा निकाय, स्थानीय तह र विभिन्न सरकारी तथा गैरसरकारी निकाय निरन्तर उद्धार, उपचार र राहत व्यवस्थापनमा सक्रिय छन् ।

रसुवाको विनासकारी बाढी  अझै खुलेनन् थुनिएका हाइड्रो पावरका सुरुङ

भोटेकोशी बाढी : कञ्चनपुरबाट एक करोड ३२

रसुवाको विनासकारी बाढी  अझै खुलेनन् थुनिएका हाइड्रो पावरका सुरुङ

कोहलपुरका १३ निष्क्रिय सहकारीको दर्ता खारेजी हुँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *