जुम्लामा महिला उद्यम: सातु, अचार र पाउरोटीबाट आत्मनिर्भर

गाेल्डेन बुढा 

जुम्ला ,२१ बैशाख 

जुम्लामा पछिल्लो समय महिला उद्यमशीलताको सशक्त उदाहरणहरू देखिन थालेका छन्। सीमित स्रोतसाधन, भौगोलिक कठिनाइ र अवसरको अभावका बीच पनि यहाँका महिलाहरूले स्थानीय उत्पादन र सीपलाई व्यवसायमा रूपान्तरण गर्दै आत्मनिर्भरताको बाटो समातेका छन्।जुम्लाकाे तातोपानी गाउँपालिका–२, डागीबाड गाउँकी ६७ वर्षीया अमृता रावल यतिबेला अर्गानिक जुम्ली जौँको सातु उत्पादनमा व्यस्त छिन्। उमेरले ढल्किँदै गए पनि उनको ऊर्जा र कर्मशीलता भने घटेको छैन। विगत तीन वर्षदेखि ‘उत्पादक सिर्जनशील कुटानी, पिसानी पेलानी उद्योग’ दर्ता गरी सञ्चालन गर्दै आएकी उनले “अर्गानिक खाऔं, स्वस्थ रहौँ” भन्नेसन्देशसँगै स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने अभियान नै थालेकी छन्।

घरमै उत्पादन हुने जुम्ली जौँलाई प्रशोधन गरेर सातु बनाउने उनको प्रयास जीविकोपार्जनमा सीमित छैन, यसले स्थानीय उत्पादनको प्रवर्द्धन र ग्रामीण अर्थतन्त्रको सुदृढीकरणमा पनि टेवा पुर्‍याइरहेको छ। आफ्नै खेतबारीमा उत्पादन भएको जौँ पर्याप्त नभएपछि उनी छिमेकी गाउँबाट खरिद गरेर ल्याउँछिन् र प्रशोधन गरी बजार पठाउँछिन्। यसले स्थानीय किसानलाई समेत बजार सुनिश्चित गरिरहेको छ।रावलको आम्दानी क्रमशः बढ्दो क्रममा छ। पहिलो वर्ष ८० हजार रुपैयाँ आम्दानी गरेकी उनले दोस्रो वर्षमा एक लाख ३० हजार रुपैयाँ कमाइन्। चालू आर्थिक वर्षमै पनि एक लाख ३० हजार रुपैयाँ बराबरको बिक्री भइसकेको छ भने वर्षको अन्त्यसम्म यो रकम अझै बढ्ने उनको अपेक्षा छ। सामान्यतया उनले वार्षिक दुई लाख ५० हजारदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गर्दै आएकी छन्।

विशेषगरी दसैं–तिहारको सिजनमा रारा अवलोकनका लागि आउने पर्यटकको चाप बढ्दा सातुको माग उच्च हुने गरेको उनले बताइन्।उनले उत्पादन गरेको सातु जुम्ला बजारका विभिन्न अर्गानिक पसल तथा कोसेली घरमार्फत बिक्री हुने गरेको छ। जुम्ला बसपार्कस्थित अर्गानिक रावत पसल, विमानस्थल अगाडिको कोसेली घर र चन्दननाथ मन्दिर अगाडिको अर्गानिक मिनी मार्केट उनका प्रमुख बिक्री केन्द्र हुन्। “जतिसुकै अर्डर आए पनि पुर्‍याउने प्रयास गर्छु,” उनले भनिन्, “बजारको समस्या छैन, उत्पादन भए जति सबै बिक्री हुन्छ।”रावलले ८ सय ग्रामको एक पाकेट सातु २ सय ३० रुपैयाँमा बिक्री गर्दै आएकी छन्। जुम्ली जौँ प्रतिकिलो ६० देखि ७० रुपैयाँमा खरिद गर्नुपर्ने अवस्था भए पनि मूल्य र बजारको स्थिरताले उनलाई व्यवसायमा टिकाइरहेको छ। ग्रामीण भेगमा सीमित स्रोतसाधनबीच सुरु भएको यो सानो उद्योग अहिले आत्मनिर्भरताको उदाहरण बन्दै गएको छ। उमेर ढल्किए पनि कामप्रतिको समर्पण, स्थानीय स्रोतको सदुपयोग र बजारको उचित पहिचानले रावललाई सफल उद्यमीको रूपमा स्थापित गरिरहेको छ। उनको अनुभवले देखाउँछ, सही सोच, निरन्तर मेहनत र परिवारको साथ भए सानो प्रयास पनि दिगो आम्दानीको आधार बन्न सक्छ।यस्तै जुम्लाकाे चन्दननाथ नगरपालिका–५ की ४७ वर्षीया सखी कठायत ऊर्जा र आत्मविश्वासका हिसाबले युवालाई समेत उछिन्छिन्। आफ्नै हातले मरमसला तयार पार्ने, अचार बनाउने र स्थानीय परिकारलाई व्यवसायमा रूपान्तरण गर्ने उनको यात्राले जुम्लामा छुट्टै पहिचान बनाएको छ। “उनका हातको स्वाद नै फरक” भन्ने ग्राहकको प्रतिक्रिया उनलाई निरन्तर अघि बढ्ने प्रेरणा बनेको छ।सखीले सामान्यदेखि मौसमी फलफूल र जडिबुटीका अचार उत्पादन गर्छिन्। उनका उत्पादनमा कुखुराको मासुको अचार, स्याउ, जडिबुटी (पदमचाल) र टिमुर छोप प्रमुख छन्। उनले बनाउने अचारमा कुनै किसिमको रसायन प्रयोग नहुने दाबी गर्छिन्। यही मौलिकता र स्वादका कारण उनी ‘अचार दिदी’को नामले चिनिन थालेकी छन्। “धेरैले मलाई अचार दिदी नै भन्छन्,” उनी हाँस्दै भन्छिन्।चार वर्षअघि अचार, नमकिन र आलु चिप्स व्यवसाय सुरु गरेकी सखी सुरुमा घरपरिवारमै सीमित हुन चाहिनन्।

आत्मनिर्भर बन्ने चाहनाले उनलाई उद्यमशीलताको बाटोमा डोर्‍यायो। उनले बजार सर्वेक्षण गर्दै स्थानीय बाली कोदोको नमकिन, अचार र आलु चिप्स उत्पादन सुरु गरिन्। बजारमा आयातित अचारको बाहुल्यता देखेपछि स्थानीय उत्पादनको सम्भावना पहिचान गर्दै उनले यही क्षेत्रमा केन्द्रित हुने निर्णय गरिन्।काम गर्न उमेरले नछेक्ने विश्वाससहित उनले ‘लक्की आलु चिप्स तथा अचार नमकिन उद्योग’ दर्ता गरी व्यवसायलाई औपचारिकता दिइन्। बिहान–बेलुका घरधन्दा सकेर दिउँसो उत्पादनमा जुट्ने उनको दिनचर्या छ। “मन भए जसरी पनि काम गर्न सकिन्छ। बाँकी समयलाई अचार र नमकिनमा लगाउनु समयको सदुपयोग पनि हो,” उनले सुनाइन्।उनका उत्पादनको मूल्य पनि आकर्षक छ। कुखुराको मासुको अचार प्रतिबट्टा एक हजार रुपैयाँमा बिक्री हुन्छ। रैथाने बाली कोदोको नमकिन प्रतिपाकेट १ सय २० रुपैयाँ, जडिबुटी अचार (पदमचाल), टिमुर छोप र स्याउका अचार प्रतिबट्टा ३ सय रुपैयाँमा बिक्री भइरहेको छ भने आलु चिप्स ६० रुपैयाँ प्रतिपाकेटमा उपलब्ध छन्।आर्थिक रूपमा पनि उनले सन्तोषजनक प्रगति गरेकी छन्। अघिल्लो वर्ष उनले दुई लाख ९० हजार रुपैयाँ बराबरको अचार, ६० हजार रुपैयाँको नमकिन र ३० हजार रुपैयाँको आलु चिप्स बिक्री गरिन्। चालू आर्थिक वर्षमा अहिलेसम्म एक लाख ७० देखि ८० हजार रुपैयाँसम्मको कारोबार भइसकेको छ र बिक्री अझै जारी छ।उनका ग्राहकहरू कहिलेकाहीँ घरमै पुगेर अर्डर गर्ने गर्छन्। माग बढ्दो छ।जुम्लामा मात्र सीमित नभई उनका उत्पादन काठमाडौँ, नेपालगन्ज र सुर्खेतसम्म पुगेका छन्।यस्तै जुम्लाकाे चन्दननाथ नगरपालिका–६, छिना गाउँकी २८ वर्षीया लक्ष्मी थापा अहिले आफ्नै सीपको भरमा आत्मनिर्भर बनेकी छन्। विगत दुई वर्षदेखि आलु चिप्स र विभिन्न प्रकारका अचार उत्पादन तथा बिक्री गर्दै आएकी थापाको दैनिकी यतिबेला व्यस्त छ।गाउँमै ‘देविदान आलुचिप्स उद्योग’ दर्ता गरेर सञ्चालन गरिरहेकी उनले स्थानीयस्तरमै उत्पादन गर्दै जुम्ला सदरमुकाममा बजार विस्तार गरेकी छन्। उनले उत्पादन गर्ने आलु चिप्स १५, ३० र ५० रुपैयाँका प्याकेटमा बिक्री हुन्छ भने मासुको अचार आधा केजी (बट्टा) एक हजार रुपैयाँमा बिक्री भइरहेको छ। त्यस्तै मुला–गाजरको अचार प्रतिकेजी ४ सय रुपैयाँमा बेच्ने गरेको उनी बताउँछिन्।औपचारिक तालिम नलिएकी थापाले युट्युबमार्फत सीप सिकेको बताउँछिन्। “कुनै तालिम लिएको छैन, युट्युब हेरेर सिकेँ,” उनले भनिन्, “सीप भए बाँच्न सजिलो हुन्छ।”१२ कक्षा उत्तीर्ण थापाले मासिक १६ देखि २० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएकी छन्।

गतवर्षहरुमा उनलेे बार्सिक १ लाख ७० देखि २ लाख ३० रुपैयाँ आम्दानी गर्छिन्। सात जनाको परिवारको खर्च धान्न सहज भएको उनको अनुभव छ। उत्पादनको माग बढ्दो रहेकाले आपूर्ति गर्नसमेत चुनौती भइरहेको उनी सुनाउँछिन्। “बजारको अभाव छैन, मागअनुसार पुर्‍याउनै सकिँदैन,” थापाले भनिन्।यता जुम्लाकाे सदरमुकाम चन्दननाथ नगरपालिका–५ कालेखोलीमा ‘सन्देश एन्ड जनेस पाउरोटी उद्योग’ छ। यही उद्योगमा उत्पादित पाउरोटी र चाउमिन बजारसम्म पुर्‍याउन ३२ वर्षीया रविना बुढालाई भ्याइनभ्याइ हुन्छ। पातारासी गाउँपालिका–३ हुरीमोहरी गाउँकी बुढा दैनिक ३० देखि ४० हजार रूपैयाँसम्मको चाउमिन र पाउरोटी बेच्छिन्।उनले उद्योग सुरु गरेको पाँच वर्ष भयो। बुढा आफैं अटोरिक्सा चलाउँछिन्। अटोरिक्सा आफैं चलाउन सक्ने भएकाले पनि आफ्नो उद्योगमा उत्पादित सामान बजारसम्म लैजान उनलाई खासै समस्या छैन। उद्योगमा पाउरोटी, क्रिमरोल, ब्रेड र चाउमिन बनाइन्छ। ताजा पाउरोटी प्रतिकेजी ५०, ब्रेट प्रतिकेजी ५०, क्रिमरोल प्रतिकेजी ५० र चाउमिन प्रतिकेजी एक सय २० रुपैयाँमा बिक्री गर्दै आएकी छिन्। कामदारको ज्याला र कच्चा पदार्थ ल्याएबापतको रकम कटाएर वार्षिक १० लाख रूपैयाँ हाराहारीमा बचत हुने गरेको उनले बताइन्। पति डिलबहादुर पनि रातदिन नभनेर रविनालाई उद्योग सञ्चालन गर्न सघाइरहेका छन्।रविना कक्षा १० सम्म मात्रै पढेकी हुन्। उनी एकाविहानै आफ्ना उत्पादन लिएर पसल–पसलमा पुग्छिन्। उनले भनिन्, “साढे ६ लाखमा अटो किने, अहिले अटोको लगानी पुर्ती गरिसकेको छु।

Leave a comment

Your email address will not be published. Required fields are marked *