शिक्षक–विद्यार्थी मिलेर धान रोपाइ : व्यवहारिक कृषि शिक्षामा कनकमुनी माबिको उदाहणिय पहल

कपिलवस्तु,१५ असार ।
कृषिप्रधान मुलुकमा व्यवहारिक शिक्षाको खाँचो बढिरहेका बेला कनकमुनी माध्यमिक विद्यालय, जगदीशपुर–९, कपिलवस्तुले कृषि शिक्षामा जीवन उपयोगी अभ्यासलाई जोड दिँदै विद्यालयकै खेतमा धान रोपाइ कार्यक्रम सम्पन्न गरेको छ।

आइतबार आयोजित विशेष कार्यक्रममा कक्षा ९ र १० मा कृषि विषय अध्ययनरत विद्यार्थीहरू र शिक्षकहरू गरी ९० जनाभन्दा बढीको सहभागिता रहेको थियो। विद्यालयले आफ्नो स्वामित्वमा रहेको ५ कठ्ठा जमिनमा राष्ट्रिय धान दिवसको अवसर पारेर रोपाइ कार्यक्रम सञ्चालन गरेको हो।

विद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर खत्रीका अनुसार विद्यालयले केवल किताबी ज्ञानमा सीमित नरही व्यवहारिक सीप विकास गर्न विद्यार्थीलाई खेतमै लगेर सिकार गराउने उद्देश्यले यस्तो कार्यक्रम गर्दै आएको छ।

“कृषिप्रधान देशमा व्यवहारिक ज्ञान अनिवार्य छ। धान रोपाइ र दही–च्युरा हाम्रो संस्कृतिसँग समेत जोडिएको विषय हो। विद्यार्थीले यसको महत्त्व बुझून् भनेर हामीले यस्ता गतिविधि गर्दै आएका छौं,” उहाँले भन्नुभयो।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले पनि यस्तो व्यवहारिक कार्यक्रमले आफूहरूलाई नयाँ कुरा सिक्न पाउने अवसर मिलेको बताएका छन्। “शिक्षकहरूसँगै खेतमा काम गर्दा रमाइलो मात्रै होइन, कृषिका धेरै पक्षहरू बुझ्न पाइयो,” रोपाइँमा सहभागी विद्यार्थी महिमा यादबले भन्नुभयो।

विद्यालयले कृषि शिक्षालाई अझ प्रभावकारी बनाउने उद्देश्यले माछा पालन, तरकारी खेती र सिजन अनुसार गहुँ तथा धान खेती पनि गर्दै आएको छ। विद्यालयको कृषि प्रयोगात्मक कार्यक्रमलाई सशक्त बनाउन पोखरी निर्माण र नियमित क्रियाकलाप पनि सञ्चालनमा छन्।

शैक्षिक गुणस्तरसँगै व्यवहारिक सिकाइमा जोड दिँदै आएको विद्यालयप्रति अभिभावकहरूको पनि सकारात्मक प्रतिक्रिया छ। उनीहरू भन्छन्, “विद्यार्थीहरूले सिकेको सीप घरमा समेत प्रयोग गर्न थालेका छन्, यो परिवर्तनले हामीलाई खुसी तुल्याएको छ।”

विद्यालयले धान खेतीबाट प्राप्त हुने आम्दानीलाई केही हदसम्म विद्यालय विकास र विद्यार्थीको अतिरिक्त क्रियाकलापमा प्रयोग गर्ने योजना बनाएको छ।

कृषिशिक्षालाई व्यवहारिक अभ्यासमा रूपान्तरण गर्ने विद्यालयको यस्तो प्रयास उदाहरणीय मात्र नभई भविष्यका युवा कृषक उत्पादन गर्ने दिशातर्फको कदमसमेत मानिएको छ।

 

शिक्षक–विद्यार्थी मिलेर धान रोपाइ : व्यवहारिक कृषि शिक्षामा कनकमुनी माबिको उदाहणिय पहल

बाँकेमा धान रोपिरहेको खेतमा चट्याङ लागेर एक

Leave a comment

Your email address will not be published. Required fields are marked *