वीरेन्द्रनगरको ड्रिम प्रोजेक्ट भेरी पम्पिङ रुख कटानको प्रक्रिया सुरु, पाइप लाइन बिछ्याइँदै

सुशील खड्का
सुर्खेत, १२ साउन ।
सुर्खेतको सदरमुकाम मात्रै होइन वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानीसमेत हो । प्रदेश राजधानीको शहर वीरेन्द्रनगर १० वटै जिल्लाका नागरिकको रोजाइँको शहर पनि हो । शहरीकरणतर्फ उन्मुख वीरेन्द्रनगरमा जनसंख्या बढ्दो क्रममा छ । स्थायी रुपमा बसोबासीको संख्या झण्डै दुई लाखसहित अस्थायी जनसंख्या जोड्ने हो भने पाँच लाख पुगिसकेको छ ।
अहिले वितरण गरिँदै आएको झुप्रा, खरी बोरी र अन्य साना खोलाहरुको पानीले वर्तमान जनसंख्यालाई सहज आपूर्ती हुन सकिरहेको छैन । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार यसअघि दुई लाख जनसंख्या रहेको उपत्यकामा ३५ हजार घरधुरी थिए । उक्त जनसंख्यालाई सहज खानेपानीको आपुर्ति गर्नका लागि करिब दुर्य सय ७८ लिटर प्रतिसेकेण्ड पानी आवश्यक पर्ने भएपनि प्रयोगमा ल्याइएका स्रोतहरुबाट जम्मा एक सय २८ लिटर प्रतिसेकेण्ड पानी मात्र उपलब्ध हुने गरेको छ ।
सुर्खेत उपत्यकामा हालसम्म ३५ हजार घरधुरीमध्ये हालसम्म २० हजार घरधुरीमा मात्रै खानेपानीको धारा जडान भएको छ भने बाँकी घरधुरीमा पानी वितरण हुन सकेको छैन् । अहिले प्रयोगमा आइरहेको पानी आवश्यक भन्दा ५४ प्रतिशतले कम छ । वीरेन्द्रनगरमा खानेपानीको आपूर्तीका लागि हाल झुप्रा खोलाबाट ८६ लिटर प्रतिसेकेण्ड, खरिखोला बोरीखोलाबाट ३०, खोर्के खोलाबाट १० र बुलबुले काटकुवाँबाट ४ गरि एक सय ५७ लिटर प्रतिसेकेण्ड पानी ल्याई आपूर्तीको व्यवस्था मिलाइएको छ ।
वीरेन्द्रनगर नगरपालिकाले ३० वर्ष पछिको जनसंख्यालाई मध्यनजर गरी ‘भेरी पम्पिङ’ आयोजनाको निर्माण तिव्रगतिमा गरिहेको छ । २०७७ बाट ‘भेरी पम्पिङ’ आयोजनाका लागि बजेट विनियोजन हुँदै आएको छ । दुई चरणका लागि हुने आयोजनाको यो कामको पहिलो चरणका लागि चार अर्ब ६५ करोड ३० दाख ६६ हजार बराबरको बजेटबाट ठेक्का व्यवस्थापन गरेर काम भइरहेको छ ।
पहिलो चरणमा नदीबाट पानी पम्पिङ गर्ने, ट्याङ्की बनाउनेदेखि पानी वितरणसम्मको काम जारी रहेको छ । आयोजनाले भेरी नदीमा तयार गरिने इन्टेकबाट सात किलोमिटर दूरीमा पम्पिङ गरी वीरेन्द्रनगर नगरपालिका–११, अमृत डाँडामा पानी ल्याउनेगरी काम भइरहेको वीरेन्द्रनगर आयोजना कार्यान्वयन इकाईका प्रमुख (सीडीई) सञ्जीवकुमार शाह बताउँछन् ।

‘अहिले एयरपोर्ट चोक र गाग्रेताल क्षेत्रमा ट्यांकीसम्म पानी पु¥याउने पाइपलाइन विस्तारको काम भइरहेको छ,’ साह भन्छन्, ‘यसअघि वितरण प्रणाली रहेका स्थानमा ट्यांकी निर्माण अन्तिम चरणमा छ भने भेरी नदीदेखि अमृत डाँडासम्मको सात किलोमिटर क्षेत्रमा रुख कटानको प्रक्रिया सक्दैछौं ।’ पहिलो चरणमा भेरी नदीमा इन्टेक निर्माण, पानी प्रशोधन प्रणाली, रिजर्भ ट्याङ्की निर्माण र अमृत डाँडादेखि वीरेन्द्रनगरसम्मको मुख्य पानी प्रसारण लाइन विस्तार गर्ने लक्ष्य छ ।
दोस्रो चरणमा उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारण लाइन विस्तार गरिनेछ । भेरीको पानी चार सय मिटर उचाइमा प्रशोद्धन ट्याङ्की (ट्रिटमेन्ट प्लान्ट) मा खसालिने छ । त्यसपछि करिब सात किलोमिटर लामो पाइपका माध्यमबाट अमृत डाँडामा निर्माण गरिने रिजर्भ ट्याङ्कीमा पानी खसालिने छ । त्यसपश्चात पाँच सय ५० मिलिमिटर क्षमताको पाइप अमृत डाँडामा राखेर मुख्य ट्याङ्कीसम्म ल्याइने छ ।
अमृत डाँडामा रहने ट्याङ्की १२ हजार घनमिटरको हुनेछ । अबको पाँच वर्षभित्र भेरीको पानी वीरेन्द्रनगरमा आइपुग्ने लक्ष्य राखिएको छ । आयोजनाबाट वीरेन्द्रनगरको पाँच लाख जनसंख्या लाभान्वित हुनेछ । आयोजना सम्पन्न नहुञ्जेलसम्म भइरहेका संरचना र पम्पिङ गरिएको पानीबाट खानेपानी सहज बनाइने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।
गत भदांै महिनामा चिनियाँ कम्पनी सिंज्याङ टम्र्स इन्टरनेशनल इकोनोमी एण्ड टेक्निकल को–अपरेसनले यो आयोजना निर्माणको जिम्मा पाएर काम गरिरहेको हो । कम्पनीसँग तीन अर्ब पाँच करोड आठ लाख १५ हजार दुई सय ८० दशमलव ६१ लागतमा सम्झौता भएको हो । आयोजना कार्यान्वयनमा साउन महिना भित्र रुख कटान सक्ने लक्ष्य राखिएको छ ।
उपत्यका भित्र पाइप लाइन विस्तार जारी रहेकाले मुख्य प्रसारण लाइनको काम दशैं अगावैबाट शुरु हुने आयोजनाले जनाएको छ । लामो समयदेखि चर्चामा रहेको भेरी पम्पिङ आयोजना कार्यान्वयनमा आएसँगै वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या समाधान हुने अपेक्षा गरिएको छ । दुई चरणमा काम हुने आयोजनाको पहिलो चरणमा पानीको बहावलाई डाइभर्ट गरी नदी सतहदेखि करिब सात किलोमिटर गहिरा दुई वटा इन्टेक निर्माण गरिने छ ।
दोस्रो चरणमा उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारण लाइन विस्तार गरिनेछ । तीन वर्ष निर्माणको समयावधि रहेको आयोजना निर्माण सम्पन्न भइसकेपछि पनि थप तीन वर्ष आयोजनाको सञ्चालन र व्यवस्थापनको जिम्मा निर्माण कम्पनीले लिनेछ । त्यस पश्चात् आयोजनाको सम्पूर्ण स्वामित्व वीरेन्द्रनगर नगरपालिकाको मातहतमा आउने छ ।






