सम्पादकीय : वीरेन्द्रनगरमा नगर प्रहरीको खाँचो

कर्णाली प्रदेशको राजधानी पालिकाले वीरेन्द्रनगर नगरपालिकाले आफ्नै प्रहरी भर्ना गरेको छ । संविधानले दिएको अधिकार प्रयोग गरी वीरेन्द्रनगरले नगर प्रहरी भर्ना गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले नगर र गाउँपालिकालाई नगर प्रहरी गठन गर्ने अधिकार दिएको छ । संविधानको अनुसूचि–८ मा स्थानीय तहको एकल अधिकार सूचि अन्तर्गत नगर प्रहरी रहेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद–३ को दफा ११(२) मा नगर प्रहरीको गठन, सञ्चालन, व्यवस्थापन, नियमन तथा नगर प्रहरीसम्बन्धी नीति, कानुन र मापदण्ड कार्यान्वयन गर्ने उल्लेख छ । गाउँपालिका वा नगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण, स्थानीयस्तरमा हुने सभा समारोह, परम्परा, जात्रा, चाडपर्वको सुरक्षा व्यवस्थापन, स्थानीय बजार तथा पार्किङ स्थलको रेखदेख व्यवस्थापन, गाउँ वा नगर सरसफाईसम्बन्धी मापदण्डको कार्यान्वयन गर्ने अधिकार दिइएको छ ।

त्यसैगरी न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन, सार्वजनिक, ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा, विपद् व्यवस्थापनसम्बन्धी खोज, उद्वार, राहत तथा पुनःस्थापना, अनधिकृत विज्ञापन तथा होडिङ बोर्ड नियन्त्रण कार्यमा नगर प्रहरी परिचालन गर्न सक्ने अधिकार संविधानले दिएको छ ।

प्रदेश राजधानी भएसँगै वीरेन्द्रनगरमा जनघनत्व बढ्दो छ । नगर क्षेत्रका अधिकांश सडकका फुटपाथमा अव्यवस्थित व्यवसायका कारण पैदल यात्रुलाई निकै सास्ती व्यहोर्नु परेको छ । नगर क्षेत्रमा अव्यस्थित सवारी पार्किङका कारण नगर क्षेत्रको ट्राफिक व्यवस्थापनसमेत अस्तव्यस्त हुने गरेको छ । नगर क्षेत्रका सार्वजनिक स्थलमा निर्माण गरिएका संरचना तथा सरकारी जग्गाको सुरक्षामा समेत चुनौती छ ।

वीरेन्द्रनगरमा चल्ने अटोहरुको मनपरीले यात्रुहरु दैनिक ठगिरहेका छन् । वीरेन्द्रनगरले भर्ना गरेका नगर प्रहरीहरु मुख्य गरी यीनै समस्या समाधान गर्न परिचालित हुनुपर्दछ । नगरपालिकाले निर्माण गरेको नीति, कानून, मापदण्ड तथा निर्णय कार्यान्वयन गराउन नगर प्रहरी परिचालन गरिनु पर्दछ । नगर क्षेत्रका सरकारी सम्पतीको सुरक्षा र संरक्षण, पार्क, नगर क्षेत्रमा हुने सभा, समारोह, परम्परा तथा जात्रा चाडपर्वको सुरक्षा व्यवस्थापन चुस्त राख्नु प्रहरीको मुख्य दायित्व हो ।

बजार तथा पार्किङ्ग स्थलको रेखदेख तथा व्यवस्थापन, सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन, सार्वजनिक ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षामा प्रहरीको भुमिका महत्वपूर्ण रहन्छ । विपद् व्यवस्थापन सम्बन्धी खोजी, उद्दार, राहत तथा पुनस्र्थापना, अनाधिकृत विज्ञापन तथा होडिङ्ग बोर्ड, छाडा पशु चौपाय र अनाधिकृत निर्माण तथा सार्वजनिक सम्पति अतिक्रमण रोकथाम र नियन्त्रणमा नगर प्रहरीले विवादरहित कार्यसम्पादनमा ध्यान पु¥याउनु पर्दछ ।

स्थानीय प्रशासनसँग समन्वयमा नगर क्षेत्रमा हुने अन्य अवाञ्छित गतिविधि रोक्ने जिम्मेवारी पनि नगर प्रहरीको हो । स्थानीय तहका जनप्रतिनिधिले भर्ना गरेका प्रहरीहरु निष्पक्ष रहेर जनताको सेवामा लाग्नु पर्दछ । वीरेन्द्रनगरलाई व्यवस्थित सहर बनाउन आमनागरिकसँगको सहकार्यमा नगर प्रहरीले उदाहरणीय काम गर्नतर्फ ध्यान दिन आवश्यक छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *