धमिराको ‘दरबार’ प्रकृतिको उपहार संस्कृतिको आस्था र संरक्षणको आवश्यकता

बाँके, ९ असोज ।

पश्चिम तराईका बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको जंगलमा नजर पुर्‍याउने हो भने प्रशस्तै देखिन्छन् धमिराले बनाएका अग्ला थुम्का, जसलाई स्थानीय भाषामा ‘धमिराको दरबार’ भनेर चिनिन्छ । बाहिरबाट हेर्दा सामान्य देखिने यी देवलहरू भित्र भने कोठा–कोठा विभाजन भएको जस्तै संरचना हुन्छ। यही कारणले मान्छेले बनाएको महलसँग तुलना गर्दै धमिराको दरबार भनिन्छ ।

धमिराको यस्तो देवल केवल एक प्राणीको बासस्थान मात्र नभई स्थानीय संस्कृतिको आस्था, जैविक विविधताको संरक्षण र प्राकृतिक स्रोतसँग जोडिएको सम्पदाको रूपमा समेत मूल्याङ्कन गर्न थालिएको छ ।

मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने आदिवासी थारु समुदाय धमिराको देवललाई निकै पवित्र मान्छन् । गाभरभ्यालीकी ६० वर्षीया फुलमाया थारु भन्छिन् । “धमिराको गोललाई हामी पवित्र माटो ठान्छौं । यसैबाट भगवानका मूर्ति बनाउन प्रयोग गर्ने चलन छ । पूजाआजामा प्रयोग गर्दा अझै बढी फलदायी हुन्छ भन्ने विश्वास हाम्रो पुराना पुस्ताबाट आएको हो ।”

यसरी धमिराको देवल केवल प्रकृतिको उपज मात्र नभई थारु समुदायको धार्मिक आस्था र संस्कृतिसँग गहिरो सम्बन्ध राख्छ । धमिराले बनाएको देवल वरिपरि धेरै प्राणीहरूको जीवन चक्र निर्भर हुन्छ । विशेषगरी लोपोन्मुख सालक  धमिरालाई आफ्नो मुख्य आहारा बनाउँछ । एउटा वयस्क सालकले एक वर्षमै करिब ७ करोडसम्म धमिरा र कमिला खान्छ। यसकारण सालक धमिरा पाइने यस्ता देवल वरिपरि प्रायः घुम्ने गर्छ ।

गाभरभ्यालीमा होमस्टे सञ्चालन गर्दै आएका कृष्ण चौधरी भन्छन् –“धमिराको दरबार भनेको केवल धमिराको बासस्थान होइन, सालक जस्ता लोपोन्मुख प्राणीलाई पनि बचाइराख्ने माध्यम हो । सालक संरक्षणका लागि धमिराको देवल जोगाउनु अनिवार्य छ ।” यसरी हेर्दा धमिराको देवल जैविक विविधताको महत्वपूर्ण कडी भएको देखिन्छ ।

कतिपय अनुसन्धानकर्ताले धमिराको देवलभित्र बहुमूल्य धातु, विशेषगरी सुनजस्ता अंशहरू समेत भेटिने सम्भावना देखाएका छन् । यद्यपि, यसबारे अझ गहिरो अनुसन्धान आवश्यक छ । तर यस्तो सम्भावनाले देवललाई प्राकृतिक स्रोतको दृष्टिले पनि मूल्यवान् बनाएको छ । डिभिजन बन कार्यालय बाँकेका प्रमुख शंकर प्रसाद गुप्ता भन्छन् –“धमिराको देवल बाहिरबाट जति आकर्षक देखिन्छ, भित्र पनि त्यत्तिकै अद्भुत हुन्छ । यसका खण्ड–खण्ड संरचना मान्छेले बनाएको कोठाजस्तै हुन्छन् । केही देवल १७–१८ फिटसम्म अग्ला भेटिएका छन् । त्यसैले यसलाई प्रकृतिको अद्भुत कलाकृति भन्न सकिन्छ ।”

सम्भावित धातुको लोभ, अज्ञानतापूर्वक गरिएको क्षति र जंगलमा भइरहेका अन्य गतिविधिले धमिराका देवलमा जोखिम बढाइरहेको छ । यही कारण अहिले संरक्षणकर्मी यसलाई जोगाउन सक्रिय भएका छन् । स्थानीय, अनुसन्धानकर्ता र निकुञ्ज प्रशासन सबैको साझा निष्कर्ष छ – धमिराको दरबार केवल धमिराको घर मात्र होइन, यसले सांस्कृतिक, धार्मिक र पारिस्थितिक महत्व बोकेको छ ।

धमिराको देवललाई ‘दरबार’ भन्ने चलन केवल भाषिक शैलिमात्र होइन, वास्तवमै यसको अद्भुत संरचना, धार्मिक आस्था र जैविक महत्वसँग मेल खान्छ । थारु समुदायको विश्वास, सालकजस्ता लोपोन्मुख जीवको आहार, सम्भावित प्राकृतिक स्रोत र संरक्षण प्रयासले यो प्राकृतिक सम्पदा अझै विशेष बनेको छ । साँचै भन्नुपर्दा, धमिराको दरबार प्रकृतिको अनमोल उपहार हो, जसलाई जोगाउनु हाम्रो साझा दायित्व हो ।

 

धमिराको ‘दरबार’ प्रकृतिको उपहार  संस्कृतिको आस्था र संरक्षणको आवश्यकता

फेरियो लोपोन्मुख राउटेको जीवनशैली

धमिराको ‘दरबार’ प्रकृतिको उपहार  संस्कृतिको आस्था र संरक्षणको आवश्यकता

नेपाल पत्रकार महासंघ बाँकेले बनायो आफ्नै वेबसाइट

Leave a comment

Your email address will not be published. Required fields are marked *