किन तोड्न खोजिँदैछ भेरी–बबईको ठेक्का ?

ओम शाही

सुर्खेत, ९ असोज ।

संघीय सरकारले राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन आयोजनाको मुख्य ठेक्का तोड्ने संकेत गरेको छ । निर्माण व्यवसायीले अपेक्षित गतिमा काम नगरेको भन्दै उर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोड्ने संकेत गरेका हुन् ।

मंगलबार मन्त्री घिसिङले मन्त्रालयका सचिव, सिँचाई विभागका महानिर्देशक, भेरी–बबई डाइभर्सन आयोजनाका प्रमुख, निर्माण व्यवसायी र परामर्शदातासँगको छलफलमा आयोजनाको ठेक्का तोड्नुको विकल्प नरहेको बताएका हुन् । आयोजना निर्माणले सन्तोषजनक गति धारण गर्न नसकेपछि यस विषयमा चासो लिएका मन्त्री घिसिङले कृषि र बिजुली उत्पादनबाट राष्ट्रिय अर्थतन्त्रलाई उकास्न सघाउ पुग्ने आयोजनामा भइरहेको अस्वभाविक ढिलाईप्रति असन्तुष्टि व्यक्त गरे ।

आयोजनालाई पूर्णता दिन निर्माण व्यवसायीले आनाकानी गरेको अवस्थामा ठेक्कालाई कायम राख्नुको कुनै औचित्य नरहेको मन्त्री घिसिङले बताए । ‘आयोजनाको सुरुङ निर्माण भइसकेको छ । तर, बाँध, विद्युतगृहलगायतका संरचना निर्माणमा विलम्ब भइरहेको छ । निर्माण व्यवसायीले सक्रियता देखाएको भए आयोजना बनिसक्थ्यो । उहाँहरुले काम गर्ने छाँट देखाउनु भएको छैन । यस कारण पनि आयोजनालाई थप अन्यौलतामा रहन दिइनु हुँदैन,’ मन्त्री घिसिङले भने ।

६ वर्षअघि २०७६ साउनमा ४८ महिनाभित्र सम्पन्न गर्ने गरी रमन कन्स्ट्रक्सनले बाँध र विद्युत गृह निर्माणको ठेक्का लिएको थियो । उक्त ठेक्का अन्तर्गत हेडवर्क्स, सर्ज शाफ्ट, पेनस्टक र पावरहाउसको सिभिल वर्क्स निर्माण कार्यको शिलान्यास तत्कालिन उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले १६ मंसिर २०७६ मा गरेका थिए ।

सम्झौता अनुसार चार वर्ष अर्थात २०८० मै आयोजना सम्पन्न भइसक्नु पर्ने थियो । तर, ठेक्का सम्झौता भए लगत्तै विश्वव्यापी फैलिएको कोराना महामारीका कारण आयोजनाको काम प्रभावित बन्यो । कोरोनाका कारण २०८० मंसिरमा आयोजनालाई एक वर्षको समय थप गरिएको थियो । यस अवधिमा पनि आयोजनाले पूर्णता नपाएपछि पटक–पटक समय थप भई आयोजना सम्पन्न हुने मिति आर्थिक वर्ष २०८४/०८५ सम्म धकेलिएको छ ।

सुरुवाती चरणमा खरिद प्रक्रियामा ढिलाई, कोरोना भाइरसका कारण निर्माण सामाग्रीको अभाव लगायतका प्राविधिक कठिनाईले सन्तोषजनक काम गर्न नसकिएको निर्माण व्यवसायी रमनले बताउँदै आएको थियो । उसले भने बमोजिम सरकारले अवसर पनि दिएको थियो । तर, अवस्था सामान्य भइसकेपछि पनि रमनले आयोजनालाई पूर्णता दिन खास मन लगाएर काम गरेको छैन । निर्माण व्यवसायीको काम गर्ने तौरतरिकाबाट आयोजना कार्यालय आजित बनेर बसेको छ ।

भेरी–बबई डाइभर्सन आयोजनाका प्रमुख रणबहादुर बम भन्छन्, ‘निर्माण व्यवसायीले ठेक्का सम्झौतामा गरेको प्रतिवद्धता अनुसारको काम गर्न चासो देखाएको छैन । सम्झौता बमोजिम काम गर्न बारम्बार ताकेता गर्दा पनि उसले टेरेको छैन ।’ आयोजना प्रमुख बमका अनुसार आयोजनाको कुल समर्ग प्रगति ६९ प्रतिशत पुगेको छ । यसमा निर्माण सम्पन्न भइसकेको सुरुङको प्रगतिसमेत जोडिएको छ ।

‘रमन जेभीसँग भएको ठेक्का सम्झौता अनुसार हेडवर्क्स, सर्ज शाफ्ट, पेनस्टक र पावरहाउस अन्तर्गतका सिभिल वर्क्स निर्माणको प्रगति ५७ प्रतिशत मात्रै छ,’ उनी भन्छन्, ‘उनीहरुले तोकिएको समयमा आयोजनालाई पूर्णता दिन्छौ भन्छन्, तर कामलाई गति दिने विषयमा जिम्मेवार भने देखिएका छैनन् ।’ मन्त्री स्तरिय छलफलबाट अब पनि आयोजनालाई गति दिने विषयमा अग्रसर नभए ठेक्का तोड्नेसम्मका विकल्प अघि सारिएको आयोजना प्रमुख बमले बताए ।

आयोजना निर्माणमा भइरहेको ढिलाइका विषयमा प्रतिक्रिया लिन खोज्दा निर्माण व्यवसायी रमन जेभीका प्रतिनिधि सम्पर्कमा आउन चाहेनन् । आयोजना वर्गीकरणको आधार तथा मापदण्ड, २०८० को दफा १३ बमोजिम राष्ट्रिय गौरवका आयोजनाहरूमा लागत अनुमान कम्तीमा ५० अर्ब हुनुपर्ने र दफा १६ मा राष्ट्रिय गौरवका आयोजनाहरू १० वर्षभित्र सम्पन्न गर्नुपर्ने उल्लेख छ । तर, झण्डै १३ वर्षअघिदेखि सुरु भएको यो परियोजनाको सुरुङको ब्रेक–थ्रु पछिका कामले तीव्रता पाउन सकेका छैनन् ।

नेपालमा पहिलोपटक टनेल बोरिङ मेसिन (टीबीएम) प्रविधिको प्रयोग गरी निर्धारित समयअघि नै सुरुङमार्गको ब्रेक–थ्रु भई चर्चा कमाएको आयोजना त्यसयता भने सुस्त गतिमा छ ।नेपालका हिमाली क्षेत्र स्रोत भएका नदीको पानीलाई मझौला नदीमा स्थानान्तरण गरी बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले भेरी–बबई आयोजना अघि बढाइएको हो ।

यो आयोजना नेपालका ठूला सिँचाइ परियोजनामध्ये एक हो, जसले भेरी नदीको पानीलाई १२ किलोमिटर लामो सुरुङमार्फत बबई नदीमा खसालेर बाँके र बर्दियाको झण्डै ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिंचाइसँगै ४६ मेगावाट बिजुली निकाल्ने लक्ष्य राखेको छ । भेरी नदीको पानीलाई बबई नदीमा मोडेर वर्षभरि ४० घनमिटरप्रति सेकेण्ड सिँचाइका लागि पानी उपलब्ध गराइने लक्ष्य छ ।

यसरी बबई नदीमा थपिएको पानीको प्रवाहले विद्युतगृहस्थलभन्दा करिब ४५ किलोमिटर दक्षिणमा अवस्थित बबई सिँचाइ आयोजनामा मिसाइने आयोजनाको डिजाइन छ । यसबाट बाँके र बर्दियामा सिँचाइ सुविधामार्फत कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाएर राष्ट्रिय ग्रीडमा थप जलविद्युत् थप्ने योजना छ ।

आर्थिक वर्ष २०६८/०६९ बाट सरकारले भेरी–बबईलाई राष्ट्रिय प्राथमिकतामा राखेर अघि बढाइरहेको छ । यद्यपि, फिल्डस्तरमा निर्माणको कार्य भने आर्थिक वर्ष २०७१/०७२ बाट सुरु भएको थियो । आयोजनाको कुल लागत ३३ अर्ब १९ करोड ६६ लाख छ, जसमा हालसम्म आयोजनाले १८ अर्ब १९ करोड ९७ लाख रुपैयाँ खर्च गरेको छ ।

गत आर्थिक वर्षमा आयोजनाका लागि एक अर्ब ८० करोड १९ लाख रुपैयाँ विनियोजन भएकोमा वार्षिक लक्ष्यको ९८ प्रतिशत भौतिक र ९५ दशमलव ४२ प्रतिशत वित्तीय प्रगति भएको आयोजनाका सूचना अधिकारी पवन अधिकारीले जानकारी दिए । गत आर्थिक वर्षमा कुल विनियोजित बजेटमध्ये एक अर्ब ७१ करोड रुपैयाँ खर्च भएको छ ।

किन तोड्न खोजिँदैछ भेरी–बबईको ठेक्का ?

सम्पादकीय : क्षतिग्रस्त संरचना तत्काल पुनर्निर्माण गर

किन तोड्न खोजिँदैछ भेरी–बबईको ठेक्का ?

१२– सुपर टाइफुन रागासाले ताइवानमा ताल फुट्दा

Leave a comment

Your email address will not be published. Required fields are marked *