सम्पादकीय : पश्चिमका नागरिकको सडक सपना !

कुनै समय सुर्खेतका पूर्व र पश्चिम भेगका बासिन्दाका लागि यात्रा आफैंमा संघर्ष थियो । कच्ची बाटो, वर्षायाममा हिलाम्मे सडक र घण्टौँको यात्राले दैनिकी कठिन बनाएको थियो । २०३२ सालमा धुलियाविट गुमी भेडावारी र २०५१ सालमा बड्डीचौर–बावियाचौर–विद्यापुर–गुटु–विजौरा–वेतान–लगाम सडक ट्रर्याक खोलिएको सडक हो । राष्ट्रिय प्राथमिकतामा नपर्दा यी क्षेत्रका नागरिकहरूले वर्षौदेखि कष्टकर यात्रा गर्न बाध्य थिए । जब सुर्खेत जिल्लालाई छोएर राष्ट्रिय प्राथमिकतामा राख्दै मदन भण्डारी राजमार्ग नामाकरण गरेर धमाधम सडक निर्माण हुँदा सुर्खेतबासीलाई आशा जगाएको हो ।  मदन भण्डारी राजमार्ग सुर्खेतका नागरिकका लागि केवल सडक मात्र होइन, विकास र सम्भावनाको नयाँ ढोका पनि हो ।

जिल्लाको पूर्वी भाग गुर्भाकोट नगरपालिकाको भेडावारीबाट सुरु हुने मदन भण्डारी राजमार्ग पश्चिम चौकुने गाउँपालिकाको पाल्पाघाट हुँदै सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला प्रवेश गर्छ । सुर्खेतका गुर्भाकोट, लेकवेशी, वीरेन्द्रनगर नगरपालिका, बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका प्रत्यक्ष लाभग्राही हुन् ।

सुर्खेतको मध्य भाग भएर पूर्व–पश्चिम जोड्ने सडकलाई जिल्लाकै ‘लाइफलाइन’ का रूपमा हेरिएको छ । जिल्लाभित्र मात्रै करिब एक सय ७७ किलोमिटर फैलिएको यस राजमार्गले भौगोलिक दूरी घटाउँदै नागरिकको जीवनशैलीमा प्रत्यक्ष प्रभाव पार्न थालिसकेको छ । राजमार्ग अन्तर्गत सल्यान सीमाको रैकरदेखि बड्डीचौरसम्म ८३ किलोमिटर तथा बड्डीचौर–लगाम–पाल्पाघाट खण्ड ९४ किलोमिटर सडक पर्छ । यसअघि सुर्खेत पूर्वमा पर्ने बोटेचौर–मालारानी–दाङ तुलसीपुर जोड्ने सडक अहिले घुमाएर सल्यानको बालुवासंग्रही–कुपिण्डे–श्रीनगर–बाघचौरबाट रोल्पा जोडिएको छ । रैकर–बोटेचौर–भेडावारी र धुलियाविट–बाँगेशीमल–बड्डीचौर सडक खण्ड यसअघि नै कालोपत्रे भइसकेका छन् । तर, बोटेचौर–मालारानी–दाङ–तुलसीपुर सडक पूर्ण रूपमा कालोपत्रे भएपछि मध्य नेपालका दाङ–बुटवल–काठमाडौं जाने सवारीहरू यहीँ सडक भएर गुड्ने गरेका छन् । अहिले वीरेन्द्रनगरको धुलियाविट खण्डमा काम जारी छ । समयमै विद्युत प्राधिकरण सुर्खेतले पोल नसारिदिँदा काममा ढिलाइ भइरहेको छ । पछिल्लो समय भेडावारी–गुमी–धुलियाविट सडक पनि कालोपत्रे भएपछि पूर्वी सुर्खेतका बासिन्दाले सहज यात्रा गर्न पाएका छन् ।

धुलियाविट–भेडावारी खण्डको ३५ किलोमिटर सडक २८ असार २०७८ बाट निर्माण थालिएको थियो । यति मात्रै होइन वीरेन्द्रनगर–छिन्चु भएर कर्णालीका उत्तर–पूर्वका जिल्लाहरूमा सल्यान, रूकुमपश्चिम, जाजरकोट, डोल्पा, सुर्खेत पूर्वी भेग तथा दाङ–बुटवल र काठमाडौं जाने सवारीहरू धुलियाविटबाट मेहलकुना र बोटेचौर भएर ओहोरदोहोर गरिरहेका छन् । मदन भण्डारी राजमार्गको स्तरोन्तीको काम जारी रहदा स्थानीय कृषकले उत्पादन गरेको तरकारी, फलफूल र अन्न बजार पाउन थालिसकेका छन् ।

समय र खर्च दुवै घट्दा स्थानीय आर्थिक गतिविधिमा उत्साह थपिएको छ । सडक निर्माणसँगै शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरसम्म पहुँच विस्तारमा टेवा पुग्ने अपेक्षा पश्चिम सुर्खेतका नागरिकको छ । ५० को दशकमा सुरु भई ८० को दशकमा पुरा हुन लागेको पश्चिम सुर्खेतका नागरिकको सडक सपनालाई पुरा गर्न अब भने बिलम्ब गरिनु हुँदैन । एकाध बाहेक अधिकांश खण्डमा कानुनी विवाद समाधान भइसकेको अवस्थामा अब सरकारले आवश्यक बजेटसहित प्राथमिकतामा राखेर मदन भण्डारी राजमार्गलाई पूर्णता दिन युद्धस्तरमा काम अघि बढाउन आवश्यक छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds