कर्णालीमा एमाले–कांग्रेसबिच नमिलेको सत्ता साझेदारीको ‘ट्युनिङ’

ओम शाही
सुर्खेत ,६ भदौ।
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई काठमाडौं बूढानीलकण्ठस्थित घरमै पुगेर भेटे । भेटमा उनले कर्णाली सरकार र गठबन्धनको पछिल्लो अवस्थाबारे बिफ्रिङ गरेको बताएका छन् । कँडेल आफैँले सामाजिक सञ्जालमार्फत भेटघाटको विषय र तस्वीर सार्वजनिक गरेका हुन् । ‘नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री श्रद्धेय शेरबहादुर देउवासँग आज उहाँकै निवास बूढानीलकण्ठमा भेटघाट भयो । भेटमा समसामयिक राजनीतिसँगै, कर्णाली प्रदेश सरकारको काम कारबाही, विकास, समृद्धि र सुशासनका सम्बन्धमा छलफल भयो,’ उनले फेसबुकमा लेखेका छन्, ‘महत्त्वपूर्ण सुझाव र मार्गदर्शनका लागि पार्टी सभापति एवं पूर्वप्रधानमन्त्रीज्यूप्रति हार्दिक आभार प्रकट गर्दछु ।
’ कर्णाली प्रदेशमा संसदीय दलका नेता जीवनबहादुर शाहीसँग मुख्यमन्त्री कँडेलको सुरुदेखि नै ‘ट्युनिङ’ मिलेको छैन । केही साताअघि शाहीले सरकारलाई दिएको समर्थन फिर्ता गर्नेसम्मको चेतावनी दिएका थिए । शाहीले एमालेका मन्त्रिलाई बरखास्त गर्नेसम्मको विषय सदनमा उठाएका थिए । उनले तीन पटक सरकार छोड्ने चेतावनीसमेत दिइसकेका छन् । यता एमाले संसदीय दलको बैठकले पनि कांग्रेससँग सहकार्य विश्वासिलो नभएको निर्णय गरेको थियो । अर्थात्, सुरुदेखि नै एमाले र कांग्रेसको गठबन्धन अविश्वास मात्र होइन, आरोप–प्रत्यारोपका बीच चलिरहेको छ । यस्तोमा कँडेलले कांग्रेस सभापति देउवासँग भेटेको तस्वीर सार्वजनिक भएपछि कर्णालीको राजनीति तरंगित भएको छ । प्रदेशका कांग्रेसजन कँडेलले सभापति देउवालाई भेटेर शाहीविरुद्ध कुरा लगाएको आशंका गरेका छन् । शाहीले त सार्वजनिक रूपमै, देउवासँग भेटेर कँडेलले ‘मलाई शाहीले मुख्यमन्त्रीबाट हट्न बारम्बार दबाब दियो’ भनी रिपोर्टिङ गरेको आरोप लगाएका छन् ।
कर्णालीमा सत्ता साझेदार दल कांग्रेस र एमालेबीच सरकार सञ्चालनका विषयमा मतभेदको चर्चामाझ देउवालाई भेट्न मुख्यमन्त्री कँडेल निवासमै पुगेका थिए । केही दिनअघि बसेको कर्णाली प्रदेश विकास समस्या समाधान समितिको बैठकले गरेका विभिन्न निर्णयमाथि संघीय सरकारसँग छलफल गर्न काठमाडौं पुगेका मुख्यमन्त्री कँडेलले सोही अवसरमा देउवालाई पनि भेटेका हुन् । कँडेलले सामाजिक सञ्जालमा देउवासँगको फोटो सार्वजनिक गरेको केही समयपछि एक एमाले नेताले शेयर गरेको सामग्रीमा नेता शाहीले कमेन्ट गरेका छन्, ‘मलाई जीवन शाहीले आजै हट् भोलि नै हट् भनेर रिपोर्टिङ गर्नुभएछ त ? मेरो ११ बजेको भेटमा सभापतिज्यू भन्दै हुनुहुन्थ्यो ।’ शाहीको यो कमेन्टले पुनः कर्णालीको सत्ता साझेदारीमा किचलो सुरु भएको चर्चा छ । देउवालाई भेटेर फर्किएका कँडेलले आफूले सामाजिक सञ्जालमा उल्लेख गरेको विषयबाहिर गएर कुनै छलफल नभएको प्रतिक्रिया दिए । ‘कांग्रेस सभापतिज्यूसँग समसामयिक राजनीतिक परिघटना र कर्णाली सरकारका कामकारबाहीका बारेमा जानकारी गराइएको अवस्था हो,’ कँडेलले युगआह्वान दैनिकसँग भने, ‘छलफलमै नआएको विषयमा उहाँले किन टिप्पणी गर्नुभयो, त्यो उहाँको व्यक्तिगत विषय रह्यो, त्यसतर्फ म जान चाहन्नँ ।’ सत्ता साझेदारीमा दुई दलबीच केही मतभेद भए पनि शाहीले गरेको टिप्पणीसँग सम्बन्धित कुनै पनि विषय देउवासितको भेटमा नभएको कँडेलले बताए । ‘सत्तासाझेदार दलका शीर्ष नेतासँग भेटघाट गर्दैमा कुरा लगाएको अर्थमा बुझ्नु राम्रो होइन,’ कँडेलले भने, ‘आवश्यकताअनुसार भेटघाट, छलफल, परामर्श, मार्गदर्शन लिनु एउटा असल राजनीतिक संस्कार हो । यो निरन्तर हुन जरुरी पनि छ ।’
देउवा–कँडेल भेटमा नउठेको विषयमा किन टिप्पणी गरे भनेर सोध्न खोज्दा शाही सम्पर्कमा आउन चाहेनन् । कांग्रेस–एमाले मिलेर बनेको कर्णाली सरकारले एक वर्ष पूरा गरे पनि यी दुई दलबीचको सम्बन्ध अझै सुध्रन सकेको छैन । केही समयअघि एमाले संसदीय दलको बैठकले कांग्रेसलाई गठबन्धनको मर्मअनुरुप नचलेको आरोप लगाएको थियो । एमालेको आरोपपछि दुई दलबीचको प्रदेशस्तरीय संयन्त्रको बैठकबाट सरकारका कामकारबाहीलाई थप व्यवस्थित गर्दै लैजाने सहमति भएपछि तत्काललाई सत्ता संकट टरेको थियो । विशेष गरी कर्णालीका महत्त्वपूर्ण राजनीतिक नियुक्तिमा शाही मुख्यमन्त्री कँडेलसँग रुष्ट रहेको बताइन्छ । शाहीले खेलकुद परिषद् र लोकसेवा आयोगमा कांग्रेस निकटका व्यक्तिलाई नियूक्त गर्नुपर्ने दवाव मुख्यमन्त्री कँडेलसमक्ष बारम्बार दिइरहेका छन् । तर, एमाले यसो गर्न तयार छैन । एमाले–कांग्रेस बिच भागवण्डाको लडाईँले सात महिना यता यी दुई महत्वपूर्ण निकाय नेतृत्वविहिन अवस्थामा छन् ।
कर्णालीको सत्ता साझेदारीमा कँडेलपछि उनै शाही वेटिङ मुख्यमन्त्री हुन् । अहिले शाहीले कँडेललाई सघाई रहेका छन्, भने अबको केही समयमा कँडेलले मुख्यमन्त्री पद शाहीलाई हस्तान्तरण गर्दैछन् । गठवन्धन बनेयता शाहीले कँडेललाई बिच्काइरहदा उनको कार्यकाल कसरी चल्छ भन्ने विषयमा अहिले नै चर्चा चल्न थालिसकेको छ । विशेषगरी मुख्यमन्त्री बनेपछि कँडेलले आर्थिक सुशासनको जगत बसाल्न खोजेको दावि गरिरहेका छन् । नेतृत्वमा आएसँगै बजेट निर्माणदेखि कार्यान्वयनमा थिति बसाउन विभिन्न नीतिगत व्यवस्थामा व्यापक सुधार ल्याएको उनी स्वयम दावी गर्छन । पछिल्लो समय कर्णालीको वास्तविक अवस्था अनुसार प्रदेशका संरचनाहरु भारी भएको भन्दै पुनर्संचनाको मुद्दा अघि बढाएपछि उनका सारथी शाहीले खुलेर विरोध गरिहेका छन् ।
कतिपय विषयमा मुख्यमन्त्री कँडेलले पनि कांग्रेस नेता शाहीलाई चिढ्याउने काम गरिरहेका छन् । सत्ता सञ्चालनका क्रममा आउने झिनामसिना विषयमा अल्झेर कांग्रेस–एमालेका नेताहरुले फगत समय खेर फालिरहेको बताउँछन् नागरिक समाजका अगुवा एवम् मध्यपश्चिम विश्वविद्यालयका पूर्वडीन पीताम्बर ढकाल । दुई ठुला दल सम्मिलित सरकारले समृद्ध कर्णालीको खाका कोर्नुको साटो एक अर्काको उछितो काट्नमै रमाउनुले आमनागरिकमा वितृष्णा पैदा भइरहेको उनले तर्क गरे । एकअर्काका काममा अवरोध पुर्याउनुभन्दा पनि यी दुई नेताहरुले मिलेर काम गर्नुपर्ने उनले बताए ।
‘राष्ट्रिय राजनीतिमा समेत राम्रै प्रभाव भएका यी दुई अनुभवी नेताबिचको बारम्बारको जुहारीले समृद्ध कर्णालीको नारा नै किनारा लागेको अवस्था म देख्छु,’ उनले भने, ‘वास्तवमै यी नेताहरुमा समृद्ध कर्णाली बनाउने भन्दा पनि तेरो र मेरो भन्ने मै समय गइरहेको छ । कर्णाली बन्ने त मिलेर साझा भिजन प्रस्तुत गरेर पो हुने होला त ?’ । फरक विचारधारा राख्ने पार्टीहरु बिच मतभेद हुनु स्वाभाविक रहेको उल्लेख गर्दै ढकालले कर्णालीका लागि मिलेर जानुको विकल्प नरहेको बताए ।






