बेमौसमी वर्षा र असिनाको चपेटामा स्याउ किसान स्याउ खेतीको क्षेत्रफल बढ्दा उत्पादनमा ह्रास

ओम शाही
सुर्खेत, ७ पुस ।
जुम्लामा चालु आर्थिक वर्ष २०८२/०८३ मा १७ हजार पाँच सय ५८ मेट्रिक टन स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालय जुम्लाले उपलब्ध गराएको तथ्यांक अनुसार कुल उत्पादित स्याउ मध्ये पाँच हजार पाँच सय ९१ मेट्रिक टन स्याउ जिल्ला बाहिर निर्यात भएको छ । यस वर्ष स्याउ उत्पादनबाट जुम्लाले ४१ करोड २९ लाख ८९ हजार दुई सय ७० रुपैयाँ बराबरको आम्दानी गरेको छ ।
कृषि विकास कार्यालय जुम्लाले उपलब्ध गराएको तथ्यांकलाई केलाउने हो भने स्याउ खेतीको क्षेत्रफल बढेपनि वर्षेनी उत्पादनमा भने गिरावट भएको देखिन्छ । गत वर्ष २०८१/०८२ मा १९ हजार आठ सय ४० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । जसबाट ६१ करोड २४ लाख ७४ हजार रुपैयाँ जुम्लाले आम्दानी गरेको थियो ।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले गत वर्षको तुलनामा यस वर्ष कुल स्याउ लगाएको क्षेत्रफल एक सय २० र स्याउ फलेको क्षेत्रफल एक सय २५ रोपनी थप भएको बताए । उनका अनुसार गत वर्ष चार हजार तीन सय २५ हेक्टरमा फैलिएको स्याउ खेती यस वर्ष बढेर चार हजार चार सय ४५ हेक्टर पुगेको छ ।
स्याउ खेती गरिने क्षेत्रफलमा बृद्धि भएपनि असिना र बेमौसमी वर्षका कारण वर्षेनी उत्पादन भने घट्दोक्रममा छ । यो वर्ष कुल उत्पादनको ३० प्रतिशत मात्रै स्याउ निर्यात भएको कार्यालयले जनाएको छ । तथ्यांक अनुसार यस वर्ष चार हजार चार सय १४ मेट्रिक टन स्याउ जिल्लाभित्र खपत भएको छ ।
त्यस्तै, नासो र कोशेलीमार्फत दुई हजार ६ सय ४८ मेट्रिक टन स्याउ खपत भएको तथ्यांक छ । तथ्यांक अनुसार प्रशोधन (चाना, जुस, जाम, साइडर माड र ब्रान्डी) मा १५ प्रतिशत अर्थात दुई हजार ६ सय ४८ मेट्रिक टन स्याउ खपत हुँदा १० प्रतिशत अर्थात एक हजार सात सय ६५ मेट्रिक टन स्याउ भण्डारण गृहमा राखिएको छ ।
पछिल्लो समय जुम्लामा स्याउ खेतीमा स्थानीयको आकर्षण बढ्दै गएको छ । उत्पादित स्याउले बजार पाउन थालेपछि जुम्लाका किसान स्याउ खेतीतर्फ आकर्षित बन्दै गएका हुन् । तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा १९ हजार एक सय २५ घरधुरी स्याउ खेतीमा संलग्न भएका थिए । यो वर्ष यो संख्या बढेर १९ हजार एक सय ५० पुगेको तथ्यांकले देखाउँछ ।
गत वर्ष सात हजार तीन सय २५ कृषक स्याउ खेतीमा लाग्दा यस वर्ष बढेर सात हजार तीन सय ५० पुगेको छ । जुम्लाको शतप्रतिशत जमिन स्याउ खेतीका लागि उपयुक्त भए पनि हालसम्म १० प्रतिशत जमिनमा मात्रै स्याउ खेती गरिँदै आएको छ । जुम्लामा स्याउ खेतीको इतिहास धेरै पुरानो भने छैन । २०२३ सालमा तत्कालीन अञ्चलाधीश निराराज विष्टले भारतको काश्मिरबाट स्याउका बोट ल्याएर स्थानीयलाई परीक्षणको रूपमा लगाउन दिएका थिए ।
यसरी रोपिएका स्याउले राम्रो उत्पादन दिएपछि जुम्लामा स्याउ खेतीको इतिहास सुरु भएको जुम्लाका प्रदेशसभा सांसद देवेन्द्रबहादुर शाही बताउँछन् । जुम्लामा सडक सञ्जाल नपुगेको अवस्थामा हवाईजहाजबाट स्याउ ढुवानी गर्नुपर्ने बाध्यता थियो ।
कर्णाली राजमार्ग निर्माण भएपछि जुम्लाको स्याउले बजार पाउन थालेपछि किसानहरु यसतर्फ आकर्षित भएको थिए । ३१ चैत २०६३ मा जब कर्णाली राजमार्गले पहिलोपटक जुम्लालाई औपचारिक रूपमा छिचोलेपछि जुम्लाको परिचय स्याउको राजधानीमा परिणत भएको थियो ।
स्याउले जुम्लाको पहिचान नेपालमा मात्र होइन, विश्व बजारसम्म कर्णाली राजमार्ग भएर पुर्याएको छ । अहिले सिङ्गो कर्णाली प्रदेशको अर्थतन्त्र चलायमान बनाउने आधार पनि जुम्लाको स्याउ बनेको छ । स्थानीयस्तरमा स्याउको उत्पादन र उत्पादकत्व राम्रो भए पनि जुम्ली किसानले अझै पनि उचित मूल्यसहितको स्याउ निर्वाध बजार पठाउन भने पाएका छैनन् ।
परम्परागत खेती प्रणालीसँगै ढुवानीको समस्या यस क्षेत्रका किसानलाई छ । जुम्लामा मात्रै होइन कालीकोट, मुगु, हुम्ला, डोल्पालगायत जिल्लाका केही भागमा उत्पादन हुने स्याउको बजारीकरणमा मात्रै सरकारले ध्यान पुर्याउने हो भने यसले समग्र कर्णालीलाई आत्मनिर्भताको बाटोमा लैजाने सांसद शाही बताउँछन् ।
परम्परागत प्याकेजिङ र ह्यान्डलिङ अभ्यास मात्र होइन, सुधारिएको कृषि अभ्यास, स्याउ टिपिसकेपछि शीतभण्डारको अभाव जुम्ली किसानसँग बाध्यता भएर बसेका छन्, जसले गर्दा स्याउको उपभोग अवधि बढ्न सकेको छैन । स्याउको ग्रेडिङ छनोट गर्न ज्ञान, सीप तथा प्रविधिको अभाव भइरहेको गुनासको कृषकहरुको छ ।






