सम्पादकीय : कांग्रेसमा उम्मेदवार छनौटको झमेला

नेपाली कांग्रेसले कर्णाली प्रदेशबाट आगामी ११ माघ र २१ फागुनमा हुने राष्ट्रियसभा र प्रनितिनिधिसभा निर्वाचनमा सहभागि हुने उम्मेदवारका आकांक्षी छनौट भएका छन् । १५ मंसिरमा सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले प्रतिनिधिसभा (प्रत्यक्ष र समानुपातिक) र राष्ट्रियसभा सदस्य उम्मेदारका आकांक्षीहरूको नाम केन्द्रमा पठाउन मातहतका संरचनालाई परिपत्र गरेको थियो । कांग्रेसको विधान अनुसार केन्द्रलाई बढीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । एक सिटका लागि तीन जनाको नाम सहमति वा सहमति हुन नसके बहुमतबाट निर्णय गरी केन्द्रमा पठाउन सकिने कांग्रेसको विधानमा व्यवस्था छ ।
यसरी तल्लो तहबाट प्राप्त नामहरूका आधारमा कांग्रेस संसदीय समितिले उम्मेदवार चयन गर्ने गर्दछ । कर्णालीका १० जिल्लाबाट प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारका आकांक्षीको नामावाली पार्टी केन्द्रमा पठाएको छ । यस पटक कांग्रेसमा उम्मेदवार आकांक्षीको जम्बो लिष्ट तयार भएको छ । केन्द्रले तीन जनासम्मको नाम पठाउनु भनेकोमा केही जिल्लामा सहमति जुट्न नसकेपछि दर्जन बढी नेताहरुको नाम सिफारिस भएरका छन् ।
कांग्रेस प्रदेश समितिले जिल्लाबाट आएको सिफारिसलाई जस्ताको त्यस्तै केन्द्रमा पठाएको छ । कर्णालीका १२ निर्वाचन क्षेत्रबाट ५६ जनाको नाम सिफारिस भएको छ । जिल्लाबाट उम्मेदवार सिफारिस भएकाहरुमा पार्टी उपसभापति पूर्णबहादुर खड्कादेखि बहालवाला प्रदेश सांसद, निवर्तमान प्रतिनिधिसभा सदस्यसम्मको नाम सिफारिस भएको छ । कर्णालीबाट कांग्रेसको संसदीय राजनीतिमा २०४८ यता सदाबहार उम्मेदवार बनेकाहरु पहिलो प्राथमिकतामा परेका छन् । कांग्रेसले यस पटक पनि महिलालाई प्रत्यक्षतर्फ अतिकम अवसर दिएको छ । आकांक्षी देखिएकाहरु एकाध बाहेक अधिकांश पुरुष छन् ।  जेन–जी आन्दोलनपछि हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको विषय व्यापक उठिरहेका बेला कर्णालीबाट बहुदलपछि संसदीय राजनीतिमा एकछत्र राज गरेका उम्मेदवाहरु नै पहिलो प्राथमिकतामा परेका छन् । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, हृदयराम थानी, जीवनबहादुर शाही यसका उदाहरण हुन् । उनीहरु २०४८ यता एकाध बाहेक अधिकांश निर्वाचनका एकल उम्मेदवार हुन् । खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट निर्विकल्प उम्मेदवार बन्दै आएका छन् । जसका कारण यस क्षेत्रमा नयाँ नेताहरुले अवसर पाउन सकेका छैनन् । एकै व्यक्ति सदाबहार राजनीतिमा छाइरहदा पछिल्ला पुस्ताका नेता तथा कार्यकर्तामा उत्साह घट्दो छ ।
थानी र शाही पनि पूर्णबहादुर खड्काकै लाइनका नेताहरु हुन् । उनीहरुकै कारण दोस्रो पुस्ताका नेताहरुले संसदीय राजनीतिमा अवसर पाउन सकेका छैनन् । राजनीति एक सेवामुलक पेशा हो । यसलाई नेताहरुले निस्वार्थ सेवाका रुपमा लिनुपर्ने हो । तर, जीवनभर लिसो टासिएझै पदमा रहिरहने नेताहरुकै कारण नयाँ पुस्ताले अवसर गुमाइरहेका छन् । पुराना नेताहरुले आफ्‌नो योगदान र अनुभवका आधारमा नयाँ पुस्तालाई अवसर दिएर आफु राजनीतिबाट बिदा लिनुपर्नेमा आफु बाहेक अरुलाई योग्य नदेख्ने परिपाटी नेपाली कांग्रेसमा मात्र होइन नेपालका सबै राजनीतिक दलमा हावी छ । सदाबहार एउटै व्यक्ति एउटै पदमा रहिरहदा नयाँ आउने युवापुस्तामा निरासा बढ्छ । यसको उदाहरण २३–२४ भदौको जेन–जी आन्दोलनलाई लिन सकिन्छ । यसर्थ, पनि आफुले गरेका कामहरुलाई संस्थागत गर्दै पाका नेताहरुले राजनीतिमा आएका नयाँ पुस्तालाई अवसर दिन आनाकानी गर्न हुँदैन ।
अर्को महत्वपूर्ण विषय दलहरु राजनीतिक नेतृत्वमा महिलाहरुलाई अवसर दिनबाट हच्किदै आएका छन् । अवसर नदिई क्षमता मापन गर्ने पुरुषवादी सोचका कारण महिलाहरु सधैं अवसरबाट बञ्चित हुँदै आएका छन् । यो बिडम्बनाको विषय हो । कांग्रेसमा मात्र होइन सबै राजनीतिक दलहरुले महिलालाई अवसर दिएर राज्यका सबै निकायमा प्रतिनिधित्व गराउन जिम्मेवार बन्नु पर्दछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds