बाँकेमा ट्राफिक नियम उल्लङ्घनविरुद्ध कडाई चार महिनामै ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

बाँके, २ पुस । 
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चालू आर्थिक वर्षको कार्तिक १ गतेदेखि हालसम्म सवारी नियम उल्लङ्घनविरुद्ध कडाइ गर्दै कारबाहीलाई तीव्र बनाएको छ । सडक दुर्घटना न्यूनीकरण, सुरक्षित सवारी सञ्चालन र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित गरिएको यस अभियानअन्तर्गत हजारौँ सवारी साधन कारबाहीमा परेका छन् भने उल्लेख्य मात्रामा राजस्व पनि सङ्कलन भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार उक्त अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ९ सय ६६ वटा सवारी साधनमाथि कारबाही गरिएको छ ।
ती कारबाहीबाट ३३ लाख ५६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । तीव्र गतिमा सवारी चलाउने, हेलमेट नलगाउने, सिट बेल्ट प्रयोग नगर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, अस्पष्ट नम्बर प्लेट प्रयोग गर्ने तथा अवैध रूपमा सवारी सञ्चालन गर्नेहरू कारबाहीको दायरामा परेका छन् ।
कारबाहीसँगै बाँके जिल्लामा सवारी दुर्घटनाको अवस्था पनि सार्वजनिक गरिएको छ । सोही अवधिमा जिल्लाभर २२० वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ११ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा ८ जना पुरुष, २ जना महिला र १ जना बालक रहेका छन् । दुर्घटनामा १९ जना गम्भीर घाइते भएका छन् भने ३३९ जना सामान्य घाइते भएका छन् ।
ट्राफिक प्रहरीका अनुसार अधिकांश दुर्घटना तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी चलाउने, ट्राफिक नियमको बेवास्ता तथा सडक प्रयोगकर्ताको लापरवाहीका कारण भएको पाइएको छ । दुर्घटना न्यूनीकरण र सुरक्षित सडक प्रयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यले ट्राफिक प्रहरीले कारबाहीसँगै सचेतनामूलक कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार विभिन्न स्थानमा ३४५ पटक ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । ती कार्यक्रमबाट ३६ हजार ४५५ जना नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । विद्यालय, कलेज, सार्वजनिक स्थान, चोक तथा यात्रु प्रतीक्षालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी सवारी चालक, विद्यार्थी र सर्वसाधारणलाई ट्राफिक नियमबारे जानकारी दिइएको हो ।
यस अवधिमा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन विभिन्न सुधारात्मक तथा नयाँ कामहरू समेत गरिएको ट्राफिक प्रहरीले जनाएको छ । आफैँले नम्बर प्लेट परिवर्तन गरी सञ्चालन गरेका ५८ वटा विद्युतीय सवारी (ईभी) कारबाहीमा परेका छन् । त्यस्तै नम्बर प्लेट परिवर्तन गरी सञ्चालनमा रहेका १७ वटा ईभी गाडीलाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय नेपालगन्ज पठाइएको छ ।
ध्वनि प्रदूषण नियन्त्रणका लागि चर्को आवाज निकाल्ने ४६ वटा मोटरसाइकललाई कारबाही गरिएको छ । सार्वजनिक यातायातमा पारदर्शिता कायम गर्न ६४ वटा यात्रुबहाक सवारी साधनमा भाडादर टाँस्न लगाइएको छ । त्यस्तै अस्पष्ट नम्बर प्लेट भएका १२६ वटा सवारी साधनमा पुनः स्पष्ट नम्बर लेख्न लगाइएको छ ।
सार्वजनिक सवारी साधनमा यात्रुको सुरक्षालाई ध्यानमा राख्दै आफैँले सिट थप गरी सञ्चालन गरिएका ३०० वटा सवारी साधनका ४६७ वटा सिट तथा मुडा हटाइएको छ । मानिस झुन्ड्याएर यात्रा गराउने जोखिमपूर्ण अभ्यास अन्त्य गर्न ६४ वटा म्याजिक भ्यानमा जडान गरिएका फलामका डण्डी काटिएको ट्राफिक प्रहरीले जनाएको छ । यसका साथै क्षमताभन्दा बढी मालसामान बोकेका १३ वटा सवारी साधन नियन्त्रणमा लिएर पल्टी गराइएको छ ।
जेन्जी आन्दोलनका क्रममा क्षति पुगेका विभिन्न स्थानका ट्राफिक लाइट मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ । सडक प्रयोगकर्तालाई सचेत गराउन विभिन्न स्थानमा १४ वटा ट्राफिक सचेतनामूलक बोर्ड राखिएको छ। रातिको समयमा सवारी साधन तथा साइकल चालकलाई देख्न सजिलो होस् भन्ने उद्देश्यले १ हजार १ सय ३२ वटा साइकल तथा अन्य सवारी साधनमा रिफ्लेक्टिभ स्टिकर टाँसिएको छ ।
सार्वजनिक गुनासो र सुझाव संकलन गर्ने उद्देश्यले मङ्सिर २६ गते कोहलपुर नगरपालिकाको सभाहलमा नागरिक सुनुवाइ कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । कार्यक्रममा नागरिक, सवारी चालक तथा सरोकारवालाले ट्राफिक व्यवस्थापनसम्बन्धी आफ्ना समस्या र सुझाव राखेका थिए ।  यस अवधिमा चोरी भएको लु.प्र.०३–००१ प ३४१५ नम्बरको मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको पनि ट्राफिक प्रहरीले जनाएको छ ।
त्यसैगरी अवैध रूपमा सञ्चालनमा रहेका १८० वटा ई–रिक्सा नियन्त्रणमा लिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले आगामी दिनमा पनि सवारी नियमको कडाइका साथ कार्यान्वयन गर्दै सडक सुरक्षा, दुर्घटना न्यूनीकरण र व्यवस्थित ट्राफिक व्यवस्थापनका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ ।
बाँकेमा ट्राफिक नियम उल्लङ्घनविरुद्ध कडाई चार महिनामै ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सम्पादकीय : कांग्रेसमा उम्मेदवार छनौटको झमेला

Leave a comment

Your email address will not be published. Required fields are marked *