समन्वय बिनै बजेट विनियोजन खानेपानीको हाहाकार मच्चिदा  अलपत्र छन् करोडौ लगानीका आयोजना

राजु लामिछाने
रुकुमपश्चिम, २ पुष ।
आठ वर्षअघि रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१० मा किचकिचे चिन्तु खानेपानी लिफ्‌ट सिंचाई खानेपानी सुरु गर्दा यहाँका एक सय १० घरधुरीलाई अब खानेपानीको सुविधा घरमै उपलब्ध हुने आशा पलाएको थियो ।
स्थानीय गोपाल खड्काले अब खानेपानीको चिन्ता लिनुपर्दै भन्ने सोचेका थिए । ‘अब चिन्तु, डाँगीचौर, जुम्लेपोखरी, हल्टाकुरी र बुगेरी टोलमा एक घर एक धारा हुन्छ भन्ने लागेको थियो, तर अहिलेसम्म योजना अधुरै छ’, उनले भने । अहिले अन्य स्थानमा खानेपानीको सुविधा पुग्दा आफ्‌नो गाउँमा कहिले त्यो सुविधा होला भन्ने विषय उनको मनमा खेलिरहन्छ ।
उपभोक्ता समितिका अध्यक्ष धनवीर ओलीका अनुसार आयोजनाको ८० प्रतिशत काम सकिएको छ, तर करिब ३० लाख रुपैयाँको थप बजेट व्यवस्थापन नहँुदा घरघरमा खानेपानी पुग्ने सपना पुरा हुन सकेको छैन । सानीभेरीकै वडा नम्वर ३ मा आठ वर्ष पहिला नै निर्माण सुरु भएको तुसारे अध्याचौर लिफ्‌ट खानेपानी आयोजना अझै पनि पूरा भएको छैन ।
यही योजनामा संघीय, प्रदेश र स्थानीय सरकाले ३ करोड लगानी गरिसकेका छन्, तर उपलब्धि भएको छैन । वडाध्यक्ष जगदीश नकालले करिब चार सय घरधुरी लाभान्वित हुने अपेक्षा गरिएको यो योजना बजेट अभावकै कारण पूरा हुन नसकेको बताए । ‘पछिल्लो समय तीनै तहको सरकारको प्राथमिकतामा यो योजना छैन, बजेट आउन छोडेको छ । यो योजनामा सानीभेरी गाउँपालिकाले २० लाख रकम खर्च गरेको छ भने प्रदेश र संघको क्रमागतबाट बाँकि रकम खर्च भएको हो’, उनले भने ।
वडा नम्वर ४ मा तीन वर्ष अघि सुरु भएको पधेरीखोला गाँउबारी लिफ्‌ट खानेपानी आयोजना पनि अधुरै छ । वडा अध्यक्ष मनोज बुढाथोकीका अनुसार कर्णाली प्रदेश सरकारबाट तीन पटक गरेर यस योजनामा ३८ लाख रुपैयाँ खर्च भइसकेको छ ।
योजना छनौट तथा बजेट विनियोजन गर्दा वडा कार्यालयलाई जानकारी नै नभएको, हचुवाका भरमा बजेट योजना र बजेट हालेर निर्माण पूरा हुन नसकेको उहाँको भनाइ छ । अन्तिम समयमा मोटर र धारा जडानको काममा बजेट अपुग भएपछि यो योजना रोकिएको छ ।
बजेट अभावमा योजना अधुरै
किचकिचे, तुसारे र पधेरीखोला जस्तै यस गाउँपालिकाको वडा नम्वर ४ मा रहेको गोल्चौर लिफ्‌ट सिँचाइ आयोजना र वडा नम्वर ५ मा रहेको मेलचौर लिफ्‌ट खानेपानी आयोजना पनि अधुरै छन् । गोल्चौरमा प्रदेश सरकारको ८० लाख रुपैयाँ र मेचचौरमा ४० लाख रुपैयाँ रकम लगानी भइसकेको छ । तर बजेट अपूरा भएको भन्दै योजना अधुरै छोडिएका छन् ।
एकातिर करोडौ रकम लगानी भएका योजनाहरुले परिणाम दिन सकेका छैनन् भने अर्कोतर्फ सर्वसाधारणहरु खानेपानी जस्तो आधारभूत आवश्यकता सहजै उपभोग गर्नबाट बञ्चित हुनु परेको छ ।
सानीभेरी गाउँपालिकाका खानेपानी तथा सरसफाई टेक्निसियन पवनकुमार केसीका अनुसार सानीभेरी गाउँपालिकाका विभिन्न वडाका रहेका यी पाँच वटा सबैभन्दा पुराना तर अपुरा अयोजनामा पाँच करोड रकम खर्च भइसकेको छ । तीन तहका सरकारको करोडौ रकम खर्च हुँदा पनि सर्वसाधारणले सहज खानेपानी सुविधा पाएका छैनन् । तीनै तहका सरकार बिचमा योजना र बजेट विनियोजनमा तालमेल नहुँदा यो समस्या देखिएको छ ।
सरकारका बीच समन्वयको अभाव
सानीभेरी गाउँपालिकाका उपाध्यक्ष कमला रोका पुनले योजनाहरु प्राथमिकिकरण नगरिकन हचुवाको भरमा बजेट विनियोजना गर्दा यस्तो समस्या आएको बताए । उनका अनुसार यस्ता योजनाहरु लथालिङ्ग अवस्थामा पुग्दा भएको खर्चको प्रभावकारीता कमजोर देखिएको छ ।
तीनै तहका सरकार बीच समन्वय नहुँदा योजनाहरु अलपत्र रहेको, गाउँमा विवाद बढेको र लगानी खेर जाने अवस्थामा रहेको उपाध्यक्ष पुनले उल्लेख गरे । कुनै वर्ष संघले, कुनै वर्ष प्रदेशले र कुनै वर्ष स्थानीय सरकारले यी योजनाहरुमा बजेट थप गर्ने गरेतापनि अपुरै हुने गरेको छ ।
पर्याप्त बजेट नहुँदा हरेक वर्ष थोरै मात्र कामको प्रगति हुने गरेको छ । तीनै तहका सरकारले एकीकृत योजना बनाएर योजनाको लागि पुर्ण बजेट व्यवस्थापन गर्न आवश्यक रहेको उपाध्यक्ष पुनले उल्लेख गरे । उनले भने, ‘करोडौँ खर्च लाग्ने योजनामा १५ लाख, २० लाख मात्र हरेक वर्ष वर्षमा छुट्याउने गर्दा एक दशक नै लाग्ने भयो । यो भन्दा योजनाको प्राथमिकिकरण गरेर लगानी पुरा गर्नपर्छ ।’
गाउँमा भने खानेपानीको पीरलो 
कूल ११ वटा वडा रहेको सानीभेरी गाउँपालिकाका अधिकांश बस्तीहरु अग्लो लेक तथा टाकुरामा रहेका छन् । ती बस्तीहरुमा खानेपानीको सुविधा पुर्याउन लिफ्‌ट योजना निर्माण सुरु गरिएतापनि बर्षौसम्म सम्पन्न भएका छैनन् । सानीभेरी गाउँपालिका १० का नरबहादुर खड्काले दुई घण्टा टाढाबाट बोकेर खानेपानीको जोहो गर्न बाध्य भएको बताए ।
मानिस तथा गाईबस्तुले उपयोग गर्ने पानी बोक्दा समयको खर्च हुनका साथै श्रमको समेत बढी प्रयोग हुने गरेको छ । बिहानै गाग्री बोकेर पानी ल्याउन खोला झर्नुपर्ने बाध्यताले यहाँका सर्वसाधारणहरुलाई दुःख दिईरहेको छ । खानेपानी जस्तो अत्यावश्यक आधारभूत आवश्यकता पुरा गर्न यहाँका सर्वसाधारणहरुलाई पीरलो हुने गरेको छ ।
समन्वय बिनै बजेट विनियोजन खानेपानीको हाहाकार मच्चिदा  अलपत्र छन् करोडौ लगानीका आयोजना

घुयँत्राे:“ओलि : विज्ञान, राजनीति र भोट लाइन

Leave a comment

Your email address will not be published. Required fields are marked *