राप्ती सोनारीमा महिलाको पाठेघर समस्या


सरला सुवेदी ।
बाँकेको राप्ती सोनारी गाउँपालिकाको वडा नं. ६ मा आयोजित स्वास्थ्य शिविरले महिलाहरूको स्वास्थ्य स्थितिमा गम्भीर समस्या उजागर गरेको छ । कमैयाडाँडास्थित आधारभूत स्वास्थ्य केन्द्रमा भएको शिविरमा ५ महिलामा पाठेघरको मुखको क्यान्सर पोजेटिभ देखिएको छ भने ४ महिलामा पाठेघर खस्ने समस्या भेटिएको छ ।
शिविरका क्रममा १२३ महिलाले सेवा लिएका थिए । नेपालगन्जको भेरी अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. नवीन बुढाथोकी र नेपाल परिवार नियोजन संघ बाँकेका स्टाफ नर्स कुसुम श्रेष्ठको नेतृत्वमा भिआइए (भिजुअल इन्स्पेक्सन अफ एसिटिक एसिड) विधिबाट परीक्षण गरिएको थियो ।
राप्ती सोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले एउटै वडामा क्यान्सर र पाठेघर खस्ने समस्याको उच्च दर देखिनु गम्भीर चिन्ताको विषय भएको बताए । “सेवा सुविधा नजिकै उपलब्ध भए पनि महिलाहरूमा यस्ता समस्याहरू देखिनु दुर्भाग्य हो,” उनले भने । प्रमुख केसीले समस्या देखिएका महिलाहरूलाई थप परीक्षणका लागि नेपालगन्जस्थित भेरी अस्पताल पठाइने जानकारी दिए ।
वडा नं. ६ का अध्यक्ष लवराज खरेलले महिलाहरूको यस्तो समस्या चिन्ताजनक रहेको भन्दै यसअघि शिविर सञ्चालन गर्न बजेट छुट्याइए पनि पालिकाबाट सहकार्य नभएको गुनासो गरे । उनले आगामी दिनमा विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।
राप्ती सोनारी गाउँपालिकाले आर्थिक वर्षको निशर्त बजेटबाट स्वास्थ्य शिविरको आयोजना गरेको हो । शिविर माघ ७ गते वडा नं. ९ स्थित महादेवपुरी स्वास्थ्य चौकीमा समापन हुने छ । यस्तै माघ २६ गतेः वडा नं. ३, भवानियापुर स्वास्थ्य केन्द्र, माघ २८ गतेः वडा नं. ७, फत्तेपुर स्वास्थ्य चौकी, माघ २९ गतेः वडा नं. १, खासकुश्मा स्वास्थ्य चौकी, माघ ३ गतेः वडा नं. ५, विनौना स्वास्थ्य चौकी, माघ ४ गतेः वडा नं. ४, राप्ती सोनारी अस्पताल बैजापुर, माघ ६ गतेः वडा नं. २, कचनापुर स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन हुने छ ।
शिविरमा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको टोली परिचालन हुने जानकारी स्वास्थ्य शाखा प्रमुख केसीले दिए ।
पाठेघरको समस्याः चेतना र पहुँचको आवश्यकता
स्वास्थ्यकर्मीका अनुसार महिलाहरूमा पाठेघरसम्बन्धी समस्या बढ्दै जानु चेतनाको अभाव र स्वास्थ्य सेवामा पहुँचको कमीको परिणाम हो । महिलाहरूले समयमा नै स्वास्थ्य परीक्षण गराउनुपर्नेमा विशेषज्ञहरूले जोड दिएका छन् ।
यो शिविरले महिलाको स्वास्थ्य स्थितिमा सुधार ल्याउने आशा गरिएको छ । स्वास्थ्य शाखाले आगामी दिनमा यस्ता शिविरलाई अझ प्रभावकारी बनाउन थप स्रोत साधन परिचालन गर्ने बताएको छ ।






