सम्पादकीय : गुणस्तरीय सेवामा जोड देऊ !
सुर्खेत आँखा अस्पतालले आँखा उपचार सेवाअन्तर्गत उपविशिष्टिकृत सेवा सञ्चालनको तयारी गरेको छ । बाल आँखा उपचार सेवा (नवजात शिशु), ‘रेटिना’ र जलविन्दु उपचार सेवा थालनी गर्न अस्पतालले आन्तरिक तयारीलाई तीव्र बनाएकोे जनाइएको छ । यसका लागि अस्पतालले नेत्र विशेषज्ञ चिकित्सक, दक्ष स्वास्थ्यकर्मी र उपकरणको व्यवस्थापन गरिरहेको छ । अस्पतालमा आँखा उपचारका ती उपविशिष्टिकृत सेवा थालनी भएमा आँखा उपचारका लागि सङ्घीय राजधानी काठमाडौँ जानुपर्ने अवस्थाको अन्त्य हुने दावी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अन्धोपनको दर कर्णाली प्रदेशमा उच्च अर्थात् कूल जनसङ्ख्याको एक प्रतिशत छ । पछिल्लो जनगणनाअनुसार यहाँका ७९ पालिकाका सात सय १८ वडामा १६ लाख ८८ हजार चार सय १२ जनसङ्ख्या छ ।
अस्पतालले बाल आँखा उपचार सेवा र रेटिना उपचार सेवा थालनीका लागि चिकित्सक र स्वास्थ्यकर्मीको प्रबन्ध गरेर काठमाडाँैस्थित तिलगङ्गा आँखा प्रतिष्ठानमा तालिमका लागि पठाएकोे छ भने ती सेवा सञ्चालनका लागि आवश्यक उपकरणको व्यवस्थापन गरिसकेको छ । स्वीस रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाटीद्वारा सञ्चालित सो अस्पतालमा हाल कर्णाली प्रदेशका १० जिल्लासहित पछिल्ला समयमा अछाम, बाजुरा र बझाङका आँखाका बिरामी सेवा लिन आउने गर्दछन् । नेपाल रेडक्रसले सुर्खेत आँखा अस्पतालसहित जनकपुरमा पनि आँखा अस्पताल सञ्चालन गरिराखेको छ । अस्पतालले बहिरङ्ग सेवाअन्तर्गत आँखा जाँच, कम्प्यूटरद्वारा चश्मा जाँच, मधुमेह र उच्च रक्तचापका कारण हुनसक्ने दृष्टिविहीनको परीक्षण, परामर्श तथा प्रेषण सेवा, प्रयोगशाला, आँखाको अल्ट्रासाउण्ड, याग लेजर सेवा, आँखाको पर्दाको फोटो, औषधी पसललगायत सञ्चालन गरिरहेको छ ।
शल्यक्रिया सेवाअन्तर्गत मेसिनद्वारा सानो घाउ बनाएर मोतिविन्दुको शल्यक्रिया गरिने आधुनिक पद्धति (पाको), आँशुनली, मासु पलाएको शल्यक्रियासहित अन्य आँखा उपचारसम्बन्धी सामान्य शल्यक्रिया सेवा उपलब्ध छन् । अस्पताल बीमा कार्यक्रममा आबद्ध भएकाले विपन्न नागरिकलाई आँखा उपचार सेवामा सहज पहुँच विस्तार भएको अस्पतालको दावी छ । कर्णालीमै संवेदनशिल अंगको उपचार सेवा प्रवाह हुने भएपछि यहाँका नागरिकलाई अन्यत्र जाने बाध्यता हट्ने विश्वास गर्न सकिन्छ । तर, गुणस्तरीय सेवामा भने ध्यान दिन आवश्यक छ । सेवा सुचारु गर्ने तर गुणस्तरीयतामा ध्यान नदिने कर्णालीको पुरानै रोग हो ।
कर्णालीमा अझै पनि गुणस्तरीय स्वास्थ्य सेवा सबै जिल्लामा पुग्न सकेको छैन । पूर्वाधार अभाव त्यसैमा दक्ष जनशक्तिको व्यवस्थापन कर्णालीका मुख्य चुनौती हुन् । जसका कारण संविधान प्रदत्त स्वास्थ्य सम्बन्धि नागरिकका अधिकार प्रत्याभुत हुन सकेका छैनन् । यसर्थ अत्यावश्यक स्वास्थ्य सेवा विस्तारसँगै त्यसलाई विशिष्टिकृत गरेर लैजान कन्जुस्याई गरिनु हँदैन । अर्को महत्वपूर्ण विषय नागरिकले बिना झन्झट सेवा प्राप्त गर्ने संयत्रको विकास हुनुपर्दछ । तब मात्र अस्पतालप्रति नागरिकको भरोसा बढ्छ ।




