मन्त्री खरेलद्वारा एनसेलको डाटा सेन्टर अवलोकन : ‘लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध’
काठमाडौं ,२२ मंसिर ।
सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले सोमबार ललितपुरको नख्खुस्थित एनसेलको इन्टिग्रेटेड डाटा सेन्टरको अवलोकन गरेका छन्। एनसेलका अध्यक्ष सतीश लाल आचार्य, प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोले तथा कम्पनी व्यवस्थापनका अन्य सदस्यहरूले मन्त्री खरेललाई स्वागत गरेका थिए।
अवलोकनपछि आयोजित छलफलमा एनसेलका अध्यक्ष र सीईओले कम्पनीको हालको अवस्था, सेवा विस्तार, राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको योगदान तथा पछिल्लो ‘जेन जी आन्दोलन’का कारण कम्पनीले व्यहोर्नुपरेको क्षतिबारे जानकारी गराए। आन्दोलनका कारण एनसेलले करिब ६५ करोड रुपैयाँ बराबरको क्षति व्यहोरेको र काठमाडौंस्थित मुख्य कार्यालय एनसेल आइकनसहितका संरचनामा ठूलो नोक्सानी पुगेको कम्पनीले जानकारी गरायो।

मन्त्री खरेलले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासमा एनसेलको योगदानको प्रशंसा गर्दै दूरसञ्चार सेवाको पहुँच विस्तार तथा गुणस्तर सुधारमा सरकार सहकार्य गर्न तयार रहेको बताए। उनले ग्रामीण भेगमा किफायती दरमा आधुनिक सेवा पुर्याउन, साथै सगरमाथा क्षेत्रमा सेवा विस्तार गर्न एनसेललाई सुझाव दिए।
उनले भने, “जेन जी आन्दोलनका क्रममा एनसेललाई ६५ करोड बराबरको क्षति हुँदा सरकारलाई दुःख लागेको छ। नेपालमा लगानी, विशेषगरी प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध छ। सरकार एनसेलसँग छ।”
त्यससँगै विद्यार्थीका लागि एनसेलले ल्याउन लागेको ‘जेन जी प्याक’ तथा हरेक वर्ष १०० विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्तिको पहलको पनि उनले प्रशंसा गरे।
छात्रवृत्ति कार्यक्रमबारे जानकारी दिँदै एनसेलका सीईओ फोलेले प्रत्येक वर्ष देशभरका एसईई विद्यार्थीसहित १०० जनालाई छात्रवृत्ति प्रदान गरिने घोषणा गरे। उक्त कार्यक्रमका लागि प्रारम्भिक चरणमा १ करोड रुपैयाँको कोष छुट्याइएको उनले बताए।
“विद्यार्थीहरूको डिजिटल आवश्यकतालाई पूरा गर्ने उद्देश्यसहित हामी छिट्टै ‘जेन जी प्याक’ सार्वजनिक गर्दैछौं,” सीईओ फोलेले भने।
उनले एनसेलले सेवा प्रवाहमा निरन्तरता, सहनशीलता र नयाँ संकल्पसहित अघि बढ्ने उल्लेख गर्दै, सरकारको ‘डिजिटल नेपाल’ निर्माण प्रयासमा कम्पनीले लामो समयदेखि सहयोग गर्दै आएको बताए। डिजिटल रूपान्तरणका आधारभूत पूर्वाधारमध्ये एनसेलको डाटा सेन्टर महत्वपूर्ण अवयव रहेको उनले जोड दिए।
झण्डै दुई दशकदेखि सञ्चार क्षेत्रमा रूपान्तरणको यात्रा तय गर्दै आएको एनसेलले राष्ट्रिय अर्थतन्त्र, रोजगारी, राजस्व र डिजिटल सेवा विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। गत आर्थिक वर्षसम्म एनसेलले कर तथा शुल्कमार्फत ३६० अर्ब रुपैयाँभन्दा बढी रकम राज्यको कोषमा बुझाएको छ। कम्पनीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब १ लाख रोजगारी सिर्जनामा सहयोग पुर्याएको तथ्यांक छ।
व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत एनसेल फाउन्डेसनमार्फत शिक्षा, स्वास्थ्य, वातावरणलगायतका क्षेत्रका सामाजिक परियोजनामा कम्पनीले अहिलेसम्म २ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको छ। संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य (SDGs) प्राप्तिमा सरकारलाई साथ दिँदै आएको कम्पनीले समाजिक दायित्वका कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ।




