योजना अनुगमनमा पश्चिम सुर्खेत पुगे मुख्यमन्त्री कँडेल

सुर्खेत,२२ मंसिर ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पश्चिम सुर्खेतमा कार्यान्वयन भइरहेका विकास योजनाहरुको अनुगमनमा निस्किएका छन् । सोमबार प्रदेश सरकारले कार्यान्वयन गरिरहेका सडक तथा अन्य पूर्वाधारको पछिल्लो प्रगतिको अवलोकन गर्न मुख्यमन्त्री कँडेल पश्चिम सुर्खेत पुगेका हुन् । सो क्षेत्रमा प्रदेश सरकारले अघि बढाएका तर निर्माणमा विलम्ब भइरहेका सडकलाई गती दिन मुख्यमन्त्री कँडेल आयोजनास्थलमै पुगेका हुन् । उनले मदन भण्डारी राजमार्गको क्षेत्राधिकारभित्र प्रदेश घुसेपछिको अलपत्र बड्डिचौर–खम्बागाडे सडक, बाबियाचौर–जामु, कुइने सडक, खम्बागाडेदेखि बराहताल गाउँपालिका–७,मा पर्ने सूर्यतारा सिमेन्ट उद्योगको खानी क्षेत्र जोड्ने सडक, हुर्के–तरंगा सडक र तिखाकुना पुलको पछिल्लो अवस्थाका बारे जानकारी लिएका छन् । यी सबै प्रदेश सरकारले अघि बढाएका आयोजना हुन् ।
अवलोकनका क्रममा मुख्यमन्त्री कँडेलले निर्माण व्यवसायीलाई पछिल्लो पटक थपिएको समय अगावै बिना सर्त सडक तयार गर्न निर्देशन दिए । बड्डिचौर–खम्बागाडे सडकमा रुख कटान र जग्गाभोगाधिकारलाई लिएर विलम्ब भइरहेको स्तरोन्तीको काम थप गतीका साथ अघि बढाउन पूर्वाधार निर्देशनालय र निर्माण व्यवसायीलाई उनले निर्देशन दिए । सडक निर्माणको क्रममा बजेटको कुनै अभाव नहुने उल्लेख गर्दै उनले निर्माण व्यवसायीलाई भुक्तानीमा समेत समस्या आउन नदिने प्रतिवद्धता जनाए ।
कँडेलले विशेष गरी पश्चिम सुर्खेतको प्रवेशद्वारा बड्डिचौर–खम्बागाडे सडकका विषयमा विशेष चासो राख्दै आएका छन् । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने यो खण्ड स्तरोन्नतिका लागि कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष २०७८÷०७९ मा बजेट विनियोजन गरेको थियो । सोही आर्थिक बर्षको अन्तिमतिर निर्माण कम्पनी र निर्देशनालयबीच ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँ लागतमा यो १३ दशमलव दुई किलोमिटर सडक खण्ड कालोपत्रसहित स्तरोन्नति गर्ने सम्झौता भएको थियो । दुई बर्ष भित्रमा सम्पन्न गर्नेगरी सम्झौता भएपनि साढे तीन बर्षसम्म आधा पनि काम भएको छैन । पछिल्लो समय संघीय सरकारले रुख कटान र जग्गाभोगाधिकारको अनुमति दिएसँगै बड्डिचौर–खम्बागाडे सडकले गती लिएको मुख्यमन्त्री कँडेलले बताए ।
१३ किलोमिटर मध्ये असारसम्म आठ किलोमिटर सडक कालोपत्रे सक्ने गरी काम अघि बढेको निर्माण व्यवसायीको दावी छ । योजना अवलोकनका क्रममा उनले स्थानीयस्तरमा देखिएका समस्या समाधानमा चासो देखाएका छन् ।






