भेरीगंगा रामघाट विमानस्थल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारीका लागि सार्वजनिक सूचना

सुर्खेत ,१९ असोज ।
सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिकास्थित रामघाट विमानस्थल निर्माण तयारीसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले वातावरणीय प्रभाव मूल्याङ्कन (ई.आई.ए) प्रतिवेदन तयारीका लागि सार्वजनिक सूचना जारी गरेको छ।
प्राधिकरणले २०८२ साल असोज १९ गते प्रकाशित सूचनामार्फत भेरीगंगा नगरपालिकाका वडा नं. ९, १० र ११ मा प्रस्तावित विमानस्थल निर्माणका सन्दर्भमा सो क्षेत्रका सरोकारवालाबाट राय–सुझाव माग गरेको हो।
सुर्खेतको रामघाटमा निर्माण गरिन लागिएको विमानस्थलमा ATR–72, CRJ–700, Dash Q–400, A–320, र B–737 जस्ता १५० सिट क्षमताका विमानहरू अवतरण र उडान गर्न मिल्ने व्यवस्था हुनेछ। विमानस्थलको कुल क्षेत्रफल करिब २१८.२६ हेक्टर रहनेछ।
प्रस्तावित विमानस्थलमा २७९० मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग (Runway), १२९६ मिटर लम्बाइ र ३० मिटर चौडाइको ट्याक्सीमार्ग, साथै ७०० मिटर लम्बाइ र १३० मिटर चौडाइको एप्रोन निर्माण गरिने योजना छ। साथै १२,००० वर्गमिटर क्षेत्रफलमा ह्याङ्गर, आधुनिक टर्मिनल भवन, पार्किङ, स्टाफ क्वाटर र अन्य आवश्यक पूर्वाधार निर्माण गरिनेछ।
पर्यावरणीय प्रभाव मूल्याङ्कनको क्रममा सो परियोजनाबाट स्थानीय प्राकृतिक, भौतिक, जैविक, सामाजिक, सांस्कृतिक र आर्थिक प्रणालीमा पर्ने प्रभावहरू अध्ययन गरिने बताइएको छ। यस अध्ययनका लागि नगरपालिका, वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था र स्थानीय बासिन्दाहरूको राय–सुझाव सात दिनभित्र लिखित रूपमा पेस गर्न सकिनेछ।
राय–सुझाव पठाउने ठेगाना नेपाल नागरिक उड्डयन प्राधिकरण, सिनामंगल काठमाडौँ (फोन: ०१–५७१८०१२, ०१–५७१८०१६; इमेल: aerodromedept@caanepal.org.np) वा परामर्शदाता कम्पनी प्याक्ट कन्सल्ट्यान्ट प्रा.लि., त्रिपुरेश्वर काठमाडौँ (फोन: ९८५१०७७४४६; इमेल: pactconsultantpvtltd@gmail.com) मा पठाउन सकिने जनाइएको छ।
प्राधिकरणले जनताका राय–सुझावले परियोजनाको वातावरणमैत्री तथा दिगो निर्माणमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरेको छ।



