महिला स्वास्थ्य स्वयंसेविकामार्फत पोषण सुधारमा जोड: लुम्बिनी प्रदेशको नयाँ रणनीति तयारीमा

दाङ ,२२ बैशाख
लुम्बिनी प्रदेश सरकारले मातृ र बाल मृत्युदर घटाउने तथा पोषण सुधार गर्न महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई अझ प्रभावकारी रूपमा परिचालन गर्ने रणनीति तयार गर्ने भएको छ।
मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा) लुम्बिनी प्रदेशका प्रतिनिधिसँगको भेटमा सो जानकारी दिनुभयो। उहाँले महिला स्वास्थ्य स्वयंसेविकाहरू सामुदायिक स्वास्थ्य प्रवर्द्धनको मेरुदण्ड भएको उल्लेख गर्दै आगामी दिनमा पोषण सुधारसँग सम्बन्धित कार्यक्रमहरूमा उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न रणनीति बनाउने बताए।
मुख्यमन्त्री आचार्यले भने, “प्रदेश सरकारले स्वयंसेविकाहरूको योगदानलाई उच्च मूल्याङ्कन गर्दै सेवा निवृत्त हुँदा सम्मान कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ। स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षामा उनीहरूलाई समावेश गर्न पनि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको छ।”
नेभा लुम्बिनी प्रदेशले मुख्यमन्त्रीलाई ७ बुँदे ज्ञापनपत्र बुझाउँदै महिला स्वास्थ्य स्वयंसेविकाहरूको प्रोत्साहन र सामाजिक सुरक्षाका लागि विशेष नीति निर्माणको माग गरेको छ। संघकी अध्यक्ष सुनिता शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले २०४६ सालदेखि सेवा दिँदै आएका स्वयंसेविकाहरूको तर्फबाट भत्ता वृद्धि, तालिम, सामाजिक सुरक्षाको पहुँच र सेवा निवृत्तपछि अवकाशको सुनिश्चिततासहितको माग राखेको हो।
प्रदेशमा हाल ८ हजार ९ सय ७ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन्। बढ्दो मातृ मृत्यु, बाल मृत्यु र कुपोषणको समस्या समाधानमा उनीहरूको भूमिकालाई अझ प्रभावकारी बनाउन सरकार गम्भीर भएको देखिन्छ।






