दुखाईको उपचार प्रभाव बारे अनुसन्धान गर्दै प्रदेश आयुर्वेद

सुर्खेत ,१८ भदौ।
कर्णाली प्रदेशमा पहिलो पटक आयुर्वेद पद्धतीबाट गरिने दुखाई सम्बन्धि उपारको प्रभावका बारेमा अनुसन्धान गरिने भएको छ । कर्णाली प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेतले अग्निकर्म विधिबाट गरिने उपचारको प्रभावसम्बन्धी अनुसन्धान गर्ने भएको हो । चालू आर्थिक २०८२/०८३ को पहिलो चौमासिक अवधिभित्र यससम्बन्धी काम अघि बढ्ने केन्द्रले जनाएको छ ।
केन्द्रका निमित्त निर्देशक डा. लक्ष्मीनारायण तिवारीले आयुर्वेद अस्पतालले मासु तथा हाडजोर्नीको दुखाई कम गर्न अग्निकर्म विधिबाट उपचार गरिरहेको जानकारी दिए । ‘यो विशेषगरी मासु र हाडजोर्नीको दुखाइको उपचार गर्ने पद्धति हो, अग्निकर्म विधिबाट गरिरहेको उपचारको इफेक्ट (प्रभाव) कस्तो छ ? दुखाईको मात्रा कति घट्दो रहेछ ? भनेर अध्ययन, अनुसन्धान गर्न थालेका हौं ।’ उनले भने, ‘यो अनुसन्धानले अग्निकर्म विधिबाट हुने उपचारलाई थप प्रभावकारी बनाउन मद्दत पुग्दछ ।’ उनका अनुसार अध्ययन पूर्वका आवश्यक तयारी पुरा गरी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा स्वीकृतिका लागि पठाइ सकिएको छ ।

यस कार्यमा प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रले १० लाख रुपैयाँ खर्च गर्दैछ । केन्द्रले कर्णाली खर्च मापदण्डबमोजिम प्रस्तावना तयार गरिसकेको छ । ‘आयुर्वेद विभागले तयार गरेको अनुसन्धान नीतिलाई पालना गर्नुपर्छ, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट अनुमति लिनुपर्छ, अनुमति लिन आवश्यक प्रक्रिया अघि बढि सकेको छ,’ डा तिवारीले भने । परिषद्बाट अनुमति पाएपछि वैधानिक रुपले अनुसन्धानको प्रक्रिया सुरु हुने उनले बताए । अनुसन्धान कार्यमा अस्पतालकै जनशक्ति प्रयोग हुने उनको भनाई छ । ‘अन्य म्यानपावर हामीसँगै छ, एक जना पब्लिक हेल्थको म्यानपावर हायर गर्नुपर्नेछ,’ उनले भने ।
अग्निकर्म आगोको माध्यमबाट उपचार गर्ने विधि हो । यो उपचारमा धातु तताएर शरीरको प्रभावित अंगमा स्पर्श गरिन्छ । यसले दूषित तन्तुहरू नष्ट गर्छ र शरीरको प्राकृतिक उपचार प्रक्रिया सुरू गर्छ । यो सन्धिवात, जोर्नी दुखाइ, घुँडाको दुखाइ शिरोवेदन विशेष गरी लामो समयदेखि भइरहने टाउको दुखाइ), कम्मरदेखि खुट्टासम्म हुने नसासम्बन्धी दुखाइ, कुहिनो वा अन्य जोर्नी वरिपरिको दुखाइ, त्वचामा भएको कडा गाठो जस्ता समस्याको उपचारमा प्रभावकारी मानिन्छ । निर्देशक डा तिवारीका अनुसार छिटो प्रभाव देखिने, शल्यक्रियाबिना लाभदायक, साइड इफेक्ट कम हुने र शारीरिक सन्तुलन कायम गर्न सहयोगी हुने हुँदा अग्निकर्मलाई आयुर्वेद उपचारमा प्रभावकारी मानिन्छ । यस वर्ष दुखाइको मात्रा कति घट्छ भनेर अनुसन्धान गरिनेछ ।
यस अघि प्रदेश आयुर्वेद औषधालयका रुपमा सञ्चालित यसलाई २०७९ सालमा अनुसन्धान केन्द्रमा परिणत भएको थियो । केन्द्रले ओपिडी, आइपिडी, निःशुल्क औषधि वितरण, गुणस्तरीय प्रयोगशाला सञ्चालन, शल्य चिकित्सा, अग्निकर्म, पञ्चकर्म सेवा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सेवा, सशुल्क फार्मेसी सेवा सञ्चालन गरिरहेको छ । यसका अलावा उपचारात्मक योग, आरोग्यका कार्यक्रमहरु, गाउँघर क्लिनिक, आयुर्वेद शिविर लगायतका विभिन्न प्रवर्दनात्मक सेवाहरु पनि सञ्चालन गर्दै आएको छ ।
त्यस्तै केन्द्रले नौ प्रकारका औषधी उत्पादन गर्दै आएको छ । निर्देशक डा तिवारीले अकुपञ्चर सेवा सञ्चालन र पञ्चकर्म युनिट स्थापना गर्ने तयारी गरेको छ । गएको ५ भदौबाट स्वर्णबिन्दु प्राशन अभियान सञ्चालन भइरहेको छ । जुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय कार्यक्रम हो । ६ महिनादेखि पाँच वर्ष मूनीका बालबालिकालाई यो थोपा खुवाइन्छ ।
आयुर्वेद उपचारमा बढ्दो आकर्षण
पछिल्लो सयम कर्णालीमा आयुर्वेद उपचार पद्धतीमा नागरिकको आकर्षण बढ्दै गएको छ । प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रका अनुसार दैनिक औषतमा ८० देखि ९० जना आयुर्वेद पद्धतीबाट उपचार गर्न आउने गरेका छन् । ‘हामी कहाँ बिरामी पर्याप्त छन् । बिमा लागू नहुँदा प्रदेश अस्पतालको जस्तो भीड त यहाँ हुँदैन । ठूलो भीड नदेखिएपनि हाम्रो जनशक्ति र पूर्वाधार व्यवस्थापनले धान्न सक्ने बिरामीको संख्या छ ।
अहिले औषतमा दैनिक ८० देखि ९० जना आउँछन्,’ अनुसन्धान केन्द्रका निमित्त निर्देशक तिवारीले भने । पहिला ओपिडीको समय ३ बजेसम्म भएकोमा तिवारीले जिम्मेवारी सम्हालेसँगै चार बजेसम्म ओपडी सञ्चालन हुँदै आएको छ । अस्पतालले सेवा भने साँझ ५ बजेसम्म सञ्चालन हुने गरेको उनले बताए । ‘चैत १ देखि अन्तरंग वार्ड सुरु गरिएको छ । हालसम्म ९० जनाको अपरेसनपछि डिस्चार्ज गरिएको छ । बिरामीसंग गर्ने व्यवहार, गुणस्तरीय उपकरणप्रतिको मानिसको हामीसँग भरोसा छ,’ उनले भने, ‘हामी आफै गाउँघर क्लिनिक सञ्चालन गरेर आयुर्वेदलाई जनतासंग लैजाने कार्यक्रम पनि सञ्चालन गर्दै आएका छौं । अस्पताल भवन पनि निर्माणाधिन रहेकाले अहिले बिरामीका लागि बेड व्यवस्थापन गर्न समस्या छ । उक्त भवन बनेपछि थप सहज हुनेछ ।’
निर्देशक तिवारीका अनुसार अस्पतालले वार्षिक ६० लाख बढी आम्दानी गर्ने गरेको छ । ‘आम्दानीको पैसा हाम्रै खाता जम्मा हुन्छ । त्यो पैसा हामीले चलाएका छैनौं । यसलाई अझ व्यवस्थापन गर्न सके प्रदेशको राम्रो आम्दानीको स्रोत आयुर्वेद बन्नसक्छ । यसमा जनशक्ति र बजेट थप गर्न सके यहाँबाटै उल्लेख्य राजस्व संकलन हुन सक्छ,’ उनले भने ।
यस्तो छ आयुर्वेद औषधालयको इतिहाँस
सुर्खेतको पुरानो सदरमुकाम गोठिकाँडामा स्थापना भएको आयुर्वेद कार्यालय वि.सं. २०२३ मा सबै कार्यालयहरू वीरेन्द्रनगर सारिएपनि अञ्चल आयुर्वेद औषधालय तत्कालिन राकम (हाल सिम्ता गाउँपालिका) मा अञ्चल आयुर्वेद औषधालयको रूपमा स्थापना भएको थियो ।
राजा वीरेन्द्रको सुर्खेत भ्रमणको बेला स्थानीयहरूले आयुर्वेद कार्यालय स्थापना गर्न माग गरेपछि १५ साउन २०४१ मा वीरेन्द्रनगरस्थित गणेशचोकमा कार्यालय स्थापना भएको थियो । त्यसपछि राकम र वीरेन्द्रनगरमा आयुर्वेद कार्यालय सञ्चालमा आएका थिए । हाल यो अस्पताल वीरेन्द्रनगर–४, कालागाउँस्थित आफ्नै भवनमा अवस्थित छ । प्रदेश मन्त्रिपरिषद्को २८ भदौ २०७९ मा बसेको बैठकबाट ‘प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र’ नामकरण गरिएको हो । कर्णाली प्रदेशमा आयुर्वेद तथा वैकल्पिक चिकित्साको गुणस्तरीय सेवा र रोग उपचारमा सहयोग पुर्याउने उद्देश्यमा केन्द्रित छ ।






